कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

मध्यपहाडी राजमार्ग अझै खुलेन

बागलुङमा सोमबारदेखि इन्धन वितरण रोकियो, दैनिक उपभोग्य वस्तुको अभावसँगै महँगी, गम्भीर बिरामी हेलिकोप्टरमार्फत अस्पताल जान बाध्य 

पर्वत, बागलुङ, म्याग्दी — धौलागिरिको लाइफलाइनका रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) राजमार्ग सातायता अवरुद्ध हुँदा चार जिल्लामा प्रत्यक्ष प्रभावित भएका छन् । कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–५ बाजुङको भ्याप्लेखोलासम्म साढे ८ किमि सडक खण्डमा खसेका २० ठूला पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

मध्यपहाडी राजमार्ग अझै खुलेन

गत बिहीबार राति ११ जनाको ज्यान जाने गरी परेको आरीघोप्टे वर्षाका कारण खसेको पहिरो पन्छाउन एक्स्काभेटर र टिपरको प्रयोग गरिएको छ । तर बुधवारसम्म खुलाउन नसकिएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका गम्भीर बिरामीलाई सबैभन्दा सास्ती छ । लामो समय सडक अवरुद्ध भएपछि कतिपयले लाखौं रुपैयाँ खर्चेर हेलिकोप्टरमा बिरामीलाई पोखरा तथा काठमाडौं पुर्‍याउन थालेका छन् । पैसा नहुनेले झनै सास्ती खेप्नुपरेको छ ।

सडक खुल्ने आशामा ३ दिनसम्म नातिलाई कुश्मा अस्पतालमा राखेको तर नखुलेपछि हेलिकोप्टरमा पोखरा लगिएको स्थानीय गौमती आचार्यले बताइन् । ‘निमोनिया भएको थियो । पर्वत अस्पतालमा सम्भव नभएपछि डाक्टरले पोखरा लैजानुस् भन्नुभयो,’ उनले भनिन्, ‘बाटोबाट सम्भव नभएपछि पैसाभन्दा ज्यान प्यारो लागेर हेलिकोप्टर मगायौं ।’

ग्रामीण सडक पनि ठाउँ–ठाउँमा बिग्रिएका कारण थप समस्या देखिएको छ । कुश्मा–९ की गीता अधिकारीले हरियो सर्पले टोकेर घाइते भएकी आमाको उपचारका लागि ४ युवा खोजेर स्ट्रेचरसहित गाडीमा पठाएको बताइन् । ‘पहिरो गएका ठाउँमा स्ट्रेचरमा बोकेर तार्ने, उताबाट अर्को गाडी बोलाएर लैजाने गरी पठाइयो,’ उनले भनिन्, ‘पोखरा पुग्दा सातवटा गाडी फेर्नुपर्‍यो ।’

श्वासप्रश्वासको समस्या भएपछि बागलुङको गलकोट नगरपालिका–६ का कृष्णबहादुर खत्रीलाई उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइयो । यसका लागि खत्रीले २ लाख खर्चनुपर्‍यो । बागलुङकै ढोरपाटन नगरपालिका–४ का ७३ वर्षीय नन्दबहादुर घर्ती साढे २ लाख खर्चेर हेलिकोप्टरमा पोखरा पुगे । विपन्नहरू ऋण खोजेर उपचारका लागि हेलिकोप्टर चढ्न बाध्य भएका छन् । गत शुक्रबारदेखि बागलुङ र म्याग्दीबाट मात्रै २० बिरामीलाई हेलिकोप्टरबाट पोखरा लगिएको बागलुङ प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले बताए । ‘प्रहरीमा तथ्यांक राख्ने चलन छैन तर २० उडान भइसकेका छन्,’ उनले भने ।

राजमार्ग अवरुद्ध भएपछि यस क्षेत्रमा अत्यावश्यक हरियो तरकारी, फलफूल, डिजेल, पेट्रोल, एलपी ग्यास, चिनीलगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । ‘चार दिन भयो पेट्रोल सकिएको,’ पर्वत आयल स्टोर्सका कर्मचारी हर्क केसीले भने, ‘यहाँ बजारभित्र चल्ने सवारीको लाइन छ । बाटो नखुलेसम्म केही उपाय छैन ।’ पम्पहरूमा पेट्रोल अभाव भएपछि बजारमा केही खुद्रा व्यवसायीले ड्रममा ल्याएको पेट्रोल दुई सय पचास रुपैयाँसम्ममा बिक्री गरेको फलेबास नगरपालिका–३ का शंकर तिवारीले गुनासो गरे ।

