कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

लयमा फर्किंदै आन्तरिक पर्यटन

निषेधाज्ञा खुकुलिएपछि खुल्न थाले होटल, रिसोर्ट
अगन्धर तिवारी

पर्वत — निषेधाज्ञाका कारण पछिल्लो ३ महिना थला परेको पर्वतको आन्तरिक पर्यटन चलायमान हुन थालेको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निर्माणाधीन तथा निर्माण भइसकेका पर्यटन व्यवसाय सञ्चालन गर्न थालेका हुन् । 

लयमा फर्किंदै आन्तरिक पर्यटन

विशेष गरी पुल पर्यटनकै कारण चर्चामा आएको सदरमुकाम कुस्माबजार एक वर्षयता बन्जी र जिपलाइनका कारण पनि चर्चामा छ । बन्जी र निर्माणाधीन जिपलाइनकै कारण कुस्मामा दिनानुदिन सुविधासम्पन्न होटल थपिँदै गएका छन् । ‘कोरोना महामारी नभएको भए होटल खचाखच हुन्थे,’ कुस्माका व्यवसायी ओम श्रेष्ठ भन्छन्, ‘निषेधाज्ञा केही खुकुलो हुनासाथ आन्तरिक पर्यटक आउन थालेका छन् ।’ पछिल्लो पटक गरिएको निषेधाज्ञा केही खुकुलो भएसँगै श्रेष्ठले आफ्नो होटल स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खुलाएको बताए ।

निषेधाज्ञा खुकुलो भएसंगै निजी क्षेत्रको लगानीमा सञ्चालित आकासे पुल, यान्त्रिक पुल, बन्जी, रिसोर्ट, होटल तथा सरकारी लगानीका अग्ला झोलुङ्गे पुलमा आउजाउ खुला गरिएको छ । सार्वजनिक यातायात खुला गरिएसँगै अरू जिल्लावासीको आउजाउ बढ्न थालेको हो । सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षाका मापदण्डसहित यात्रा गर्न पाएपछि बन्जी गर्न आएका पाल्पाका हितेन्द्र थापाले बताए । ‘लामो समय घरमै बस्दा निकै अत्यास लागेको थियो,’ उनले भने, ‘लकडाउन खुलेपछि पहिलो पटक बन्जी हेर्न आउने रहर थियो । पूरा गर्न पाएकोमा खुसी लागेको छ ।’

निर्माणाधीन पर्यटकीय पूर्वाधारको कामसमेत धमाधम अघि बढेको छ । निर्माणाधीन जिपलाइन दसैंभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको हार्नेस जिपलाइनका निर्देशक नरेन्द्र खत्रीले बताए । उनका अनुसार जिपलाइनको काम अन्तिम चरणमा छ । जिपलाइनको अवतरण हुने स्थान कुस्मा–४ को साउनेबगरमा कालीगण्डकीबीच रिसोर्टको कामसमेत तीव्र गतिमा भइरहेको छ । ‘पहिला जिपलाइनको काम सकेर यो सुरु गर्दै छौं,’ उनले भने, ‘रिसोर्टलगायत अरू संरचना बनिरहेका छन् ।’ ७ युवाको करिब १३ करोडको लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम सकिनै लागेको अर्का सञ्चालक राजकुमार बस्नेतले बताए ।

पर्वतमै निजी क्षेत्रको लगानीमा सञ्चालित कुस्मा–बलेवा यान्त्रिक पुल पनि सञ्चालनमा आउन थालेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताको आधा यात्रु ओहोरदोहोर हुने यान्त्रिक पुलका प्रबन्धक चिरञ्जीवी रेग्मीले बताए । बन्जीका सञ्चालक नेत्र पराजुलीका अनुसार दर्जनौं कर्मचारीलाई चलायमान गराउन र सञ्चालन खर्च व्यवस्थापन गर्न पनि खोल्नु परेको बताए । ‘हामीसँग ७१ कर्मचारी हुनुहुन्छ,’ उनले भने, ‘त्यसको खर्चमात्रै मासिक २० लाख रुपैयाँभन्दा धेरै हुन्छ । प्रशिक्षित कर्मचारी हटाए नयाँ पाउन गाह्रो हुन्छ । नहटाउँदा खर्च धान्न सकिएन ।’ कोरोना संक्रमण बढेमा पुनः बन्द गर्ने गरी दैनिक १०–१५ जनासम्मलाई बन्जी गराइएको उनले बताए ।

बन्जी, यान्त्रिक पुल र अग्ला पुलमा आउजाउ खुला भएसँगै होटल र यातायात व्यवसायीले केही राहत महसुस गरेका छन् । ‘अब केही हुन्छ कि जस्तो छ,’ व्यवसायी सागर गिरीले भने, ‘लामो समय सवारी थन्क्याउनु पर्दा बैंकको किस्ता र ब्याजले थिचेको छ । उठ्नै सकिएन ।’ होटल व्यवसायी हरि सुवेदीले अरू व्यवसाय खुलेसँगै खाजा खान आउनेको संख्या बढेको बताए । उनका अनुसार बन्जी, स्काई साइक्लिङ र अग्ला पुल हेर्न आउनेको चहलपहल बढेको छ । निषेधाज्ञा खुकुलो भए व्यवसाय पुरानै लयमा फर्किने आशा व्यवसायीको छ ।

प्रकाशित : श्रावण २६, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?