पहिरोपीडितलाई घर बन्ने आस- गण्डकी - कान्तिपुर समाचार

पहिरोपीडितलाई घर बन्ने आस

चालु आर्थिक वर्षभित्र ७४ घर पुनर्निर्माण हुने
आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउापालिका–३ पल्लोटारीका सोमा गोतामेको घर पहिरोले बगाएको एक वर्ष भयो । उनी देवीथान मन्दिरनजिकै टहरामा बस्दै आएकी छन् । छिमेकी पनि टहरामा बसेका छन् । टहरामा बस्दा उनलाई निकै समस्या छ । अब भने पक्की घर बन्ने आशा पलाएको छ ।

लमजुङको मर्स्याङ्दी–३ पल्लोटारीका पहिरोपीडितसँग घर पुनर्निर्माणबारे अन्तरक्रिया गर्दै जनप्रतिनिधि । तस्बिर : कान्तिपुर

उनले अब छिट्टै घर बन्ने खबर पाएकी छन् । ‘हुरीबतास, झरी छलेर टहरामा एक वर्ष बिताइयो । अब घर बन्ने कुरा छ,’ उनले भनिन्, ‘घर छिटो बनिदिए हुन्थ्यो । यहाँ केटाकेटी, हामी सबैलाई गाह्रो भयो ।’

गत वर्षको साउन ५ र ७ गतेको पहिरोले पल्लोटारीका २१ घर बगाएको थियो । अन्य घरमा क्षति पुर्‍याएको थियो । पल्लोटारीका ५४ घर पुनर्निर्माण हुने खबर स्थानीयले सुनेका छन् । स्थानीय अगुवा अतिमान गोतामेका अनुसार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र वडाध्यक्ष प्रेमबहादुर बस्नेतले घर पुनर्निर्माण हुने खबर दिएका छन् । केहीका सबै घरबार बगाएकाले जग्गा व्यवस्थापनमा समस्या छ । ‘अब हाम्रो घर बन्ने भएको छ । हामी अब सम्झौताको तयारीमा छौं,’ उनले भने । वडाअध्यक्ष बस्नेतले पल्लोटारी र अर्खलेबेंसीमा पहिरोपीडितका लागि घर पुनर्निर्माणको तयारी भइरहेको बताए ।

उनका अनुसार पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर गरी ७४ घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुन लागेको छ । उनका अनुसार झन्डै एक वर्ष अस्थायी बासस्थान, राहत, जग्गा व्यवस्थापन तथा पुनर्निर्माणको प्रक्रियामा लागेको उनले बताए । ‘हामी पीडितलाई राहतका लागि दिनरात खटिरहेका छौं,’ उनले भने । उनका अनुसार पल्लोटारीको घर पुनर्निर्माणका लागि देशविदेशबाट १ करोड २३ लाख रुपैयाँ संकलन भइसकेको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो पीडितसँग घर पुनर्निर्माणका लागि अब सम्झौताको तयारी भइरहेको बताए । त्यसपछि घर निर्माणको काम हुनेछ । गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिसँग सम्झौता गरेर पुनर्निर्माणका काम सुरु गरिने उनले बताए । उनका अनुसार घर बनाउन लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउनेछन् । यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ ।

बाढीपहिरोका कारण पुनः घर बनाउनै नसक्ने गरी जग्गा मासिएको परिवारले बढीमा थप ३ लाख रुपैयाँका दरले जग्गा खरिदका लागि अनुदान पाउनेछन् । घर बनाउन स्थानीय तहमार्फत ३ किस्तामा रकम अनुदान पाउनेछन् । पुनर्निर्माणका लागि अनुदान व्यवस्थासहितको कार्यविधि स्वीकृत भएर आएकाले घर पुनर्निर्माण कार्य छिट्टै हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार एकाघर परिवारका सदस्यको बाढीपहिरोका कारण पुनः घर बनाउनै नमिल्ने गरी जग्गा मासिएको, देशभर कहींकतै जग्गा नभएकाले केही समस्या भइरहेको छ ।

पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एकमुष्ट रकम आइसकेको छ । उक्त अनुदान गाउँपालिकामार्फत वितरण हुने समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । ‘पहिरोपीडित लाभग्राहीको पहिचान भइसकेको छ । उनीहरूको घर पुनर्निर्माणका लागि रकम पनि आइसकेको छ । अब सम्झौता भएर काम सुरु हुन्छ,’ उनले भने ।

प्रकाशित : श्रावण १८, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

जहिल्यै पहिरो र भलबाढीको जोखिम

स्थानीय तह जोखिम न्यूनीकरणमा उदासीन, जिल्लाका १० वटै पालिका प्रभावित
विप्लव भट्टराई

इलाम — पहिरोले घरमा क्षति पुगेपछि सन्दकपुर गाउँपालिका–४ मावुका खुमबहादुर गुरुङ विस्थापित भए । छिमेकी सञ्चहाङ लिम्बू र गंगामाया थेबे पनि अन्यत्रै बस्न बाध्य छन् । दलबहादुर लिम्बूको घर उच्च जोखिममा छ । मावुबाट सन्दकपुर–५ जमुना जोड्ने सडकको आसपास पहिरो गएको हो । 

