२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोपेको वर्ष दिनमै फल्यो स्याउ

इटलियन उन्नत जातको स्याउमा फल लागेपछि किसान उत्साहित
हरिराम उप्रेती

गोरखा — व्यावसायिक स्याउखेती थालेका उत्तरी गोरखाका किसान एक वर्षमै स्याउ फलेपछि उत्साहित बनेका छन् । इटलीबाट ल्याएको उन्नत जातका स्याउका बिरुवा गतवर्ष मात्रै रोपिएको थियो । चुमनुब्री गाउँपालिका–४ प्रोकमा गतवर्ष किसानले समूह बनाएर ४ हजार ३ सय ७० बिरुवा रोपेका थिए ।

रोपेको वर्ष दिनमै फल्यो स्याउ

३ सय रोपनी क्षेत्रफलमा रोपेको स्याउ अहिल्यै फल्न थालेको चुमनुब्री स्याउ ब्लक समूहका अध्यक्ष लाक्पा डुन्डुप लामाले बताए ।

‘पाँच प्रजातिका स्याउ लगाएका थियौं,’ उनले भने, ‘यस वर्षबाट फल्न थालेको छ, एउटै बोटबाट पाँच किलोसम्म स्याउ फल्ने अनुमान गरेका छौं ।’ फर्मबाट २० हजार किलो स्याउ उत्पादन हुने किसानको अनुमान छ । गाउँपालिकाकै नमुना स्याउ फर्मको रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको लामा बताउँछन् । सडक सञ्जाल नजोडिएको प्रोकमा स्याउ बिक्रीका लागि ढुवानीमा भने समस्या छ ।

उत्पादित स्याउ गोरखा बजार, काठमाडौ, चितवनलगायतका सहरमा लगेर बिक्री गर्ने उनको योजना छ । खच्चडमा बोकाएर र हेलिकप्टरमार्फत बजार पुर्‍याउने लामाले बताए । स्याउ बिक्रीमा सहजताका लागि फर्मभित्रै हेलिप्याड पनि बनाइएको उनले बताए । ‘३५ वर्षसम्म एउटा बोटले उत्पादन दिन्छ, वर्षैपिच्छे ५ किलोका दरले उत्पादन बढ्दै जान्छ,’ लामाले भने, ‘एक सय रोपनी आफ्नै जग्गा हो, दुई सय रोपनी लिजमा लिएका छौं, स्याउ फल्न थालेपछि खुसी लागेको छ ।’

प्रोक क्षेत्रमा स्याउ खेती हुँदै आए पनि त्यसले बजार पाएको थिएन । व्यावसायिक रूपले पहिलोपटक स्याउखेती थालिएको हो । दुई हजार ६ सय ५० देखि २७ सय उचाइको उक्त क्षेत्र स्याउ खेतीका लागि हावापानी सुहाउँदो भएको लामा बताउँछन् । ‘यसअघि एक–दुई वटा बोटमा फलेको स्याउ बिक्री गर्न पनि समस्या थियो, नमुनाका रूपमा फर्ममा स्याउ लगाएपछि अरूले पनि सिक्छन्, फर्म हेरेर अरू युवाले पनि यो खेतीतर्फ आकर्षित हुन्छन् भन्ने अपेक्षा हो,’ लामाले भने ।

चुमनुब्री र धार्चे गाउँपालिकामा गत वर्ष ५ हजार ८ सय ७० स्याउका बिरुवा वितरण गरिएको थियो । गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका बिरुवा यहाँका किसानलाई लगाएका छन् । धार्चे–५ सिङलाका रमेश गुरुङले पनि ७ सय ५० बिरुवा स्याउ रोपेर व्यावसायिक खेती थालेका छन् । ३ वर्षअघि ३५ बिरुवा रोपेका गुरुङले गत वर्ष १५ किलो स्याउ बिक्री गरेका थिए । ७ सयमध्ये करिब ६० बोटमा फलेको उनले बताए । ‘तीन वर्षअघि लगाएको ३५ बिरुवाबाट यस वर्ष ३०–४० किलो स्याउ फल्छ भन्ने अनुमान हो,’ उनले भने, ‘पोहोर लगाएको बिरुवा सानो भएर यस वर्ष सबै बोटमा फलेको छैन, अब आउने सालमा चाहिँ ती बिरुवाले पनि उत्पादन दिन्छ ।’ हालसम्म उत्पादित स्याउ गाउँमै बिक्री भइरहेको उनले सुनाए । उनले भने, ‘स्याउ मीठो भए पनि रङचाहिँ अलिअलि कालो देखिएको छ ।’

धार्चे–१ सिरानगाउँ र ५ को सिङ्लामा पनि किसानले व्यावसायिक स्याउखेती थालेका छन् । सिरानगाउँमा २ सय बिरुवा लगाएका किसानका बारीका स्याउमा दाना लाग्न थालेको धार्चेका कृषि प्राविधिक सुरेन्द्र गुरुङ बताउँछन् । धार्चेमा मात्र गत वर्ष १४ सय स्याउका बिरुवा वितरण भएको थियो ।

प्रकाशित : श्रावण १०, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?