कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सवारी उल्लंघनमा दुईपांग्रे बढी

कान्तिपुर संवाददाता

गोरखा — मादक पदार्थ सेवन गरेका कारण आर्थिक वर्ष २०७७/७८ मा ५२ सवारी चालक कारबाहीमा परेका छन् । तीमध्ये सवैभन्दा धेरै ४१ जना मोटरसाइकल चालक छन् ।

८ जना कार र ३ जना ट्र्याक्टर चालक पनि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका थिए ।

पछिल्लो ३ आर्थिक वर्षमा मादक पदार्थ सेवन गरेर २ सय ९ जना कारबाहीमा पर्दा सबैभन्दा बढी १ सय ५९ जना दुईपांग्रे चालक छन् । मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १ हजार रुपैयाँ जरिवाना गर्दै आएको छ । ‘यसअघिका आर्थिक वर्षमा मापसे गर्नेलाई १ हजार रुपैयाँ जरिवाना गरी लाइसेन्स प्वाल पाथ्यौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले भने, ‘अहिले धेरैको स्मार्ट लाइसेन्स छ, एक हजार जरिवाना गरेर यातायात व्यवस्था विभागलाई कारबाहीका बारेमा जानकारी गराउँछौँ ।’

दुईपांग्रे सवारी चालकलाई नियम पालनामा कडाइ गर्न सडकमा ट्राफिकले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । ट्रक, टिपर र ट्र्याक्टरका चालक पनि सवारी नियम उल्लंघनमा अगाडि छन् । यस्तै जथाभावी पार्किङ गर्ने सवारीलाई ‘ह्वील लक’ लगाएर कारबाही थालेको ढकालले बताए । बिहीबारबाट सुरु गरिएको उक्त अभियानअन्तर्गत जथाभावी पार्किङ गर्ने ७ सवारी कारबाहीमा परेकोमा ५ वटा मोटरसाइकल छन् ।

प्रकाशित : श्रावण ११, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?