१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लामो समयदेखि मर्मत भएन धौवादीको वायु ऊर्जा केन्द्र

हावाबाट १० र सोलारबाट २ किलोवाट उत्पादन हुने केन्द्र २ वर्षदेखि बन्द
नवीन पौडेल

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ धौबादीमा रहेको हावाबाट बिजुली निकाल्ने वायु ऊर्जा केन्द्र लामो समयदेखि मर्मत नहुँदा जीर्ण हुँदै गएको छ । स्थानीय तहको बजेटबाट मर्मत गर्न रकम अभाव हुने तर प्रदेश र केन्द्र सरकारले चासो नदिँदा केन्द्र २ वर्षदेखि बन्द छ । 

लामो समयदेखि मर्मत भएन धौवादीको वायु ऊर्जा केन्द्र

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा नमुना योजनाका रूपमा २०६८ मा यहाँ हावाबाट बिजुली निकालिएको थियो । निर्माण सम्पन्न भएपछि बैंकले स्थानीयलाई ऊर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत् उत्पादन भए पनि पछि विस्तारै टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो । हावाबाट १० किलोवाट र सोलारबाट २ किलोवाट गरी १२ किलोवाट विद्युत् उत्पादन भएको थियो । हावाबाट विद्युत् उत्पादनका लागि ५/५ किलोवाट क्षमताका २ वटा टर्वाइन राखिएको छ ।

राष्ट्रिय प्रसारणको विद्युत् नपुगेको पहाडी क्षेत्रका बासिन्दाले हावाबाट बिजुली निकाली वितरण गरेकोमा बिजुली उत्पादन रोकिएपछि अहिले अन्धकारमा बस्न बाध्य छन् । वायु ऊर्जाबाट यहाँका ४२ घर, धौवादी इलाका प्रहरी कार्यालय र विद्यालयले उपभोग गर्दै आएका थिए । स्थानीयले छिटो मर्मत गरिदिन माग गरेका छन् । विद्युत् सेवा बन्द हुँदा बत्ती बाल्न, कम्प्युटर चलाउन, टीभी हेर्न, रेडियो सुन्न नपाएको स्थानीयले गुनासो गरेका छन् । ‘दुर्गम बस्तीमा वायु ऊर्जाले हामीलाई ठूलो राहत भएको थियो । विद्युतीय सामान चलाउन र सञ्चारको पहुँचका लागि पनि बिजुली अत्यावश्यक हो,’ स्थानीय मानसिंह सिञ्जालीले भने, ‘नमुना योजना भएकाले आन्तरिक पर्यटक वायु ऊर्जा उत्पादन भएको हेर्न आउनेको लर्को लाग्ने गर्दथ्यो । त्यसैले छिटोभन्दा छिटो मर्मत गर्नुपर्छ ।’

वायु ऊर्जा बन्दपछि स्थानीयले अहिले लघुजलविद्युत् आयोजनाबाट महँगोमा बत्ती बाल्नुपर्ने अवस्था छ । चारवटा बल्ब राख्ने स्थानीयले महिनामा ३ सयभन्दा बढी महसुल तिर्नुपरेको छ । ‘हावाबाट सहजै विद्युत् उत्पादन हुने स्टेसन मर्मत नगर्ने, स्थानीयले महँगो शुल्क तिर्नुपरेको छ,’ हुप्सेकोट–५ का मनमाया मगरले भनिन्, ‘नेता आउँछन्, हेरेर जान्छन्, मर्मत गर्ने भनेको पनि लामो समय भयो । खोइ अहिलेसम्म मर्मत भएको छैन । भएका सामान पनि जीर्ण हुँदै गएको छ ।’

प्रकाशित : श्रावण १९, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?