कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्वास्थ्य सावधानी अपनाउन बेवास्ता

स्वास्थ्य मापदण्ड नअपनाउनेमा सर्वसाधारण मात्र होइन, नियामक निकायकै कर्मचारी, व्यवसायी, बैंकर तथा शिक्षकसमेत छन्
घनश्याम खड्का

म्याग्दी — स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भनी सचेत गराइरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन बेवास्ता गरिरहेका छन् । अधिकांश ग्रामीण भेग तथा बजार क्षेत्रमा पनि स्थानीयले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने गरेको पाइँदैन ।

स्वास्थ्य सावधानी अपनाउन बेवास्ता

गाउँबाट बजार (बेनी) झर्दा भने प्रहरीले ‘गाली गर्छ’ भन्दै मास्क लगाउने धेरै छन् । तरकारी, खाद्यान्न, औषधि, दूध डेरी, मासु पसललगायतमा हरेक दिनजसो भीडभाड देखिन्छ । स्वास्थ्य सतर्कता नअपनाउनेमा सर्वसाधारण मात्र होइन, नियामक निकायकै कर्मचारी, व्यवसायी, बैंकर तथा शिक्षकसमेत छन् । ‘उपभोक्ताको अति भीड हुने पसलका व्यापारीले समेत मास्क लगाएका हुँदैनन्, न ग्राहकलाई मास्क लगाउन भन्छन् । लापरबाही धेरै नै बढेको छ,’ बेनीकी प्रमिला थजालीले भनिन्, ‘शिक्षित, कर्मचारी, नेताहरूले पनि मास्क लगाउँदैनन्, चिया पसल वा रेस्टुरेन्टमा जमघट उस्तै हुन्छ ।’

जिल्ला प्रशासन कार्यालयले औपचारिक रूपमा सबै क्षेत्रको निषेधाज्ञा हटाइसकेको छैन । व्यावहारिक रूपमा भने शैक्षिक संस्थाबाहेक सबै क्षेत्र खुलेका छन् । आर्थिक तथा सामाजिक गतिविधिलाई सक्रिय बनाउन निषेधाज्ञा खुकुलो पारिएको भए पनि कोरोना संक्रमणको जोखिम भने हटिसकेको छैन । तर मास्क लगाउने जस्तो आधारभूत स्वास्थ्य सावधानी अपनाउनसमेत आनाकानी गर्ने बढेपछि प्रहरीले‘तपाईंको मास्क खोइ ?’ अभियान चलाएको छ । ‘स्वास्थ्य जोखिममा छ, मास्क लगाउनुस्, दूरी कायम गरिदिनुस् भन्दा पुलिसले लगाए पुग्छ झैं गर्छन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्ने कुरा लथालिंग भएको छ । मास्क लगाउन दिए पनि अलि पर पुगेर खल्तीमा घुसार्छन् । कसरी सुध्रने हामी ?’

कोरोनाको दोस्रो लहर फैलिएसँगै वैशाख २२ देखि जारी निषेधाज्ञा असार १५ पछि खुकुलो हुँदै मसान्तबाट पूर्ण रूपमा हटाइएको छ । त्यसयता संक्रमण फैलने दर उकालो लागिरहेको छ । असार अन्तिम साता जिल्लामा सक्रिय संक्रमितको संख्या ४० भन्दा कम थियो । दैनिक संक्रमण पनि ४/५ जनालाई मात्रै थियो । सोमबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या सय र दैनिक संक्रमण १५–१८ जनासम्म हुने गरेका स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बेनी–२ ज्यामरुककोट, ४ सिङ्गा तातोपानी, ५ पुलाचौर, भीरमुनि र वडा ७ र ८ रहेको बेनी बजार क्षेत्र कोरोना संक्रमणको ‘रेड जोन’ मा छन् ।

‘कोरोनाको तेस्रो लहर सुरु हुनुअघि नै संक्रमणको अवस्था भयावह हुने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सदरमुकाममा मात्र होइन, दुर्गम धवलागिरिको मुदी, मराङ क्षेत्रमा पनि संक्रमण तीव्र फैलिएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘हामी जोखिम न्यूनीकरण गर्न सूक्ष्म तहमा व्यवस्थापन गरौं भन्छौं तर अन्य निकाय तयार छैनन् ।’

प्रकाशित : श्रावण १३, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?