१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मनास्लुमा २२ वर्षयताकै कम पर्यटक

गत आवमा १९४ विदेशी मात्रै मनास्लु क्षेत्र पुगे, जेठयता एउटै पनि पुगेनन् 
हरिराम उप्रेती

गोरखा — कोरोना संक्रमणले गत वर्षदेखि थलिएको पर्यटकीय क्षेत्र तंग्रिन नपाउदै फेरि प्रभावित बनेको छ । विदेशी पर्यटकको चहलपहलले गुल्जार रहने मनास्लु क्षेत्र यतिबेला सुनसान छ । ऐतिहासिक र धार्मिक पर्यटकको केन्द्रको रूपमा परिचित गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोटलगायत क्षेत्र अवलोकन गर्न पर्यटक आउनै छोडेका छन् । धार्मिक गन्तब्य र पर्यटकीयस्थल सुनसान बनेसँगै त्यस क्षेत्रका होटललगायतका व्यापार, व्यवसाय नराम्ररी प्रभावित बनेको छ । 

मनास्लुमा २२ वर्षयताकै कम पर्यटक

अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे गरी पाँच महिनालाई मनास्लु भ्रमणका लागि उपयुक्त मानिन्छ । तर कोरोना जोखिमका पछिल्ला २ वर्षमा मनास्लु क्षेत्र पुग्ने पर्यटकको संख्या निकै कम छ । आर्थिक वर्ष २०७७/७८ मा एक सय ९४ मात्र विदेशी पर्यटक मनास्लु क्षेत्र पुगे । मनास्लु पर्यटकका लागि खुला भएको सुरुको वर्ष २०५५/५६ मा एक सय ४ पर्यटकले भ्रमण गरेका थिए । आव २०५६/५७ मा ६ सय ५९ विदेशी त्यहाँ पुगेका थिए । त्यसपछि बर्सेनि विदेशी पर्यटकको संख्या बढ्दै गएकोमा गत आवमा निकै कम पर्यटक त्यस क्षेत्र पुगेका हुन् ।

कोरोना जोखिम बढेसँगै मनास्लु क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा कमी आएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) प्रमुख अजित तुम्बाहाम्फेले बताए । गत वर्षको चैतमा ५६ र वैशाखमा ७४ विदेशी मात्र मनास्लु क्षेत्र पुगेका थिए । दोस्रो लहरको संक्रमण सुरु भएपछि जेठयता एक जना पनि पर्यटक मनास्लु पुगेका छैनन् । ‘गत वर्षको भदौ, जेठ र असारमा पनि शून्य थियो,’ उनले भने, ‘यो वर्ष पनि अप्रिलदेखि पर्यटक छैनन्, गत आर्थिक वर्ष मनास्लु क्षेत्र आएको एकसय ९४ मध्ये पनि अधिकाशं मनास्लु हिमाल चढ्न आएकाहरू हुन् ।’

भूकम्प गएको वर्ष सन् २०१५ मा मनास्लु घुम्ने विदेशीको संख्या घटे पनि त्यसयता बढेको थियो । सन् २०१५ मा २ हजार ४ सय १९ पर्यटक मनास्लु पुगेका थिए । सन् २०१९ मा ७ हजार ५ सय ५५ पुगेको थियो । पर्यटक नआएसँगै मनास्लु क्षेत्रमा सबैभन्दा वढी होटल व्यवसाय धरापमा परेको छ । मनास्लु क्षेत्रमा झन्डै एक सय होटल पर्यटकको भरमा खुलेका छन् । ‘आम्दानीको बाटो भनेको होटल हो, पर्यटक नआएपछि बन्द छ,’ छेकम्पारका छिरिङ दार्जेले भने, ‘भाडाको घरमा होटल गर्नेको झनै विजोग छ ।’

यसैगरी दैनिक २ देखि ५ हजारसम्म भक्तजन आउने मनकामना मन्दिर पनि सुनसान छ । केवलकार बन्द छ । दैनिक डेढ सयदेखि दुइ सयसम्म भक्तजन मनकामना पुग्ने गरेका छन् । मनकामना क्षेत्रका होटल पनि थलिएका छन् ।

धार्मिक र ऐतिहासीक गोरखा दरबारमा पनि आगन्तुकको संख्या घटेको छ । गोरखा संग्रहालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा ३३ हजार २ आगन्तुक मात्र भित्रिए । त्यसअघिको वर्ष झन्डै आधा प्रतिशतले अवलोकनकर्ता घटेको संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

प्रकाशित : भाद्र ६, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?