१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

युवा अगुवाइमा कोतघर संरक्षण

प्रकाश बराल

बागलुङ —  ऐतिहासिक गलकोट राज्यको पहिलो मुकाम ‘कोतघर’ संरक्षण अभियानमा यहाँका युवा जुटेका छन् । गलकोट नगरपालिकाले अभियानमा साथ दिएको छ । यहाँका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको संरक्षण गर्ने गरी कोतमैदान संरक्षण अभियान थालिएको हो । नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, विदेशमा बस्ने युवाले आर्थिक सहयोग गरेका छन् । 

युवा अगुवाइमा कोतघर संरक्षण


मध्यपहाडी लोकमार्गदेखि ६ किमि सडक निर्माण गरेर कोतघर पुग्ने व्यवस्था भइसकेको छ । सडकको स्तरोन्नति गर्ने योजना रहेको व्यवस्थापन समितिका सदस्य झरसिंह खत्रीले बताए । कोतघरबाट गलकोट उपत्यका, घुम्टे, दरमखोला र ताराखोलाको केही खण्ड देखिन्छ । कोतघरलाई रङरोगन र मर्मत गरिएको छ । सँगैको कालिका मन्दिर पनि मर्मत भएको छ । झन्डै सय रोपनी जमिन तारबार लगाएर संरक्षण गरिएको छ । खानेपानीको धारा निर्माण, सत्तल, विश्रामस्थल र आकर्षक पदमार्गसमेत निर्माण भइरहेको हो । पदमार्गका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको थियो । यहाँ अजंगका २ खुकुरी र २ खुँडा छन् । गलकोटे राजाले प्रयोग गरेका ३ सय वर्ष पुराना हतियारसमेत यहाँ छन् । ‘यी सबै सामान पुरातात्त्विक हुन्, त्यसैले संरक्षण योजना बनाइएको हो,’ गलकोट–३ का अध्यक्ष वीरजंग भण्डारीले भने, ‘समृद्ध गलकोटसँगै पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित संरक्षण अभियान थालिएको हो ।’

गलकोटका पहिलो राजा जितेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ । नेपाल एकीकरणपूर्व १८४४ सालसम्म यो राज्य स्वतन्त्र थियो । २०१७ सम्म गलकोट रजौटा राज्यका रूपमा चिनिन्थ्यो । २०१९ सम्म पनि बागलुङका मुख्य प्रशासनिक एकाइ गलकोटमै थिए । पछि बागलुङ बजारमा सारियो । उक्त विरासत झल्काउन कोतघर संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याएको भण्डारीले बताए । कोतघर नजिकै सहश्रधारा झरनामा क्यानोनिङको पूर्वाधार बनाइएको छ । ‘यहाँ आउने पर्यटकले घुम्ने मात्र नभई अध्ययनसमेत गर्न सक्ने बनाउँदै छौं,’ भण्डारीले भने । गण्डकी नगर विकास योजनामार्फत यहाँ ३६ लाख रुपैयाँ लगानी भइसकेको उनले बताए ।

चैतेदसैं र बडादसैंमा यहाँ ठूलो मेला लाग्छ । नित्य पूजा भने स्थानीयले गर्छन् । कोटमैदान गाउँका ५० घरले अपनत्व लिएर संरक्षण र पूजा गर्ने काम गरिरहेका छन् । यो नगर गौरवको योजनामा पनि सूचीकृत छ । ‘गौरवको योजनालाई पूर्णता दिन बर्सेनि बजेट विनियोजन हुन्छ,’ नगर प्रमुख भरत शर्मा गैरेले भने, ‘कालिका मन्दिर जीर्णोद्धार र सत्तल बनाइसकेका छौं ।’ पक्की घेराबार बनाएर कोतको इतिहाससमेत लेखेर राख्ने योजना उनले सुनाए । शिलालेख राखेर आउने पर्यटकले पढ्ने र गलकोटको इतिहास थाहा पाउने व्यवस्थाका लागि पनि तयारी गरेको भण्डारीले सुनाए ।

प्रकाशित : श्रावण १३, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?