१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सडकमै कोदो रोपेर विरोध

हरिराम उप्रेती

गोरखा — सडक स्तरोन्नतीमा बेवास्ता गरेको भन्दै स्थानीयले सडकमै कोदो रोपेर विरोध जनाएका छन् । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत बिहीबार ढुंगागाढेमा स्थानीय र जनप्रतिनिधिले हिलाम्मे सडकमा कोदो रोपेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

सडकमै कोदो रोपेर विरोध

बर्खा लागेसँगै उक्त सडक अन्तर्गत ढुंगागाढे, आहाले र बराह क्षेत्रको सडक हिलाम्मे छ । तर सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदारले कोभिड र बर्खाको बहाना बनाउँदै सडकको कामलाई निरन्तरता नदिएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।

बर्खा लागेसँगै आरुघाट लगायतका उत्तरी क्षेत्र यात्रा गर्ने यात्रुको गाडी फसेर दिनहुँजसो बिचल्ली हुने गरेको गोरखा नगरपालिका–४ का वडा अध्यक्ष खोपबहादुर अधिकारीले बताए । ‘हिलो भएको ठाउँमा ग्राभेल मात्र हालेर भएपनि गाडी पास हुने बनाउनुपर्‍यो,’ उनले भने, ‘बिरामी बोकेर आएको एम्बुलेन्स पनि सडक पार गर्न सक्दैन । सधैं धकेलेर सडक पार गराएर उपाय पनि लागेन ।’

९ करोड ८६ लाख ७० हजारको लागतमा अस्पतालमार्ग–फिनाम सडकखण्डको ४.२ किलोमिटर सडक कालोपत्रेको जिम्मा बानियाँ निर्माण सेवाले पाएको छ । २०७७ असोज ७ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले २०७९ भदौभित्र कालोपत्रे सक्नुपर्छ । तर सडक निर्माणमा एक महिना अघिदेखि ठेकेदारले कामदार नै नपठाएको स्थानीयको आरोप छ ।

ग्राभेल राखेर सडकमा गाडी हिँड्न मिल्ने बनाउन ठेकेदारलाई निर्देशन गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले बताए । ‘दुई वर्षको ठेक्का हो । ठेकेदारले काम गर्दैछ,’ उनले भने, ‘तत्कालका लागि ग्राभेल राखेर गाडी पास हुने बनाउँछौं ।’

प्रकाशित : श्रावण १४, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?