इलामको सन्दकपुर गाउँपालिका–४ मावुमा गएको पहिरो। जिल्लाभर पहिरो र भलबाढीका जोखिम क्षेत्र धेरै भए पनि क्षति न्यूनीकरणका लागि ठोस प्रयास हुन सकेको छैन । तस्बिर : विप्लव/कान्तिपुर

२ वर्षअघि चौडा बनाइएको सडककै कारण भित्रबाट पानी निस्किएर पहिरो गएको खुमबहादुरको भनाइ छ । जोखिम देखिएपछि त्यस क्षेत्रमा ग्याबिन भर्ने काम पनि भयो । तर समयमा काम नभएका कारण बर्खा सुरु हुनासाथ समस्या भएको खुमबहादुरको भनाइ छ । बर्खा लाग्नासाथ यस्तै नियति झेल्नुपर्ने बाध्यता जिल्लावासीकै छ । जिल्लाका सबै १० पालिका नै पहिरो र भलबाढीको जोखिममा छन् । वातावरणीय प्रभाव अध्ययनबिनाका निर्माण गतिविधिले झनै जोखिम बढेको छ । तर जोखिम न्यूनीकरणका लागि पालिकाहरूले नै पहल थाल्नुपर्नेमा कार्ययोजनासमेत बनाउन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेको छ । ‘पालिकाहरूले स्थानीय अवस्थाको यकिन गर्दै विस्तृत योजना नबनाएसम्म जिल्ला तहबाट मात्र बनाएको कार्ययोजना पर्याप्त हुँदैन,’ प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘विज्ञ समावेश गरेर सम्भावित क्षति कम गर्ने गरी कार्ययोजना बनाउन आवश्यक छ ।’ पालिकाहरूले सम्भावित क्षति हुन सक्ने स्थानको अध्ययन गर्ने हो भने स्थानीय तहबाट जिल्ला, प्रदेश र केन्द्रको सहकार्यमा न्यूनीकरण, उद्धार र राहतका काम अघि बढाउन सकिने व्यवस्था छ ।

अन्य पहाडी जिल्ला भन्दा तुलनात्मक रूपमा होचा पहाड र भीरपाखा कम भएको भए तापनि इलाममा बर्सेनि पहिरो र भलबाढीले क्षति पुर्‍याउने गरेको छ । वातावरणीय अध्ययनबिनाका पूर्वाधार विकास, वन क्षेत्र विनाश, कमजोर भू–बनोट, चुरे दोहोन, अव्यवस्थित बसोबासलगायतका कारण जिल्लामा क्षतिको क्रम बढ्ने गरेको छ । तर क्षति न्यूनीकरण, उद्धार र राहतका लागि आवश्यक तयारी भने देखिँदैन ।

विपद् जोखिम न्यूनीकरणका लागि जिल्लामा बनाइएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लामा पहिरोका कारण ३ सय ३८ परिवारका १ हजार ६ सय ९० जना र भलबाढीका कारण १ हजार १ सय ४० परिवारका सदस्यहरूलाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने औंल्याइएको छ । जिल्लाका उच्च पहाडी र मध्य क्षेत्रमा पहिरोको जोखिम उच्च छ भने दक्षिणी चुरे आसपासको क्षेत्र भलबाढी र कटानको समस्याबाट प्रताडित हुने गरेको छ ।

पछिल्लो समयमा ३ तहकै सरकारले वडा तहसम्म सडक, सिँचाइ, भवन निर्माणलगायत पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेका छन् तर यसबाट उत्पन्न हुने पहिरोजन्य प्रकोपको नियन्त्रणलाई ध्यान नदिँदा समस्या चुलिँदै गएको देखिएको छ । मुख्यगरी ठूला निर्माण औजारको प्रयोग बढेकाले जमिन भित्रसम्म हल्लिने हुँदा कल्पना नगरिएका क्षेत्रमा पनि पहिरो जाने गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विपत न्यूनीकरण, व्यवस्थापन, राहतजस्ता कार्यमा धेरै अधिकार पालिकाहरूलाई दिएको छ । तर यहाँका पालिकाहरूले यससम्बन्धी ठोस कार्यक्रम ल्याउन सकेका छैनन् । जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, गाउँपालिका र नगरपालिकामा प्रमुखको र वडामा वडाध्यक्षको अध्यक्षतामा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रहने व्यवस्था छ ।

