यातायात नचल्दा किसानका घरमा आलु थुप्रियो

घनश्याम खड्का

म्याग्दी — जिल्लाको उपल्लो भेगका कृषकलाई यतिबेला मुख्य बाली आलु थन्क्याउन भ्याइनभ्याई छ । अघिल्ला वर्ष समयअगावै व्यापारी हातहातमा पैसा, बोरा र ट्र्याक्टर लिएर खेतबारीमै पुग्थे ।

तर यो वर्ष असार पहिलो सातादेखि नै सुरु भएको बाढीपहिरोले सडक अवरुद्ध भई यातायात नचल्दा आलु किन्न व्यापारी पुगेका छैनन् । कृषकको घरमा आलुको थुप्रो लागेको छ ।

‘पहिले यो बेला लेकाली अर्गानिक आलु, सिमी, बन्दालगायत तरकारी बोकेका ट्र्याक्टरको लर्को लाग्थ्यो तर अहिले पहिरोले यातायात अवरुद्ध छन्,’ अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर गुर्बजाले भने, ‘बजारबाट धेरै माग छ, तर बजार पुर्‍याउने उपाय नहुँदा आलु घर/बारीमै थुप्रिएको छ । गाडी आउने सडक सहज छैन, मान्छेले बोकेर पुर्‍याउन सकिन्न ।’ बेनी र पोखराको बजारमा राम्चे, हिस्तान, शिख, नारच्याङ, रघुगंगा गाउँपालिकाको बेगखोला, पाखापानी, ठाडाखानी, बेनी नगरपालिको भकिम्ली, मालिका गाउँपालिकाको दुखु, निस्कोट क्षेत्रबाट आलु झर्छ । धान नफल्ने लेकाली बस्तीमा मोटरबाटो पुगेसँगै आलु, बन्दा, काउली, टमाटर समेतका स्थानीय उत्पादन बढेको छ । मोटरबाटोले भूक्षय, बाढीपहिरोले विपद् निम्त्याए पनि जाँगरिला कृषकले राम्रो लाभ पनि उठाइरहेका छन् ।

म्याग्दीमा उत्पादन हुने आलु कृषि ज्ञान केन्द्रले बागलुङ र पोखरा पठाउने गर्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको १ हजार ६ सय १५ हेक्टर क्षेत्रफल खेतीबाट २० हजार ३ सय ८१ मेट्रिक टन आलु उत्पादन हुन्छ ।

प्रकाशित : श्रावण १०, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?