कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पहिरोले बाटो न बिजुली

बाटो र पोल बगाउँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा विद्युत् र सञ्चार सेवा अवरूद्ध
दीपक परियार

पोखरा — अविरल वर्षापछिको बाढीपहिरोले शुक्रबारदेखि अवरुद्ध पोखरा–बागलुङ सडक शनिबार पनि खुलेको छैन । पोखराबाट पर्वत हुँदै बागलुङ जोड्ने भूपी शेरचन राजमार्गको कुश्मा–पातीचौर खण्ड क्षतविक्षत हुँदा आवागमन ठप्प भएको हो । पातीचौरदेखि कुश्मासम्म साना–ठूला गरी ११ ठाउँमा पहिरो खसेर सडक पुरेको छ ।

पहिरोले बाटो न बिजुली

ठाडो खोलाले विभिन्न स्थानमा बाटो बगाएका छन् । पोखराबाट जाने यात्रु पातीचौरसम्म पुग्छन् । पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार बाटो अवरुद्ध हुँदा पातीचौरदेखि कुश्मासम्म पहिरो छिचोल्दै तीन घण्टा हिँड्नुपर्छ । राजमार्ग खुल्ने अवस्था नहुँदा सर्वसाधारण जोखिम मोलेरै हिँडिरहेका छन् । ‘सडक तत्काल खुल्ने सम्भावना छैन,’ उनले भनिन्, ‘निर्माण व्यवसायी र अरु सरोकारवालासँग सल्लाह गर्दा एक साता लाग्न सक्ने देखिन्छ ।’ जटिल अवस्थाका बिरामी वा घाइतेलाई पोखरा रेफर गर्न परे बाटोकै कारण सम्भव नहुने उनले बताइन् । ‘यस्तो अवस्थामा हेलिकोप्टर मात्रै विकल्पको रुपमा प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले थपिन् । छिटोभन्दा छिटो बाटो खोल्न पहल भइरहेको उनको भनाइ छ । यो खण्डमा दोबिल्लामा गत असारमा पहिरोमा परी इन्जिनियरसहित ३ जनाको मृत्यु भएको थियो । भूपी शेरचन राजमार्गले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई पोखरासँग जोड्छ ।

शुक्रबार रातिको वर्षाले विभिन्न स्थानमा प्रसारण लाइन टावर ढलाउँदा गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत् अवरुद्ध छ । पर्वतको ओडारे परादीमा रहेको मोदी–कुश्मा ३३ केभी लाइनलाई पहिरोले क्षति पुर्‍याएपछि पर्वतसहित बागलुङ र म्याग्दीमा शुक्रबारदेखि नै विद्युत अवरुद्ध थियो । ३३ केभीए सिस्टम चार्ज गरेपछि यी तीन जिल्लाको मुख्य बजार क्षेत्रमा शनिबार दिउँसोदेखि आंशिक रुपमा विद्युत् आपूर्ति सहज भएको छ । विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवालले शाखा लाइन चालु हुन भने २–३ दिन लाग्न सक्ने बताए । ‘बाटोमा भएको पहिरोले गाडी जान सक्ने अवस्था छैन,’ उनले भने, ‘पहिरो हटाउँदै मर्मत गर्न केही दिन लाग्छ ।’

पर्वतको सदरमुकाम कुश्मानजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको थियो ।

मोदी–१ जलविद्युत् आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ । यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत् गृहहरूको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत् कुश्मा सबस्टेसन हुँदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिन्छ ।

मोदी गाउँपालिकाको अम्बोट क्षेत्रमा खसेको पहिरोले टेलिकमको आप्टिकल फाइबरमा क्षति पुर्‍याएपछि शुक्रबार र शनिबार दिनभरी टेलिफोन र मोबाइल सेवा अवरुद्ध भयो । अप्टिकल फाइबर मर्मत गर्ने पश्चिमाञ्चल सोलुसनका प्राविधिक पहिरोस्थलमा खटिएर मर्मत गरिरहेको टेलिकम पोखराका इन्जिनियर विकास तिमिल्सिनाले बताए । शनिबार रातिसम्म मर्मत सकेपछि पूर्णरुपमा सञ्चालनमा आउने उनले जनाए । उनका अनुसार अप्टिकल फाइबर बन्द भएपछि रेडियोमार्फत सीमित कलमात्रै जाने भएकाले फोन नलाग्ने समस्या भएको हो ।

प्रकाशित : भाद्र २०, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?