१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोला थुनिँदा बस्तीमा त्रास

म्याग्दीका मुख्य तीन जलाधार राहुघाट, म्याग्दी र कालीगण्डकी नदीमा पटक–पटक पहिरो झर्ने र नदी थुनिने गरेको छ ।
घनश्याम खड्का

म्याग्दी — बिहीबार बिहान ५ बजे रघुगंगा–६ को मूलपानी र ७ चिमखोलाको गौंडामुनिमा रायोखोरबाट खसेको पहिरोले राहुघाट खोला थुनिएर बनेको ताल भरिएर बग्न थालेको छ ।

खोला थुनिँदा बस्तीमा त्रास

पहिरोले राहुघाट खोलामा अनुमानित एक किमि लामो, २० मिटर चौडा र १५ मिटर गहिरो ताल बनेको हो । रायोखोरको भीर फुटेर खसेको ढूलो ढुंगासहितको पहिरो झर्न नरोकिएकोले जोखिम बढ्दो छ । धवलागिरि हिमालबाट आउने यो खोलाको राहुघाटको मुख्य सहायक खोला हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार खोलामा बनेको ताल तत्काल फुट्ने खतरा नदेखिए पनि पहिरो झर्न नरोकिएको बताउँदै भने, ‘अझै केही दिन भारी वर्षाको जोखिम देखिएकाले राहुघाटमा बाढीपहिरोको जोखिम यथावत् छ, उच्च सतर्कता आवश्यक छ ।’

एक महिनाअघि साउन १० मा धवालागिरि गाउँपालिका–१ गुर्जाखोलामा गएको पहिरोले ८ घण्टा थुनिएको थियो । उक्त खोलामा बनेको तालबाट पानी सहज बगेको भए पनि ताल भने अझै छ । यसअघि म्याग्दीका मुख्य तीन जलाधार राहुघाट, म्याग्दी र कालीगण्डकी नदीमा पटक–पटक पहिरो झर्ने र नदी थुनिने, बस्ती पुरिने र तटीय क्षेत्रमा विनाश गरेको घटना दोहोरिएका छन् । ‘तीनवटै जलाधारमा पटकपटक पहिरो झर्ने र थुनिने तथा बाढीबाट बेनी र तटीय बस्तीलाई आक्रान्त बनाउने गर्छ,’ नेकपा एमाले जिल्ला अध्यक्षसमेत रहेका स्थानीय बेनी संरक्षण अभियानका अगुवा हरिकृष्ण श्रेष्ठले भने ।

२०५५ असोज १० गते तत्कालीन शिख गाविसको गोगनपानी भीर भत्केर भुरुङ तातोपानी बजार पुरिनुका साथै कालीगण्डकी नदी १० घण्टा थुनिएको थियो । अहिले पहिरोले पुरेको बैसरीमा यसपटक मात्र पहिरो केही घरमा क्षति पुर्‍याएको थियो । त्यस्तै २०४७ तत्कालीन हिस्तान गाविसको पैह्राथाप्लामुनिबाट झरेको पहिरोले भगवतीको कुनौटोनजिक केही घण्टा कालीगण्डकी थुनेको थियो । २०७२ जेठमा साविक राम्चे गाविसको काफलडाँडाको भीर भत्केपछि कालीगण्डकी नदी किनारामै रहेको बैसरी बस्ती पूरै पुर्नुका साथै कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको थियो ।

कालीगण्डकीमा अहिले म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको बाँदरजुंग भीर, दानाको गुइँठे क्षेत्रको भीर, भुरुङको तातोपानीको भीर, घारखोलाको नेपाने भीर, घारको टिमुरेभीरमा ठूला पहिरो खस्ने र कालीगण्डकी नदी थुनिने जोखिम छ । पहिरोले कालीगण्डकी नदी थुन्ने मात्र होइन, २०४५ सालमा हिमालपारिको मुस्ताङमा रहेको एक हिमताल फुट्दा नदीतटका दाना, तातोपानी हुँदै सदरमुकाम बेनीबाट तलसम्मका बस्तीमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

रघुगंगा र कालीगण्डकी नदीमा मात्र होइन, पश्चिमगुर्जा, चुरेन र धौलागिरि हिमालबाट आउने म्याग्दी खोलामा पनि पटकपटक पहिरोले नदी थुन्ने र बाढीपहिरोको विपत्ति ल्याउने गरेको छ । गत साउन १० मा धौलागिरि गाउँपालिका–१ गुर्जाखोलामा गएको पहिरोले गुर्जाखोला ८ घण्टा थुनिएको थियो ।

प्रकाशित : भाद्र १३, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?