‘भ्याक्सिन’ मा भनसुन- गण्डकी - कान्तिपुर समाचार

‘भ्याक्सिन’ मा भनसुन

जनप्रतिनिधि र कर्मचारी नै लुकाउँछन् खोप 
दीपक परियार

पोखरा — ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउन असार ३० मा पोखरा–६ बैदाममा ६ सय डोज भेरोसेल खोप पुग्यो । खोप लगाउन नाम टिपाउनेको संख्या ५ सय २७ थियो । तर १०–१२ जनाले खोप नै लगाउन पाएनन् । झन्डै ८० खोप गायब भयो ।

फाइल तस्बिर : रोयटर्स

हराएको ८० खोप जनप्रतिनिधि र कर्मचारीले लक्षित समूहबाहेकका आफन्तलाई लगाएको उजुरी जिल्ला प्रशासन कार्यालय कास्कीमा पर्‍यो । पोखराका १ देखि १७ नम्बर वडामा त्यसै दिन खोप लगाइयो । केही वडामा भनसुनका आधारमा जनप्रतिनिधिका आफन्तलाई खोप लगाइएको भन्दै विरोध भयो । भोलिपल्ट १८ देखि ३३ नम्बर वडामा ५५ वर्षमाथिकालाई जोन्सन एन्ड जोन्सनको जान्सिन खोप लगाउने भनिएकोमा १० बजे स्थगित भयो । खोप बोकेर स्वास्थ्यकर्मी फिर्ता भए ।

कास्की स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्य अत्यावश्यक सेवामा संलग्न र ५५ वर्षमाथिकालाई एकै स्थानमा खोप लगाउँदा अव्यवस्थित भएको स्विकार्छन् । व्यवस्थापकीय त्रुटि हुँदा केही मात्रामा लक्षित समूहभन्दा बाहेककाले खोप लगाएको हुन सक्ने उनले बताए । असार ३१ मा भने स्वास्थ्य मन्त्रालय निर्देशनअनुसार स्थगित गर्नुपरेको उनले बताए । ‘हामीसँग जान्सिन खोप भएकाले ५५ वर्षमाथिकालाई लगाउने भन्ने थियो,’ उनले भने, ‘मन्त्रालयको नीति ५० देखि ५४ वर्षसम्मकालाई मात्रै लगाउने भएकोले स्थगित भयो ।’ कास्कीको रूपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा ५० वर्षमाथिकाले खोप लगाइसकेका छन् ।

पोखरा महानगरमा स्थगित खोप अभियान सोमबारबाट पुनः सुरु हुँदै छ । चीनबाट १७ हजार ५ सय डोज भेरोसेल खोप आएकाले अभियानलाई निरन्तरता दिने पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । उनका अनुसार सोमबार १८ देखि ३३ नम्बर वडाका ५५ वर्षमाथि उमेर समूहका नागरिक र शिक्षकले भेरोसेल खोप लगाउन पाउने छन् । यसपल्ट शिक्षकका लागि ग्रामीण क्षेत्रमा सम्बन्धित खोप केन्द्र र सहरमा लेखनाथका जनप्रकाश मावि, भण्डारढिक र लक्ष्मी मावि, शिशुवामा तोकिएको छ ।

१८ देखि ३३ नम्बर वडामा ५२ देखि ५४ वर्ष उमेर समूहकालाई जान्सिन खोप लगाइने छ । १ देखि १७ नम्बर वडामा ५२ देखि ५४ वर्षसम्म उमेर समूहका साउन १४ बाट खोप दिइने छ । सार्वजनिक यातायातका मजदुर, बैंकका कर्मचारीलगायत लक्षित समूहलाई भने अर्को मिति तोकिने पौडेलले बताए । जनप्रतिनिधिबाट खोप कार्यक्रमको अनुगमन मात्रै गर्नुपर्नेमा हस्तक्षेप नै भएको उनी बताउँछन् । महानगरकै एक स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिएर आउनेलाई खोप लगाउँदा तोकिएको समूहलाई नपुग्ने गरेको बताए ।

