खोप लगाउन अनलाइन दर्ता अनिवार्य- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप लगाउन अनलाइन दर्ता अनिवार्य

विदेश जाँदा खोप लगाएको प्रमाण चाहिएपछि अनलाइन रेकर्ड सहज हुने
घनश्याम खड्का

म्याग्दी — कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई बेनी नगरपालिकाले पूर्ण विद्युतीय बनाउने भएको छ । अब खोप लगाउन चाहने १८ वर्ष उमेरमाथिका नागरिकले अनिवार्य अनलाइन दर्ता गरेको हुनुपर्नेछ । 

विश्व स्वास्थ्य संगठन/यूएनडीपीको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशमा नमुनाका रूपमा बेनीमा खोप कार्यक्रमलाई पूर्ण विद्युतीय बनाउन लागेको हो ।

‘खोपको रेकर्डिङ र रिपोर्टिङ सिस्टमलाई व्यवस्थित गर्न डिजिटलाइजेसन थालेका हौं’ स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य तथा सूचना व्यवस्थापनका सदस्य सचिव दिवाकर सापकोटाले भने, ‘अहिले नमुनाका रूपमा महानगर, उपमहानगर, नगर र गाउँपालिका गरी सात प्रदेश समेटेर सात स्थानीय तहमा विद्युतीय बनाउन लागेका हौं । सबै स्थानीय तहमा लागू हुनेछ ।’

पूर्ण विद्युतीय गराउन हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी अनलाइन फारम भर्न लगाउने र नसक्नेको आफैंले अनलाइन फाराम भर्दिने व्यवस्था मिलाइएको छ । यसअघि खोप लगाइसकेकाको अभिलेख पनि खोपको विद्युतीय अभिलेखमा प्रविष्ट गराइने भएको छ । प्रिअनलाइन फाराम भरेपछि लाभग्राहीले एउटा कोड नम्बर पाउने छन् । सरकारले उमेर समूह अनुसार गराउने अभियानमा खोप लगाउन आउँदा सोही कोड नम्बर लिएर आउनुपर्छ । विश्वभरका देशले पर्यटक, कामदार– लाई अनिवार्य खोप लगाएको प्रमाण माग्न थालेपछि खोपको अनलाइन रेकर्डले अध्यागमनमा पनि सहज हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘खोप अभियानमा लक्षित समूहले भन्दा अन्यले खोप लगाउने गरेको गुनासा आएका छन् । खोपको दुरुपयोग भएकोले पनि खोपको रेकर्ड र रिपोर्टिङलाई पूर्ण विद्युतीय बनाउन बनाउन आवश्यक छ’ विश्व स्वास्थ्य संगठनका डा.रामु शर्माले भने, ‘पूर्ण विद्युतीयपछि विदेश जाँदा अध्यागमन र विश्वभर जहाँ गए पनि आफ्नो युनिक कोड नम्बर देखाए पनि सहज हुनेछ ।’

प्रकाशित : श्रावण १७, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय अवरोधले ४ वर्षदेखि पुल उपयोगविहीन

नेपाल र भारतीय पक्षबीच कुलोमा विवाद हुँदा पुल जोड्ने एप्रोच सडक बनेन
शंकर आचार्य

पर्सा — भारतीय पक्षले अवरोध गर्दा निर्माण भएको करिब ४ बर्षमा पनि वीरगन्ज–ठोरी हुलाकी सडक खण्डको ठुटे खोलाको पुल उपयोगमा आउन सकेको छैन ।

पर्साको ठोरीस्थित ठुटे खोलाको पुल । फाइल तस्बिर : कान्तिपुर

ठोरी गाउँपालिका–२ र ३ को सिमानामा पर्ने उक्त पुलको पूर्वतर्फ एप्रोच सडक बन्न नसक्दा प्रयोग हुन नसकेको हो । कुलोको विवादका कारण भारतीयले एप्रोच सडक निर्माणमा अवरोध गरेका छन् ।

भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौंदेखि २ वटा कुलोबाट सिँचाइ गर्दै आएका छन् । ३ वटा कुलोमध्ये एउटा मात्र नेपाली पक्षले प्रयोग गर्छन् । भारततर्फको कुलोमा बढी र नेपालको कुलोमा कम पानी प्रवाह हुन्छ । स्थानीयका अनुसार २०२१ सालमा यसरी कुलो बनाइएको र हालसम्म यसैगरी पानी प्रयोग भइरहेको छ । स्थानीय हेम चापागाईंका अनुसार हाल खोलामा निर्मित तीनवटै कुलो बन्द छन् । कुलो उपयोग नभएकाले सवारीसाधन डाइभर्सनबाट पुलमा चढेर वारपार गर्छर्न् ।

स्थानीय जनप्रतिनिधि ठुटे खोलाबाट अन्यायपूर्ण तरिकाले कुलो बनाएर भारतमा बढी पानी लगिएकाले हालको कुलोलाई निरन्तरता नदिने अडानमा छन् । सीमापारि भिखनाठोरीदेखि सहोदरासम्मका भारतीय नागरिक तथा त्यहाँका जनप्रतिनिधिले भने हालकै अवस्थाको कुलोलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । उनीहरूले कुलोलाई सहज रूपले बग्न दिन पुलको पूर्वतर्फ कल्भर्ट निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् ।

गत वर्ष पहिलो लकडाउनको समयमा ठेकेदार कम्पनीले एप्रोच सडक बनाउन खोज्दा भारतीय सुरक्षा फौज एसएसबीका जवान आएर काम रोकेका थिए । विवादकै कारण ठेकेदार कम्पनी बानियाँ/कालिका कन्स्ट्रक्सनले वैशाखमा एप्रोच सडकको काम नै पूरा नगरी हुलाकी सडक हस्तान्तरण गरेको थियो । पुल निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न सरकारको निर्णय कुरेको थियो । तर, यो विवाद समाधान नभएपछि काम रोकेको छ । उसले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा यो पुल निर्माणको ठेक्का पाएको हो । ४ वटा स्पान रहेको १ सय २ मिटर लामो पुल ७.२ मिटर चौडा छ ।

नेपाल–भारत सीमा सर्वेक्षण टोलीले ४ वर्षअघि ठोरी क्षेत्रको सीमा विवाद टुंगो लगाएसँगै पुल निर्माणको काम सम्पन्न भएको थियो । यसअघि भारतीय सीमा सुरक्षा बल एसएसबीले पुल निर्माण गर्न खोजिएको भूभाग भारतमा परेको दाबी गर्दै पुल निर्माणको काममा अवरोध गरेको थियो ।

स्थानीय प्रकाश खनालले हुलाकी सडक बनेपछि पुल नबन्दा प्रयोगविहीन भएको बताए । ‘हुलाकी सडक त बन्यो । तर ठुटे खोलाको पुल उपयोग गर्न नपाउँदा हर्ष न विस्मात्को अवस्था छ,’ उनले भने, ‘ठोरी र ठोरीवासीका लागि कसैले सोचिदिएन, चिन्ता गरिदिएन, ठोरी अझै पनि उपेक्षाको सिकार छ ।’ हुलाकी सडक सञ्चालन भए ठोरीदेखि सदरमुकाम वीरगन्ज र चितवनसँग सोझो सम्पर्क हुनेछ ।

बानियाँ/कालिका जेभीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसँग समेत पटकपटक बैठक तथा छलफल गरे पनि समस्या समाधान हुन नसकेको बताए । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले आफूले एकपटक स्थलगत निरीक्षण गरेर स्थानीयसँग छलफल गरेको बताए । ‘त्यहाँ सशस्त्र प्रहरीले पनि विवाद समाधानको प्रयास गरेको थियो । तर ठोस नतिजा आउन सकेको छैन,’ उनले भने, ‘समस्या समाधानका लागि प्रयास गर्नेछु ।’

प्रकाशित : श्रावण १७, २०७८ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×