१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गिद्ध गणनाको तयारी

नारायण शर्मा

पूर्व नवलपरासी — शनिबारदेखि नेपालमा गिद्ध गणना गरिँदैछ । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर नवलपुरमा गिद्ध गणना गर्न लागिएको हो । २०६६ सालदेखि विश्वभर हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन थालिएको छ । नेपालका ३२ जिल्लामा शनिबार गिद्ध गणना गरिनेछ । नेपालमा पहिलो पटक २०६५ सालमा गिद्ध गणना सुरु भएको थियो ।

गिद्ध गणनाको तयारी

गणनामा गिद्ध संरक्षण र अनुसन्धानमा सक्रिय विज्ञहरु सहभागी हुनेछन् । गिद्ध पाइने सबै जिल्लामा विज्ञहरुले टेलिस्कोप, क्यामरा र दुरबिनको सहयोगमा गणना गर्नेछन् । यसको अनुगमन काठमाडौंस्थित नेपाल पन्छी संरक्षण संघ (बीसीएन)ले गर्नेछ । शनिबारै गणना सक्ने लक्ष्य छ ।

नेपालमा वर्षभरि नै बस्ने गिद्धका प्रजातिमा सानो खैरो, डंगुर, सेतो, सुन गिद्ध हुन् । जाडोयाममा नेपालका विभिन्न स्थानमा चीन, साइबेरीया र मलेसियाबाट राज र खैरो गिद्ध आहारा र बासस्थानका लागि आउँछन् । गर्मी सुरु हुनासाथ अर्थात् चैत लागेपछि ती गिद्ध थातथलो फर्किन्छन् । भारत र पाकिस्तानमा पाइने लामो ठुँडेगिद्ध पनि नेपाल आउँछन् । गिद्ध संरक्षणमा लामो समय काम गरेका पन्छीविद् कृष्णप्रसाद भुसालका अनुसार नेपालमा ९ प्रजातीका करिब २० हजार गिद्ध पाइन्छन् । उनका अनुसार सन् १९८० तिर १० देखि १६ लाख अनुमान गरिएका गिद्ध अहिले २० हजारमा झरेको अनुमान छ ।

पिठौलीस्थित जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीबी चौधरीले यो वर्ष ९ जना पथप्रर्दशक (गाइड)लाई गिद्धको दिगो संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धनबारे जानकारी दिनेगरी तालिमको व्यवस्था गरिएको जानकारी दिए । ‘गिद्ध संरक्षणको प्रयास, सफलताका साथै चुनौतीबारे सहभागीहरुलाई जानकारी दिइनेछ,’ चौधरीले भने ।

गिद्ध संरक्षणका भावी योजना, गिद्ध गणनाको तरिकाबारे पनि सहभागीलाई जानकारी दिइनेछ ।

प्रकाशित : भाद्र १७, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?