गण्डकीमा कांग्रेसको अक्षम्य भूल, दलित समुदायप्रतिको अपमान : कोइराला- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा कांग्रेसको अक्षम्य भूल, दलित समुदायप्रतिको अपमान : कोइराला

‘बीपी स्मृति दिवस मनाउँदै र बीपीको तस्बिरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ ।’
दीपक परियार

पोखरा — कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताएका छन् । उनले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बिस्तारका क्रममा अन्तिम समयमा विश्वकर्माको नाम काटेर पोखराका व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो ।

सामाजिक कुरीतिकाविरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको नेता कोइरालाले बताएका छन् । ‘सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ,’ आइतबार उनले फेसबुकमा लेखेका छन्, ‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’

सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभइ व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको टिप्पणी उनले गरेका छन् । उनले लेखेका छन्– ‘बीपी स्मृति दिवस मनाउँदै र बीपीको तस्बिरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ ।’

आगामी दिनमा यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महँगो पर्न सक्ने भएकोले हेक्का राख्न समेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

रंगशाला निर्माण अन्तिम चरणमा

कोरोना महामारीबीच काम भइरहँदा पोखरा रंगशाला फुटबल मैदानको प्रगति ९५ प्रतिशत
दीपक परियार

पोखरा — कोरोना महामारीकै बीचमा पोखरा रंगशाला निर्माणले निरन्तरता पाएको छ । पोखरामा वैशाख १५ बाट निषेधाज्ञा जारी भए पनि वैशाख २० बाट फुटबल स्टेडियमको काम पुनः सुरु भएपछि निर्माण अन्तिम चरणमा पुगेको हो ।

पोखरा रंगशाला फुटबल मैदानको भीभीआईपी प्यारापिटमा हालिएको छाना । तस्बिर : दीपक/कान्तिपुर

स्टेडियमको प्रि–इन्जिनियरिङ बिल्डिङ (पीईबी) र भीआईपी प्यारापिटमा ट्रस्ट बनाएर छाना हालिएको छ । भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले रंगशाला निर्माण गरिरहेको छ । एमए कन्स्ट्रक्सनका निर्देशक दीपक बरालका अनुसार निषेधाज्ञाकै समयमा विशेष पास बनाएर भारतीय कामदार ल्याइएको हो । ‘उनीहरूलाई क्वारेन्टाइनमा राखेर काममा लगायौं,’ उनले भने, ‘बाहिर सम्पर्क नगराउन रंगशालाभित्रै खानेबस्ने व्यवस्था गरेका छौं ।’ प्यारापिटलाई वरिपरिबाट पीपीजीएल सिटले छोप्ने कार्य (क्लेडिङ) गरिएको छ । रंगाशालाको भौतिक प्रगति ९५ प्रतिशत रहेको उनले बताए ।

२०७५ पुस १३ मा १ अर्ब २८ करोड रुपैयाँमा स्टेडियम बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्झौता भएको थियो । ६ महिनाभित्र स्टेडियम बनाउनुपर्ने सम्झौतामा उल्लेख भए पनि दुई महिना ढिलो काम सुरु भयो । २०७६ मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुने तय थियो । सागकै लागि हतारहतार मैदान र प्यारापिट तयार गरिएको थियो । सागको समयमा केही समय रंगशाला निर्माण रोकियो । यसअघि कोरोनाको अघिल्लो लहरमा समेत निर्माण रोकिएको थियो । त्यतिबेला ९ महिना काम रोकिएको प्रोजेक्ट म्यानेजर बरालले बताए ।

गत वर्ष सदस्यसचिवको पद खाली भयो । केही समयका लागि खेलकुद मन्त्रालयबाट प्रतिनिधि खटिए । ठेकेदार कम्पनीले पाउनुपर्ने रकम एक वर्षसम्म रोकियो । अर्थ मन्त्रालयबाट बजेट निकासा हुन सकेन । सदस्यसचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भए । उनकै पहलमा स्रोत सुनिश्चित भएपछि ठेकेदार कम्पनीले निर्माण पुनः थालेको हो । ‘पहिलो लहरको कोभिडले कार्यप्रगतिमा असर गर्‍यो । अहिले आएर दोस्रो कोभिडको लहर पछि पनि काम सुचारु गर्न अप्ठेरो परेको थियो,’ बरालले भने, ‘कोभिड–१९ अनिश्चितसम्म जाँदा आयोजना झन् ढिलो हुँदै जाने भयो भनेर विशेष परिस्थितिमा सहयोग गर्न राखेपलगायत विभिन्न निकायलाई सहयोग गरिदिन आग्रह गर्‍यौं ।’

रंगशाला निर्माण सम्पन्न गर्नुपर्ने म्याद असार मसान्तसम्म मात्रै भए पनि ६ महिना थप भएको छ । ६ महिना भनिए पनि दसैंसम्म कामसक्ने कम्पनीको दाबी छ । सम्झौताबमोजिम स्टेडियमवरिपरि कालोपत्रे गर्न नाला बनाउने काम भइरहेको छ । ३ सय मिटर नाला बनाउन बाँकी छ । १६ वटा ट्वाइलेट ब्लकको फिनिसिङको काम बाँकी छ ।

राखेप बोर्ड सदस्य राजेश गुरुङले महामारीमै पनि रंगशाला निर्माण पुनः सुरु गर्न विशेष पहल लिएका हुन् । संघ सरकारको यही आर्थिक वर्षमा बजेट विनियोजन गरेकाले रंगशाला निर्माणमा रकम अभाव नहुने उनी बताउँछन् । नवौं राष्ट्रिय खेलकुद पोखरामा हुने भएकाले त्यसको तयारीका लागि पनि भौतिक पूर्वाधार समयमै सिध्याउन महामारीको समयमा धमाधम काम भइरहेको उनले बताए । ‘कोरोना महामारी कम हुनेबित्तिकै नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु हुन्छ,’ उनले भने, ‘त्यसैले पनि सुरक्षा मापदण्ड कायम गरेर काम गरिरहेका छौं ।’

हाल निर्माणाधीन स्टेडियमको दर्शक क्षमता १६ हजार ५ सय हो । ‘डिजाइन एन्ड बिल्ड’ अवधारणामा बनिरहेको स्टेडियममा ३ हजार ५ सय सिट थप्ने राखेपको योजना छ । बोर्ड सदस्य गुरुङले थपिएको ६ महिनाभित्रै क्षमता विस्तार गर्ने बताए । थप सिट संख्या, फ्लडलाइट, स्कोर बोर्डलगायतलाई बजेटको व्यवस्था भने भइसकेको छैन । नवौं राष्ट्रिय खेलकुदलाई आवश्यक हिटिङ सिस्टमको स्विमिङ पुल, सुटिङ रेन्ज, हक्की खेलका पूर्वाधार भने अझैं बनेका छैनन् ।

प्रकाशित : श्रावण ५, २०७८ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×