आयोजनाका सूचना अधिकारी उज्ज्वल शर्माका अनुसार सडक खुलाउन प्रयास भइरहेको छ । ‘मेसिनले फाल्ने पहिरो लगभग सकियो,’ उनले भने, ‘भ्याप्ले खोलाको मुख्य पहिरो विस्फोट गराउन कठिन भइरहेको छ ।’ भ्याप्ले खोला नजिकै करिब ४० फिट उचाइका चट्टान खसेको र ती फुटाउने प्रयास भइरहेको उनले बताए । बुधबार दिनभर भ्याप्ले खोला आसपासमा भीषण वर्षा भइरहेकाले समस्या भएको थियो । आयोजनाका अनुसार बिहीबारदेखि एकतर्फी खुलाउने गरी प्रयास भइरहेको छ ।

म्याग्दी र मुस्ताङका बिरामीलाई थप उपचारका लागि पोखरा, काठमाडौंका अस्पताल पुग्न समस्या भएको छ । ‘मुख्य सडकमा यातायात अवरुद्ध हुँदा सबैभन्दा ठूलो समस्या बिरामीलाई परेको छ । हेलिकोप्टर चार्टर गर्न नसक्ने बिरामीलाई बेनी अस्पतालमै राखेर उपचार गर्नुपरेको छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘म्याग्दी, मुस्ताङमा दुर्घटना वा कुनै पनि विपद् भएमा झनै समस्या हुनेछ ।’

बेनीमा पोखरा, चितवन, धादिङ, तनहुँबाट तीन मिनी ट्रक ताजा तरकारी आउने गरेको थियो । तर ढुवानी रोकिएपछि तरकारीको भाउ अकासिएको छ । प्रतिदर्जन डेढ सय रुपैयाँको केराको मूल्य ३ सय पुगेको छ भने स्याउको मूल्य ३ सयबाट ५ सय पुगेको छ । ‘बजारका तरकारी पसलमा सीमित स्थानीय उत्पादनबाहेक तरकारी अभाव छ । महँगो भए पनि सामान पाइएको छैन,’ सदरमुकामको पीपलचोकस्थित तरकारी तथा फलफूलका थोक विक्रेता देवेन्द्र सुवेदीले भने, ‘स्थानीय उत्पादन शून्य छ, बाहिरको भरमा चल्दा चाडपर्वको सिजनमा फलफूल, तरकारी बेच्न नपाएर रित्तो पसल कुरेर बस्नुपरेको छ ।’

निर्माण सामग्रीको ढुवानी पनि रोकिएपछि दुवै जिल्लामा निर्माणाधीन योजनाका काम प्रभावित भएका छन् । इन्धन अभाव देखाउँदै यातायात व्यवसायीले यात्रुलाई भाडामा ठगी गरिरहेका छन् । बेनी–कुश्मा १८ किलोमिटर सडकमा व्यवसायीले प्रतियात्रु चार सय रुपैयाँ भाडा असुली गरिरहेका छन् । म्याग्दी कोरोला यातायात प्रालिका सञ्चालक मोहन केसीले साना प्रकृतिका गाडीमा यात्रु ठगिएको बताए ।

म्याग्दीमा ३ पेट्रोल पम्पमा दुई दिनमा एक/एक ट्यांकर डिजेल र पेट्रोल आउँथ्यो । बागलुङका पेट्रोल पम्पले सोमबारदेखि नै इन्धन वितरण रोकेका छन् । ‘पेट्रोलियम पदार्थ नआएकाले पम्प खाली भए,’ व्यवसायी रामप्रसाद शर्माले भने, ‘आकस्मिक सेवाका लागि राखिएको केही इन्धन मात्रै बाँकी छ ।’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले इन्धन अभाव हुन नदिने उपाय खोजी भइरहेको बताए ।

बागलुङमा पोखराबाट ल्याउनुपर्ने सामान पाल्पाको बाटो घुमाएर ल्याएको व्यवसायी बताउँछन् । ‘झन्डै ३ सय किमि घुमाउरो बाटो घुमाएर ल्याएको फलफूल प्रतिकेजी २० रुपैयाँ महँगो परेको छ,’ बागलुङ बजारका व्यवसायी खगेन्द्र पौडेलले भने, ‘अत्यावश्यक सामान मात्रै ल्याएका हौं ।’ बाढीपहिरोले कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकसमेत डेढ महिनादेखि अवरुद्ध छ ।

प्रकाशित : भाद्र २४, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?