कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

राम्दी बजार पहिरोको उच्च जोखिममा

गण्डकी प्रदेशभरी जताततै पहिरो
प्रतीक्षा काफ्ले

कास्की — अविरल वर्षासँगै स्याङ्जाको राम्दी बजार पहिरोको उच्च जोखिममा रहेको छ । भदौ १३ मा गल्याङ नगरपालिका–१ राम्दीमा सिदार्थ राजमार्ग माथिबाट पहिरो खसेको थियो । पहिरोमा वालिङ नगरपालिका–१४ की धनमाया उम्रा मगरको मृत्यु भएको थियो । पहिरोमा परी ४ जना घाइते भएका थिए भने ४ वटा घर पुरिएका थिए ।

राम्दी बजार पहिरोको उच्च जोखिममा

पहिरोले सिदार्थ राजमार्गको राम्दी सडकखण्ड अझैपनि पूर्णरुपमा सुचारु हुन नसकेका प्रहरीले जनाएको छ । सो पहिरोका कारण अहिले सिंगो बजार नै जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । ‘पहिरोले सडकमाथिको सिंगै डाँडो चिराचिरा परेको छ,’ उनले भने, ‘यहाँ करिब ५० घर छन् । ती सबै घर पहिरोको जोखिममा छन् । रातभरी पानी पर्दा स्थानीय घरमा बस्ने अवस्था छैन ।’ पहिरोले प्रहरी चौकी, मन्दिर र स्थानीयका घर बढी जोखिममा छन् । कालीगण्डकी नदीको वहाव बढेकाले पनि किनार वरिपरीका बस्ती समेत उच्च जोखिममा छन् । स्याङजा र पाल्पा दुई जिल्ला जोड्ने सडक पुल पनि जोखिममा रहेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार सीमानापारी पाल्पाखण्ड विगतदेखि पहिरोको उच्च जोखिमा रहेपनि स्याङजा खण्ड भने सुरक्षित थियो । केहीदिन अघि आएको पहिरोका कारण स्याङ्जा खण्ड पनि उच्च जोखिम भएको एसपी बोगटीले बताए । ‘राम्दी स्थानीय बजार पनि हो,’ उनले थपे, ‘दुई जिल्लाको नाका पनि हो । यसतर्फ बेलैमा सोच्न सकिएन भने पछि केही भन्न सकिँदैन ।’ उनले राम्दीको सिंगो डाँडै जोखिम भएकाले कतिबेला के हुन्छ भन्न नसकिने बताए ।

यसैगरी गल्याङ–३ मा रहेको बसपार्क पनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जथाभावी खनिएका भित्री सडकका कारण सिदार्थ राजमार्ग समेत बिग्रिदै गएको स्थानीय कृष्ण बस्यालले बताए । ‘अहिले राजमार्गमा पनि उस्तै जोखिम छ,’ बस्यालले भने, ‘जिल्लाभर पहिरोको जोखिम छ । राजमार्ग होस् या गाउँमा जथाभावी डोजर मात्र लगाउने, सडक खन्ने गरिएको छ । जसले गर्दा पहिरो नै पहिरो भएको छ । सुरक्षित भन्ने कुनै स्थान भएन ।’

गल्याङ नगरप्रमुख भुपराज अधिकारीले पहिरोको जोखिम बढ्दै गएकाले नयाँ ट्रयाक नखोल्ने, भइरहेकै पुराना सडकको मर्मत सम्भार गर्ने योजना नगरपालिकाको रहेको बताए । ‘नसोचेको स्थानमा पनि पहिरो गएको छ,’ उनले भने, ‘यसतर्फ नगरपालिकाको ध्यान गएको छ । जोखिम बस्ती बचाउनका लागि हामीले तारजाली लगाउने या सुरक्षित स्थानमा लगेर राख्ने काम भइरहेको छ ।’ स्याङजा सबै स्थानीय तहमा पहिरोको उस्तै जोखिम छ ।

केही दिनदेखि परेको वर्षाका कारण बाढी पहिरोले पर्वत, कास्कीका विभिन्न स्थानमा पनि ठूलो क्षति पुर्‍याएको छ । असारयता मात्रै गण्डकी प्रदेशमा बाढी पहिरोमा परी ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : भाद्र २०, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?