कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

काठेखोलाको तथ्यांक अनलाइनमा

अब डिजिटल प्रोफाइलमार्फत मोबाइलबाटै सबै जानकारी लिन सकिने
प्रकाश बराल

बागलुङ — वैदेशिक रोजगारीले काठेखोला गाउँपालिकामा सयौं घर रित्तो छन् । धेरै स्थानीय बसाइँ सरेकाले उनीहरूका घरमा कोही भेटिँदैनन् । गाउँमा सयौं रोपनी जमिन बाँझै छ । व्यापार व्यवसाय गर्ने, पढ्ने र जागिरका लागि कतिपय बजारमा बस्छन् ।

काठेखोलाको तथ्यांक अनलाइनमा

ती सूचना अब फिल्डमा पुगेर मात्रै लिनुपर्ने बाध्यता समाप्त भएको छ । अब गाउँपालिकाले बनाएको डिजिटल प्रोफाइलमार्फत घरमै बसेर सबै जानकारी लिन सकिन्छ ।

त्यति मात्रै होइन, किसानले बनाएका फर्ममा कति पशुपन्छी पालिएका छन्, कति लगानी छ भन्नेसमेत जान्न सकिन्छ । १० वर्षमा हुने जनगणनाको तथ्यांकबाट काम गर्नुपर्ने बाध्यता पनि हटेको छ । हरेक महिना फेरिने तथ्यांक अब घरबाटै जान्न पाउने गरी तथ्यांक निरन्तर अद्यावधिक हुने गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

प्रोफाइललाई गाउँपालिका र वडा कार्यालयबाट अद्यावधिक गर्न सकिने गरी व्यवस्थापन मिलाइएको छ । वडासचिवले वडाभित्रको तथ्यांक र पञ्जीकरणसमेत अनलाइन विधिबाट अद्यावधिक गर्न सक्नेछन् । गाउँपालिकाले वडा तहको सूचना पनि थप्ने व्यवस्था मिलाएको हो । यसरी थपिने तथ्यांकमा व्यक्तिगत सूचकसमेत भर्ने व्यवस्था छ ।

परिवार संख्या, परिवारका सदस्यको नाम, उमेर, शिक्षा, स्वास्थ्यको अवस्थासमेत व्यवस्थित बनाइएको छ । घर खरले छाएको छ वा पक्की के छ त्यो तस्बिरसहित देखिन्छ । घरका सदस्यले गर्ने रोजगारी, उनीहरूको औसत कमाइ, औसत खर्च र नियमित स्रोत उल्लेख गरिएको छ । व्यक्तिगत सूचक भने सम्बन्धित व्यक्तिले चाहेको अवस्थामा मात्रै खुल्छन् । सार्वजनिक स्थल, पर्यटकीय गन्तव्य, झरना, खोला, सडक, सामुदायिक वन, पुलपुलेसा भने सबैले हेर्न मिल्नेछ । ‘हामीले स्मार्ट गाउँपालिकाको अवधारणा ल्याएका थियौं, ४ वर्षमा पूरा भयो,’ थापाले भने, ‘अब हरेक टोलको आवश्यकता तथ्यांकमा पढेर योजना तर्जुमा गर्न सकिनेछ ।’ दुई वर्षदेखिको प्रयासबाट यो प्रोफाइल तयार भएको उनले बताए । काठमाडौंको मन्त्रालयमा बस्नेले समेत यो तथ्यांक हेरेर विकास अनुदानको व्यवस्थापन गर्न सक्ने उनले बताए ।

प्राविधिक रूपमा फोरजी इन्जिनियरिङ कन्सल्टेन्सीले यो डिजिटल प्रोफाइल बनाइदिएको हो । कन्सल्टेन्सीले प्रत्येक घरमा पुगेर झन्डै ४ सय प्रश्नको उत्तर खोजेर प्रविष्टी गरेको इन्जिनियर गंगाराम रेग्मीले बताए । ‘यसमा अझै धेरै विषय छुटेका छन्, ती थप्न मिल्ने गरी व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘विद्यालयको खातामा प्रवेश गरेपछि बाँकी तथ्यांक भर्ने काम प्रधानाध्यापकलाई दिने गरी खाली छाडेका छौं ।’ स्वास्थ्य चौकीको जनशक्ति, सेवा र अवस्था, विद्यालय र कलेजको अध्ययन अध्यापन गर्न पाउने संकाय, शिक्षकको दरबन्दी विवरणजस्ता विषय वडासचिवमार्फत विद्यालयले भर्ने गरी ठाउँ खाली गरिएको उनले जनाए ।

हाल गाउँपालिकाभित्र बस्ने जनसंख्या २६ हजार १ सय ६४ छ । बसाइँ नसरेका, रोजगारी र पढाइका लागि पालिकाभन्दा बाहिर बस्ने ३ हजार ७ सय ४ छन् । उनीहरूसमेत २९ हजार ८ सय ६८ जना जनसंख्या रहेको प्रोफाइलबाट थाहा पाइन्छ । ‘जन्मेदेखि ४ वर्ष, ४ वर्षदेखि १० वर्ष र १० देखि १६ वर्षसम्मको उमेर समूहका बालबालिकाको तथ्यांक पनि नामसहित राखिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले भने, ‘साउनदेखि कति जनाले ज्येष्ठ नागरिक भत्ता पाउने अवस्थामा थपिँदै छन् भन्ने पनि देखिन्छ ।’ अपांगता भएकाको तथ्यांकसमेत छ । उक्त तथ्यांकमा परिचयपत्र लिएकाको नाम पनि राखिएको महिला तथा बालबालिका शाखाकी प्रमुख रश्मि शर्माले बताइन् । उनका अनुसार असार मसान्तसम्म २ सय ९४ जनाले अपांगता र ४० जनाले ज्येष्ठ नागरिक परिचयपत्र लिइसकेका छन् ।

यो प्रोफाइल कम्तीमा महिनाको एक पटक अद्यावधिक हुनेछ । कतिपय तथ्यांक भने दिनदिनै सूचना थप्नसमेत सकिने गरी सबै वडासचिवलाई तालिम दिइएको कार्कीले जानकारी दिए । ‘व्यक्तिगत तथ्यांक गल्ती भएको रहेछ भने पासवर्ड दिएर घरकै परिवारलाई थप्न लगाइनेछ,’ उनले भने, ‘सार्वजनिक रूपमा जानकारी नदिए पनि सेवा प्रवाहका लागि उनीहरूको तथ्यांक लिएर पालिकाले गोप्यता कायम गरिदिनेछ ।’ २५ लाख रुपैयाँमा प्रोफाइल तयार भएको हो ।

प्रकाशित : श्रावण १३, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?