जिल्लाका माङसेवुङको बाँझो र इभाङ, रोङको कोल्बुङ, शान्तिपुर, चुलाचुलीको साक्फारा फुङनाम क्षेत्र, देउमाईको धुसेनी, माइनगरपालिकाको चिसापानी र इलाम नगरपालिकाको साङरुम्बालगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् । माई नगरपालिकाको दानाबारी, महमाई र चुलाचुली गाउँपालिका बाढीको चपेटामा छन् । हरेक वर्ष यी क्षेत्रमा जाने पहिरो र बाढीका कारण धनजनको ठूलो क्षति गर्ने गरेको छ । केही वर्षदेखिको पहिरोका कारण रोङको ट्युरेमा १३ परिवार विस्थापित छन् । उनीहरूलाई पालिकाले यो आर्थिक वर्षमा पनि प्रतिघर १ लाखका दरले राहत प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

‘ट्युरेसहित रम्याङ र चुरे क्षेत्र जोखिममा रहेकाले न्यूनीकरणका प्रयासहरू जारी छन्,’ गाउँपालिका अध्यक्ष शमशेर राईले भने, ‘पालिकाको जोखिम हरेर नै यसअघि स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति निर्माण गरेर काम अघि बढाएका छौं ।’

साक्फाराको फुङनाम क्षेत्रमा रहेका पहिरोले त्यस क्षेत्रको ठूलो बस्ती नै जोखिममा पर्दै गएको छ । मावा खोला र मोरङसँग सीमा रहेको रमिते खोला आसपासका पहिरो त्यस क्षेत्रका बासिन्दाका लागि जोखिम बन्दै गएको स्थानीय सन्त श्रेष्ठले बताए ।

बाँझोको लारुम्बा धार्मिक क्षेत्रको बस्ती पनि पहिरोले पिरोल्ने क्षेत्रमा पर्छ । वर्षौंदेखि यो क्षेत्रमा पहिरोको खतरा छ । चुरे क्षेत्रमा पर्ने माई नगरपालिकाको दानाबारी र महमाईमा माईखोला, मुसेखोला, गरुवा, गँगटे, कालीखोला, थाक्ले, धोबीखोलालगायत बर्खायाममा उर्लने खोलाले स्थानीयको ठूलो क्षति पुर्याउदै आएको छ ।

नगरपालिकाको शुक्रवार बजार क्षेत्र पनि डुवानको चपेटामा बर्सेनि पर्ने क्षेत्र हो । ‘नगरपालिकाका अधिकांश क्षेत्र बाढीको जोखिममा पर्ने भएकाले प्राथमिकतामा राखिएको छ,’ नगरपालिकाका प्रशासकीय अधिकृत नवीन पौडेलले भने, ‘चुरेको कम्जोर भूगोल माथि पहाडबाट उर्लेर आउने खोलाका कारण डुवान र कटान हुने गरेको छ ।’ चुलाचुली गाउँपालिकामा चाँजो, विदुवा र रतुवाखोलाले बर्सेनि क्षति पुर्याउने गरेको छ । साविक चुलाचुलीको अधिकांश क्षेत्र चुरे एरियामा पर्ने भएकाले पनि यसक्षेत्रमा वर्षायाममा डुवान र कटानको समस्या हुने गरेको छ ।

मेची राजमार्गलगायत ग्रामीण सडकमा पनि हरेक वर्ष पहिरोले यातायात अवरुद्ध हुने गर्छ । राजमार्गको कोल्वुङ र गोलाखर्क खण्डमा सडक दबिने समस्या बर्सेनि बढ्दै छ । जोखिममा परेका यी गाविसहरूमा प्रकोप परेमा कति मानिसहरू प्रभावित हुन्छन् भन्ने तथ्यांक संकलन गरेर जोखिम कम गर्दै उद्धार राहतलाई प्रभावकारी वनाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षदेखि इलामको सन्दकपुर ४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि गाउँ नै जोखिम परेको भन्दै स्थानीय चिन्तित छन् । पहिरो शुरु भएपछि त्यहाँ सञ्चालनमा रहेको पंचकन्या माइ हाइड्रोपावरको सर्च टेंक र करिव चार सय मिटर पेनस्टक पाइपलाइनमा क्षति पुगेको थियो ।

पञ्चकन्या माइ हाइड्रो पावरको सर्च ट्यांकी र सुरुङमार्गको आउटलेट देखि करिव चार सय मिटरको भाग पहिरोको उच्च जोखिममा परेको स्थानीयको भनाई छ । १४ घर परिवार प्रत्यक्ष प्रभावित छन् । यता इलाम नगरपालिकाको राजदुवाली खण्डमा मेचीराजमार्ग बर्सेनि दविने गरेको छ । यो क्षेत्रमा बर्सेनि ठूलो रकम खर्चने गरे पनि जमिन भासिएकाले राजमार्गकै विकल्प खोज्नु पर्ने अवस्था आउन सक्ने सरोकारवालाहरू बताउँछन् । पुवाखोला जलविद्युत आयोजनाका कारण सुरुङलगायत संरचनावाट पानी सिपेज भएर राजमार्ग यसरी धस्सिने गरेको आशंका पनि धेरैले गर्ने गरेका छन् । यो क्षेत्रको भौगोलिक अध्ययन गरेर समस्या पहिचान नगरे दर्जनौ घर जोखिममा पर्ने अवस्था छ ।

प्रकाशित : श्रावण १८, २०७८ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×