‘पहुँच हुनेहरूले प्रशासनबाटै सिफारिस लिएर आउँछन्,’ उनले भने, ‘सिफारिस लिएर आएपछि हामीले लगाउँदैनौं भन्न मिल्दैन ।’ कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम विगतका त्रुटि दोहोरिन नदिन उमेर समूह र शिक्षकलाई खोप लगाउने स्थान छुट्टाछुट्टै तोकिएको बताए । दुरुपयोग हुन नदिन नागरिक स्वयं आत्मानुशासनमा बस्नुपर्ने उनले बताए । ‘खोप केन्द्रमा सुरक्षा र अनुगमन दुवै बढाउँछौं,’ उनले भने, ‘अत्यावश्यक सेवा क्षेत्रबाहेककालाई कुनै सिफारिस प्रशासनबाट गएको छैन ।’

प्रकाशित : श्रावण ११, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

छात्रवृत्ति र खाजा रकम बैंकबाटै

‘अब विद्यार्थीको रकम शिक्षकले खाए भन्ने गुनासो आउने छैन’
तुलाराम पाण्डे

तिलागुफा, कालीकोट — तिलागुफा–१ घडेरास्थित जगन्नाथ आधारभूत विद्यालयकी कक्षा २ की छात्रा सृष्टि नेपालीले यस वर्षको दिवा खाजाबापतको २ हजार ६ सय ८० र दलित छात्रवृत्तिबापतको १ हजार रुपैयाँ बैंकबाटै बुझ्ने भएकी छन् । उनको नामको ३ हजार ६ सय ८० रुपैयाँ विद्यालयले बैंकमा जम्मा गरिदिएको छ ।

कालीकोटको तिलागुफा–१ घडेरास्थितस्थित जगन्नाथ आधारभूत विद्यालयका विद्यार्थी । विद्यालयले बालबालिकाको नाममा बैंक खाता खोलेर छात्रवृत्ति र दिवा खाजाबापतको रकम जम्मा गरेको छ । तस्बिर : तुलाराम/कान्तिपुर

सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत निशा कटुवालको खाजा र छात्रवृत्तिको ३ हजार ७ सय २० रुपैयाँ पनि साउन ३ गते बैंकमा जम्मा भएको छ । विद्यालयका सबै बालबालिकाको रकम बैंक खातामार्फत दिन थालेपछि अभिभावकसमेत खुसी छन् । छोरीको खातामा आएको जम्मा भएको रकम समस्या परेको बेला मात्र निकाल्ने नेपालीका बाबु बमबहादुरले बताए । ‘केही रकम बचत गरेर छोरीलाई उच्च शिक्षासम्म पढाउने धोको छ,’ उनले भने, ‘छोरीको नाममा खाता पनि भयो, रकम पनि आयो ।’ भारतमा ज्याला मजदुरी गर्दै आएका बमबहादुर कोरोना महामारीपछि गाउँ फर्किएका हुन् ।

खातामा कुनकुन शीर्षकमा कति रकम गयो भनेर सबै अभिभावकलाई भेला गरेर जानकारी गराइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन नेपालीले बताए । ‘अब विद्यार्थीको रकम शिक्षकले खाए भन्ने गुनासो आउने छैन,’ उनले भने, ‘असल कामको सुरुवात भएको छ, यसलाई निरन्तरता दिन्छौं ।’ उनका अनुसार विद्यालयले बालबालिकाको दिवा खाजाबापत २ लाख ६२ हजार ५ सय र छात्रवृत्तिबापतको ६३ हजार ८ सय रुपैयाँ विद्यार्थीको खातामा जम्मा गरिसकेको छ । उनका अनुसार दुवै शीर्षकमा ३ लाख २६ हजार ३ सय रुपैयाँ विद्यार्थीको खातामा जम्मा भएको हो ।

विद्यार्थीले पाउने छात्रवृत्ति र दिवा खाजाबापतको रकम बैंक खाताबाट भुक्तानी दिने जगन्नाथ आधारभूत विद्यालय जिल्लाकै पहिलो विद्यालय भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । उनले जिल्लाका धेरैजसो नाम चलेका विद्यालयले बालबालिकाले पाउने छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तकलगायतको रकम अनियमितता गरेको गुनासो आउने गरेको बताए ।

