१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गण्डकी प्रदेशमा आयात प्रतिस्थापन गर्ने योजना छ : मन्त्री कँडेल

प्रकाश बराल

बागलुङ — गण्डकी प्रदेशका पर्यटनमन्त्री मणीभद्र शर्मा कँडेलले सबै व्यवसायीलाई खोप लगाएर पर्यटन, उद्योग र व्यवसाय पूर्ववत् अवस्थामा संचालन गर्ने बताएका छन् । उनले गण्डकी प्रदेशमा आयात प्रतिस्थापन गर्ने योजनासमेत सुनाए ।

गण्डकी प्रदेशमा आयात प्रतिस्थापन गर्ने योजना छ : मन्त्री कँडेल

कृषि व्यवसायलाई नै पर्यटनसँग जोडेर लैजाने कार्यक्रम बनेको भन्दै कोभिड नियन्त्रण पहिलो चुनौती भएको मन्त्री कँडेलले बताए । मन्त्री कँडेलले गण्डकी प्रदेशको पर्यटन व्यवसाय संचालन गर्न सक्दा देशकै आर्थिक समृद्धि आउने बताए ।

शनिबार मन्त्री कँडेललाई बागलुङ उद्योग वाणिज्य संघसहित धार्मिक तथा पर्यटन सम्बद्ध संस्था, सहकारी र सबै प्रकारका व्यवसायीले भेटेर कोरोनाले व्यवसायमा परेको असरबारे तथ्यांक पेस गरेका थिए । खोप लगाउन सकेमा व्यवसाय संचालनमा सहज हुने भन्दै त्यसले कर संकलन, राजस्व वृद्धि र आम उपभोक्ताको चाहना पनि पूरा हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

शनिबारै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढालाई पनि सरोकारवालाले भेटेर कृषि व्यवसायमा लगानी बढाउनुपर्ने, सहकारीकर्मीलाई खोप लगाउनु पर्ने तथा आर्थिक विकासको मेरुदण्डलाई आत्मसाथ गर्नुपर्ने माग राखेका थिए । बुढाले शनिबारै कृषि ज्ञान केन्द्र बागलुङको निरीक्षण पनि गरे । बागलुङ नगरपालिकाले तत्कालीन कृषि विकास कार्यालय कब्जा गरेकोले केन्द्र राख्न नपाएको समेत केन्द्रका कर्मचारीको गुनासो थियो ।

दुवै मन्त्रीले एउटै मंचमा बसेर कृषिजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाएर आयात प्रतिस्थापन गर्ने, पर्यटक भित्र्याउन छिटो खोप पूरा गर्ने र स्थानीय बजार प्रवर्द्धनमा ध्यान दिने बताए । शनिबार ५ राजनीतिक गठबन्धनको संयुक्त र आफ्ना दलका छुट्टाछुट्टै स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि उनीहरु सहभागी थिए ।


प्रकाशित : श्रावण १६, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?