१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाख्राबाट मनग्य आम्दानी

सम्झना रसाइली

तनहुँ — बन्दीपुरकी ५३ वर्षीया देवीमाया आले तीन दशकदेखि बाख्रापालन गर्दै आएकी छन् । पहिला निर्वाहमुखी हिसाबले बाख्रा पाल्ने उनी अहिले भने व्यावसायिक रूपमा थालेकी छन् । यसअघि बाख्रासँगै गाईभैंसी पनि थिए । अहिले भने १४ वटा बाख्रा मात्रै छन् ।

बाख्राबाट मनग्य आम्दानी

‘३० वर्षदेखि बाख्रा पाल्दै आए पनि अहिले अरू छाडेर बाख्रा मात्रै पालेको छु,’ उनले भनिन्, ‘घर खर्चदेखि ३ छोराछोरीको पढाइ बाख्राकै आम्दानीबाट चलिरहेको छ । आम्दानीबाट सन्तुष्ट छु ।’

उनले एउटै खसीबोका ५० देखि ५५ हजार रुपैयाँसम्म बिक्री गरेको बताउँछिन् । थोरै लगानी र मिहिनेतले राम्रो आम्दानी हुने उनको अनुभव छ । श्रीमान् डुम्रेबजारवरपर जिप चलाउँछन् । अब त्यो छाडेर बाख्रा पालनमा ल्याउने योजना उनको छ ।

बन्दीपुर–१ की सावित्री दवाडीले पनि १५ बाख्रा पाल्दै आएकी छन् । उनले भनिन्, ‘मैले पहिलेदेखि नै बाख्रा पाल्थे । वर्षमै ५/६ वटा खसीबोका बेचेर छोराछोरीको पढाइ र घरखर्च टर्थ्यो । अहिले व्यावसायिक बाख्रापालनका लागि आधुनिक खोर र घाँससमेत रोपेको छु ।

१७ वर्ष विदेश बसेर घर फर्किएका श्रीमान्ले पनि यतिबेला उनलाई साथ दिएका छन् । ‘अन्य पेसा व्यवसाय केही छैन । बाबुबाजेले गर्दै आएको बाख्रापालनलाई निरन्तरता दिऊ भनेर श्रीमान् श्रीमती मिलेर व्यावसायिक रूपमा अगाडि बढाएका छौं,’ उनले भनिन् ।

बन्दीपुर गाउँपालिकाका अन्य युवा पनि अहिले बाख्रापालन व्यवसायमा आकर्षित भएका छन् । यसमा अधिकांश वैदेशिक रोजगारबाट फर्किएका हुन् । पढाइ तथा रोजगारीको सिलसिलामा २० वर्ष नर्वेमा बिताएका बन्दीपुर–१ नाहालाका ४२ वर्षीय मदनकृष्ण अधिकारी अहिले पुर्ख्यौली थलोमा बाख्रा पाल्न सुरु गरेका छन् । करिब ५० लाख रुपैयाँ लगानी गरेको बताउने अधिकारीले १ सय बढी बाख्रा पाल्दै आएका छन् । ‘घाँसमा आधारित बाख्रापालन गर्न १ सय २५ रोपनीमा घाँसका बिरुवा, बाख्राको खोर तयारी गरेको छु,’ उनले भने, ‘मेरो लक्ष्य ५ सय बढी बाख्रा पाल्नेछ । यस क्षेत्रलाई बाख्राको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना हो । अहिले ६ जनालाई रोजगारीसमेत दिएको छु ।’

अर्का युवा कृष्णप्रसाद पन्थ पनि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनले पनि व्यावसायिक रूपमा बाख्रा पाल्न थालेका छन् । ‘धेरै युवा रोजगारीको सिलसिलामा बिदेसिनुपरेको छ र आफ्नो मिहिनेतअनुसारको आम्दानी हुन नसक्दा यही फर्किएर बेरोजगार बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सानो लगानी र थोरै मिहिनेतमै स्वदेशमै राम्रो आम्दानी हुन्छ भन्ने उदाहरण दिनका लागि पनि हामी युवा संगठित भएर गाउँमै कृषि अभियान चलाएका छौं ।’

गाउँपालिकाले यस वडालाई बाख्राको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतबाट खोर निर्माणका लागि ४२ कृषकलाई २०/२० हजार रुपैयाँका दरले अनुदान वितरण गरेको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । उनले भने, ‘यहाँका कृषकले बाख्रा पालिरहनुभएको छ । तर, राम्रो खोर नहुनाले विभिन्न समस्या आइरहेको हुँदा गाउँपालिकाको र कृषकको ५०/५० प्रतिशत लागत सहभागितामा खोर निर्माणका लागि सहयोग गरिएको हो ।’ यस क्षेत्रलाई ५ वर्षभित्र स्थानीय (खरी) तथा बोयर जातका बाख्रा उत्पादन केन्द्र बनाउने उद्देश्य रहेको वडाध्यक्ष पोख्रेलले बताए ।

प्रकाशित : श्रावण १५, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?