उनका अनुसार महिला शिक्षकले नेतृत्व गरेको घडेरा विद्यालय नमुना बन्दै गएको छ । ‘बैंक नजिक भएका ९ वटै स्थानीय तहका केही विद्यालयमा पनि यो अभ्यास सम्भव छ,’ उनले भने, ‘तर अरू विद्यालयले वास्तै गरेका छैनन् ।’ उनले सदरमुकाम मान्मसहितका बैंक नजिक भएका विद्यालयमा बैंक खाता खोल्न सम्भव छ । अहिले जिल्लाका सबैजसो विद्यालयले बालबालिकाको नाममा आउने रकम अभिभावकलाई बोलाएर वितरण गरिरहेका छन् । जगन्नाथ आधारभूत विद्यालयले भने अभिभावक संरक्षक रहने गरी प्रत्येक बालबालिकाको नाममा खाता खोल्न लगाएको थियो ।

नगरपालिकाको समन्वयमा नेपाल इन्भेस्टमेन्ट बैंकमा विद्यालयका सबै विद्यार्थीको खाता खोलिएको तिलागुफा नगर शिक्षा प्रमुख लीलाराज बमले बताए । उनका अनुसार यस वर्ष तिलागुफामा शैक्षिक विकासका लागि करिब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सबै विद्यालयमा असार अन्तिममा रकम निकासा गएकाले अधिकांश विद्यालयले रकम वितरण नगरेको उनले सुनाए ।

२६ वर्षअघि स्थानीय अभिभावकले घरबाट अन्न संकलन गरी विद्यालय स्थापना गरिएको थियो । प्रत्येक घरदैलोबाट १ सय रुपैयाँ र दुई पाथी अन्न संकलन गरी सुरु गरिएको विद्यालय क्रमशः नमुना बन्दै गएको तिलागुफा नगरप्रमुख रतनबहादुर शाहीले बताए । ‘सबैतिर विद्यालयमा जाने रकम अनियमितताको गुनासो आउँछ,’ उनले भने, ‘तर दुर्गमको विद्यालयले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीको बैंक खाता खोलेको छ ।’

विद्यालयमा गत वर्षदेखि शिक्षकको डिजिटल हाजिरी, गुनासो सुनुवाइ बाकस, मल्टी मिडियाबाट सहजीकरणलगायत नयाँ काम सुरु गरिएको शिक्षक शारदा केसीले बताइन् । उनका अनुसार विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण गरिएको छ भने खानेपानी र शौचालयको सुविधा पर्याप्त छ । ‘विद्यार्थीको बसाइ व्यवस्थापनलाई पनि ध्यान दिएका छौं,’ उनले भनिन्, ‘अभिभावक, शिक्षक र विद्यार्थीबीच नियमित अन्तर्क्रिया गर्ने काम सुरु गरेका छौं ।’

बैंकबाट रकम भुक्तानी दिँदा अभिभावकको गुनासो नरहेको विद्यालयकी प्रधानाध्यापक तुलासा पाण्डेले बताइन् । उनका अनुसार बैंक खाता अभियानले विद्यालयमा सुशासन कायम गर्न र अभिभावलाई पनि विद्यालयप्रति अपनत्व बोध गराउन सहज भएको छ । लकडाउनपछि भर्ना भएका र अभिभावक (संरक्षक) घरमा नभएका २९ बालबालिकाको खाता खोल्न पहल थालिएको उनले जानकारी दिइन् । बाल शिक्षादेखि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा १ सय १८ जना बालबालिका अध्ययनरत छन् । विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ । विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत रहेको प्रअ पाण्डेले बताइन् ।

विभिन्न शीर्षकमा विद्यालयमा जाने रकम शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा अनियमितता हुने गरेकोमा विद्यार्थीको बैंक खातामा रकम जम्मा हुनु सकारात्मक रहेको नागरिक अगुवा कालीबहादुर मल्लले बताए । ‘सबै विद्यालयले यस्तै प्रक्रिया अपनाए विद्यालयमा जाने रकमको लुछाचुँडी रोकिन्थ्यो,’ उनले भने, ‘बैंक खाता अभियानले विद्यालयमा राजनीतीकरण पनि कम हुन्थ्यो ।’ कालीकोटका ९ स्थानीय तहमा २ सय ९४ विद्यालय छन् । तीमध्ये १ सय बढी निजी स्रोतबाट सञ्चालित भएकाले शून्य दरबन्दीका विद्यालय छन् ।

प्रकाशित : श्रावण ११, २०७८ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×