३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जिल्लाभर चोरी आतंक

अगन्धर तिवारी

पर्वत — जिल्लामा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् । साउन ६ मा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका अमृत गुरुङ, विश्वास गुरुङ लगायत ६ स्थानीयका घरमा एकैपटक चोरी भयो ।

त्यसपछि लगातार रुपमा आर्थरसहित छिमेकी खौलालाँकुरी, ठूलीपोखरी, फलेबासको थापाठाना, शंकरपोखरी, महाशिलाको भोक्सिङलगायतका गाउँमा दैनिकजसो चोरीका घटना भइरहेका छन् । चोरी आतंक बढेपछि स्थानीय त्रसित छन् ।

आर्थरमा अमृतको घरबाट एकै रातमा साढे १३ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको थियो । सोहीरात भीमबहादुर क्षेत्रीको पसलबाट ५५ सय रुपैयाँ चोरी भयो । स्थानीयले चोरी भएकोबारे ठूलीपोखरी प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालयसम्म खबर गरे । तर, प्रहरीले चोर पत्ता लगाएर कारबाही गर्न नसक्दै त्यसयताका हरेक दिन जिल्लाका तीनवटा पालिकामा दैनिक चोरीका घटना भइरहेको छ । यतिसम्म कि चोरको समुहले कतिपय विद्यालय, वडा कार्यालयलगायतका सरकारी तथा सार्वजनिक संरचनामा समेत पसेर त्यहाँका महत्त्वपूर्ण दस्तावेजमा क्षति पुर्‍याएको छ ।

साउन ६ गते राति गाउँका घरहरू चोरी भएको भोलिपल्ट स्थानीय पञ्चकोसी मावि र देवी मन्दिरमा समेत तोडफोड र चोरी गरेको प्रहरीले जनाएको छ । यस्तै गत शनिबार राति महाशिला–२ भोक्सिङको वडा कार्यालय भवन तोडफोड भयो । स्थानीय रामप्रसाद शर्माको पसलबाट नगद २५ हजार, ख्यामलाल पौडेलको पसलबाट १६ हजार र तारा गुरुङको पसलबाट ६ हजार नगद र खाद्यान्नसमेत चोरी भयो । चोरी भएको बारे स्थानीयले लुंखु प्रहरी चौकी हुँदै जिल्लासम्म खबर गरे । अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । ‘चोरी भएको खबर पुलिसलाई दिएको साता दिन बित्यो,’ ख्यामलालले भने, ‘चोर पक्रेको खबर आउनुको सट्टा अरू गाउँमा पनि चोरेका खबर आइरहेका छन् । हामी रातभर सुत्न सकेका छैनौं ।’

केही दिनयता फलेवास नगरपालिकाका विभिन्न स्थानमा पनि चोरी हुँदै आएको छ । ‘हामी रातभर सुतेका छैनौं,’ फलेबास–३ का नरबहादुर क्षत्रीले भने, ‘रातभर कहिले कता कहिले कता चोरी भयो भन्ने खबर आइरहेको छ ।’ दैनिकजसो चोरीका घटना भइरहेपछि फलेबास–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले ३ दिनयता दैनिक कटुवाल घोकाएर स्थानीयलाई सचेत गराएका छन् । ‘सबैतिर चोरी भयो । प्रहरीले पक्राउ गर्न सकेन भनेपछि हामीले गाउँलेलाई सचेत गराउनुपर्‍यो भनेर कटुवाल घोकाइरहेका छौं,’ कार्कीले भने ।

फलेबास–९ भंगरामा चोरी गरेको समूहले बुधबारदेखि शंकरपोखरीमा चोर्ने हल्ला चलाएपछि मंगलबारदेखि नै दिनहुँ कटुवाल घोकाएर सर्वसाधारणलाई सचेत गराइएको उनले बताए । शंकरपोखरीवासीले चोरीमा संलग्नलाई पत्ता लगाउन सक्रिय समूह गठन गरेका छन् । निरन्तर घटना भएको २ साता बितिसक्दा पनि पर्वत प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन ।

चोरी र तोडफोडको घटना बढेपछि विभिन्न पालिकामा युवा, प्रहरीलगायतले समूह बनाएर गस्ती गर्न थालेका छन् । शंकरपोखरी, भंगरा, थापाठाना र आर्थरवासीले दैनिकजसो रातभर गस्ती गर्न थालेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले चोरीका घटना एउटै प्रकृतिको भएकाले चोरी गर्ने समूह एउटै हुन सक्ने बताए । उनले चोरी गर्नेको सूक्ष्म तवरले अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : श्रावण १५, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?