कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवलपुरबाट मल लिन पोखरा

दीपक परियार

पोखरा — पसाउनै लागेको धानमा रासायनिक मल हाल्नुपर्ने बेला पूर्वी नवलपुरमा अभाव भयो । मध्यविन्दु नगरपालिका–१५ का लोकबहादुर थापा युरिया मल खोज्दै पोखरा आइपुगे । बुधबार कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा भेटिएका उनी मल पाउने भएपछि खुसी देखिए ।

नवलपुरबाट मल लिन पोखरा

उनी सचिव रहेको नव सूर्यकिरण कृषि सहकारीले मध्यविन्दुको ११ र १५ नम्बर वडाका किसानलाई मल बिक्री गर्छ । लिमिटेडको कावासोती शाखा कार्यालयबाट मल पूर्ति हुँदै आएकोमा पोहोरजस्तै यो वर्ष पनि अभाव देखियो । किसानले मल उपलब्ध गराउन ताकेता गरिरहे । सहकारीले लिमिटेडको प्रदेश कार्यालयमा मल मौज्दात रहेको थाहा पाएर सम्पर्क गर्‍यो । प्रदेश कार्यालयबाट कास्कीमा वितरण गरेर मल बाँकी रहेकोले सहकारीलाई दिन सकिने खबर पठायो । लोकबहादुर बुधबार हान्निएर पोखरा आए ।

उनले युरिया १०.५ र डीएपी १०.५ गरी २१ मेट्रिक टन रासायनिक मल खरिद गरे । वार्षिक ३०–३५ लाख रुपैयाँको मल सहकारीले बिक्री गर्ने भए पनि पोखरा आउनुपरेको पहिलोपल्ट हो । ‘गाडी भाडा र लेबर चार्ज जोड्दा खरिद महँगो पर्छ,’ उनले भने, ‘स्थानीय तहले निर्धारण गरेको मूल्यभन्दा बढीमा बेच्न पाइन्न । नाफाभन्दा पनि कृषकले मल पाउन भनेर पोखरासम्म आउनुपर्‍यो ।’ हाल धान र केरालाई बढी रासायनिक मल आवश्यक परेको उनले बताए ।

लिमिटेडले पोखरामा रहेको प्रादेशिक कार्यालय र पर्वत, दमौली, स्याङ्जा र कावासोतीमा रहेको शाखा कार्यालयबाट अनुदानको मल बिक्री गर्छ । पहाडी जिल्लामा कम रासायनिक मल प्रयोग हुने भए पनि तराइ भूभाग रहेको कावासोतीमा भने युरियाको मौज्दात सकिएको छ । लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख नारायणप्रसाद शर्माका अनुसार पूर्वी नवलपरासी बाहेक गण्डकीका अन्य जिल्लामा मलको अभाव छैन । बुधबारसम्म पोखरामा १४७.२५० मेट्रिक टन, पर्वत शाखामा ५०.८०० मेट्रिक टन, दमौलीमा १.५५० मेट्रिक टन र स्याङ्जामा ५५.५५० मेट्रिक टन युरिया मल मौज्दात छ । डीएपी र पोटास पनि कुनै जिल्लामा समस्या छैन । प्रदेशभर २९९.८०० मेट्रिक टन डीएपी र १३४.७५० मेट्रिक टन पोटास मौज्दात छ । ‘कावासोतीको गोदाम सानो भएर पनि छिट्टै सकिएको हो,’ उनले भने, ‘गोदामको क्षमता बढेपछि अभाव हुने समस्या रहँदैन ।’ पहाडी क्षेत्रमा प्रयोग भएर बाँकी रहेको मल प्रदेशकै तराइ क्षेत्रमा वितरण गर्ने प्रदेश र केन्द्रको नीतिअनुरुप पूर्वी नवलपरासीमा पठाइएको उनले बताए ।

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमै मौज्दात रहेको मल अहिले प्रयोग भइरहेको छ । चालु आर्थिक वर्षमा थप मल आएको छैन । १०–१२ दिनभित्र थप मल आएपछि पूर्वी नवलपरासीमा पनि युरिया मलको अभाव नहुने शर्माले बताए । गत आर्थिक वर्षमा लिमिटेडबाट प्रदेशभर ६३४५.१५० मेट्रिक टन युरिया, ३००३.७५० मेट्रिक टन डीएपी र ४४२.०५० मेट्रिक टन पोटास मल बिक्री भएको थियो । कृषि सामग्री कम्पनी लिमिटेड बाहेक साल्ट ट्ेरडिङ कर्पोरेसन लिमिटेडले पनि अनुदानको मल बिक्री गर्छ । कर्पोरेसनको पोखरास्थित प्रदेश कार्यालय र बागलुङ र वालिङमा रहेका उपशाखा कार्यालयबाट मल बिक्री हुन्छ । पोखराले कास्की, तनहुँ र लमजुङमा मल पुर्‍याउँछ ।

आर्थिक वर्ष ०७०/७१ बाट मल बिक्री सुरु गर्दा निकै न्युन परिमाणमा खपत हुने भए पनि गतवर्षदेखि भने साल्ट ट्रेडिङबाट समेत बिक्री बढेको छ । कर्पोरेसनका प्रदेश कार्यालय प्रमुख वासुदेव उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्षमा १९१२.७५ मेट्रिक टन युरिया मल पोखरा कार्यालयबाट बिक्री भएको थियो । अघिल्लो वर्षको मौज्दात रहेको ६८.०५ मेट्रिक टन र चालु आर्थिक वर्षमा आएको ६२ मेट्रिक टन युरिया मल बिक्री भइसकेको छ ।

हाल युरिया मल मौज्दात नरहेको उनले बताए । युरिया मल आउने क्रममा रहे पनि कहिले आउँछ भन्ने जानकारी नभएको उनले सुनाए । कर्पोरेसनले अनुदानका बाहेक पनि रासायनिक मल बिक्री गर्छ । युरियाको सट्टामा प्रयोग गर्न सकिने एमोनियम सल्फेट, डीएपीको विकल्पमा प्रयोग गर्न सकिने सिंगल सुपर फोस्फेट लगायत मल कर्पोरेसनले बिक्री गरिरहेको छ । अनुदानको मलभन्दा यी केही महँगो पर्छ ।

प्रकाशित : भाद्र २५, २०७८ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?