बेथितिपछि खोप कार्यक्रम स्थगित

मापदण्डले तोकेभन्दा फरक मानिस आउन थालेपछि अस्तव्यस्त
प्रकाश बराल

बागलुङ — गतसाता सदरमुकामको कालिका कन्या माविमा शिक्षकका लागि कोरोनाविरुद्धको खोप लगाउन बोलाइयो । त्यतिबेला शिक्षकभन्दा व्यापारी, राजनीतिक दलका कार्यकर्ता र पहुँचवालाका परिवारका सदस्य बढी पुगे ।

बेथितिपछि खोप कार्यक्रम स्थगित

एकअर्कामा पोल खोलाखोल गर्दा खोप केन्द्रमा होहल्ला बढ्यो । खोप कार्यक्रम नै स्थगित भयो । त्यसपछि अर्को दिन व्यापारीका लागि तोकिएको थियो । हल्ला, भीड तथा अस्तव्यस्त हुने देखिएपछि नगरपालिकाले खोप कार्यक्रम स्थगित गरायो ।

‘मापदण्डले तोकेभन्दा फरक मानिस आउन थालेपछि कार्यक्रम स्थगित गर्नुपरेको हो,’ बागलुङ नगर स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले भने, ‘मापदण्ड कडाइ भएपछि फेरि सञ्चालनमा आउँछ ।’ जोखिममा देखिएका व्यापारीलाई खोप लगाउने कार्यक्रममा छोराछोरीसमेत लिएर आउन थालेपछि रोक्नुपरेको उनले बताए । यति बेला जिल्लाका सबै पालिका तहमा खोप कार्यक्रम रोकिएको छ ।

खोप समन्वय समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर खोप माग्नेहरू दैनिक पुग्छन् । उनीहरूले आफ्नो तर्कले जोखिममा परेको दाबी गरिहन्छन् । ‘अझै पनि १५ हजारबढी खोप लगाउन बाँकी छन् तर मापदण्ड मिचेर जान खोजियो भने समस्या आउँछ,’ प्रजिअ शिवकुमार कार्कीले भने, ‘यो अवस्था नआओस् भनेर खोप लगाउने कामै रोक्नुपरेको छ ।’ २ सय खोप लगाइदिएमा जिल्लाका होटल सञ्चालन गर्न सकिने भए पनि दिन नसकेको उनले बताए ।

होटल व्यवसायीले जोखिममा काम गर्नुपरेको गुनासो गरेका थिए । ‘पाहुना आउँछन्, नराखौं भने उनीहरूलाई दुःख, राखौं भने हामीले खोप पाएका छैनौं,’ होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘साता दिनभित्र खोप नपाए होटलको चाबी बुझाउँछौं ।’ उनले प्रमुख जिल्ला अधिकारीले जोखिम मोलेर भए पनि स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । तोकिएको मापदण्ड पालना गरेमा जिल्ला भित्रिएको खोपले ५० वर्षभन्दा माथिका सबैलाई पुग्ने खनाल बताउँछन् ।

‘हामीले प्रत्येक वडाको लक्षित संख्या निकालेर खोप ल्याएका हौं तर बेथिति भयो भने पुग्दैन,’ उनले भने, ‘प्राथमिकताको आधारमा खोप लगाउन पाइयो भने डेढ/दुई महिनामा जिल्लाका सबै नगरिकलाई खोप लगाउन सकिन्छ ।’ शिक्षकलाई खोप दिन नसकेकै कारण टोलटोलका सिकाइ केन्द्र बनाउने कामसमेत रोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए ।

पसलमा बसिरहनु पर्नेलाई लगाउन खोज्दा परिवारका सबै सदस्य लिएर आएपछि खोप पुर्‍याउनै नसकिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु थापाले बताए । ‘तोकेको मानिस मात्रै आउनुभयो भने सजिलो हुन्छ, खोप पनि पुग्छ,’ उनले भने, ‘अन्यथा खोप केन्द्र कोरोना संक्रमण हुने स्थान बन्छ ।’ कतिपयले खोप पनि रोजेको लगाउन खोजेकोले अन्योल भएको उनले बताए । बागलुङमा अहिलेसम्म कोभिसिल्ड र भेरोसेल लगाइएको थियो । अपांगता भएका, विदेश जानुपर्ने र अत्यावश्यक सेवामा खटिएकालाई जोन्सन एन्ड जोन्सन लगाइएको हो ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?