१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

साबिककै धारमा फर्काइयो मर्स्याङ्दी

आश गुरुङ

लमजुङ — मनाङ सदरमुकाम चामेस्थित लोकप्रिय माविको भवन भत्काउने गरी धार परिवर्तन गरेको मर्स्याङ्दी नदी यथास्थितिमा बग्न थालेको छ । नदी आफ्नै धारमा बग्न थालेपछि यसबाट हुन सक्ने थप जोखिम तत्कालका लागि टरेको छ ।

साबिककै धारमा फर्काइयो मर्स्याङ्दी

अविरल वर्षापछि मर्स्याङ्दीमा जेठ ३१ यता आएको बाढीले पारिपट्टिका घर डुबाउनुका साथै ठाडोखोलाले हुलाक कार्यालयसहित होटल तथा आवास बगायो । सदरमुकाम चामेमा बजार क्षेत्र छियाछिया बनायो । तल्लो क्षेत्रको धारापानी बजार बगायो भने तालगाउँ पूरै डुबायो । चामेमा माथिल्लो मनाङ आउजाउका लागि निर्मित बेलिब्रिजले नदी थुनेपछि नदीले पुलको दायाँबायाँ च्यापेको थियो । पुलमुनिबाट पानी बगाउने भन्दै खोस्रिन लगिएको एक्स्काभेटर बाढीमै फसेको थियो ।

मध्य असारबाट बाढी चामेबजारतर्फ आउन थालेपछि लोकप्रिय माविको भवन, झोलुंगे पुलसमेत बगायो । त्यसपछि माथिल्लो मनाङको सिंगो मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिका–५ सँग सडक सम्पर्क टुटेको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार सडक सबै बगाएपछि चामेमा अन्यत्रबाट मेसिनरी सामग्री लैजान सकिएको थिएन । भ्राताङबाट एग्रो मनाङको एक्स्काभेटरले आफ्नो ट्रयाक बनाउँदै बुधबार चामे आइपुगेपछि बिहीबारबाट बेलिब्रिजमा अड्किएको ठूल्ठूला काठ, मुढा, स्याउला, ढुंगामाटो झिक्न थालेको हो । ‘स्याउ फार्मबाट ल्याइएको एक्स्काभेटरले यति काम गर्‍यो । नत्र अरु कुनै उपाय थिएन’ उनले भने । सेना र प्रहरीले काठ काट्ने ठूलोखाले ‘स’ लगेर पुलमै काटेका सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका एसपी सूर्यप्रसाद आचार्यले बताए । ‘हामी पहिलेदेखि नै खटेका थियौं । एक्स्काभेटरबिना काम थिएन । एक्स्काभेटरले बल्ल पानी खोल्यौं,’ उनले भने ।

‘एक्स्काभेटरले पुलमा अड्किएको ठूल्ठूला काठहरु तान्ने र प्रहरी साथै सेनाले माथिबाट काठहरु काट्ने र खोतल्ने गरेपछि पानी आफ्नै धारमा बग्न थाल्यो’ उनले भने । सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीले लामो समयको प्रयासपछि मर्स्याङ्दीलाई आफ्नै धारतर्फ बगाउन सफल भएको बताए । चामे–५ का अध्यक्ष कैले गुरुङका अनुसार मर्स्याङ्दी नदी पुलमुनिबाट बग्न थालेपछि तत्काललाई जोखिम छैन । बाढीले यसअघि जमेको बलौटेलाई पनि बगाएर लगेको छ । ‘हामी आत्तिएका थियौं । जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक सबै खटियौं । बल्ल आज सफलता मिलेको छ । पुलमुनिबाट पानी बग्न थालेपछि अब ढुक्क भइयो,’ उनले भने ।

प्रजिअ लामिछानेका अनुसार ९५ प्रतिशत पानी बेलिब्रिजमुनिबाट बग्न थालेको छ । प्राविधिक परीक्षण गरेर मात्रै सवारी गुडाउने योजना रहेको पनि उनले सुनाए । उनका अनुसार चामेदेखि तिमाङसम्मको बाटो खुलेको छ । अब विस्तारै भ्राताङसम्मको बाटो खुल्नेछ ।

प्रकाशित : श्रावण १६, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?