सुनसान शक्तिपीठ- गण्डकी - कान्तिपुर समाचार

सुनसान शक्तिपीठ

यातायात ठप्प, रोपाइँ चटारो र कोरोना संक्रमणको जोखिमले आएनन् भक्तजन
अगन्धर तिवारी

पर्वत — अघिल्ला वर्षमा साउने सोमबार कुश्माको गुप्तेश्वर गुफामा श्रद्धालुको ठेलमठेल हुन्थ्यो । कुश्माकै मोदीवेणी र कटुवाचौपारीको अलपेश्वर गुफामा पनि उस्तै हुन्थ्यो तर यसपालि भने त्यस्तो देखिएन । रोपाइँको चटारो, यातायात सेवा ठप्प, कोरोना संक्रमणको जोखिम तथा स्थानीय प्रशासनको निषेधाज्ञा कायमै रहेकोले भक्तजनको उपस्थिति नदेखिएको हो ।

कुश्मा आसपास र जिल्लाका कुनै पनि शिव मन्दिर तथा शक्तिपीठमा भक्तजन देखिएनन् । दिनभरजसो भक्तजनको भीडभाड हुने शक्तिपीठमा त्यहाँका व्यवस्थापन समिति र पुजारीले नियमित पूजाआजामै चित्त बुझाए । सोमबारकै दिन पूजाआजाका लागि ग्रामीण क्षेत्रबाट बस चढेर आउने सर्वसाधारणका कारण कुश्मा र आसपासका पर्यटकीय क्षेत्र, अग्ला पुल भरिभराउ हुन्थे । बजारको व्यवसाय चलायमान हुन्थ्यो । रोपाइँको चटारो सकेर फुर्सदिला बनेका महिला साउने सोमबार हातभरि हरिया र पहेंला चुरा तथा उही रङका पहिरनमा बजारभरि डुल्थे । हरियो र पहेंला वस्तुका व्यापारले व्यवसायीमा समेत उत्साह छाउँथ्यो । तर अघिल्लो र यो वर्षको साउनको पहिलो सोमबार ठीक विपरीत रह्यो ।

कोरोना महामारीले आर्थिक, सामाजिक, विकासलगायत सबैतिर नराम्ररी गाँजेका बेला धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर परेको देखियो । ‘यसले हाम्रा धार्मिक आस्थाका धरोहरमा पनि नकारात्मक प्रभाव पार्छ,’ गुप्तेश्वर धार्मिक विकास संस्थाका अध्यक्ष गणेश भण्डारीले भने, ‘शक्तिपीठको गरिमा प्रचारले मात्रै होइन, भक्तजनको भीडले बढाउने हो । आज यति मान्छेले दर्शन गरे भनेपछि त्यसको प्रभावले भोलि नयाँ मान्छे आउँछ । त्यसको प्रभावले धार्मिक क्षेत्रको महत्त्व बढ्ने हो ।’

विगतमा साउनको पहिलो र अन्तिम सोमबार हजार बढी सर्वसाधारणको भीड लाग्ने गुप्तेश्वरमा यो सोमबार कुश्माकै केही व्यक्तिहरूले मात्रै फाट्टफुट्ट दर्शन गरेर फर्किएको उनले बताए । गुप्तेश्वरमा दशकअघिदेखि नियमित बस्दै आएका बोलबम बाबाका अनुसार अहिलेजस्तो सुनसान भएकै थिएन । ‘अरू दिनहरूमा पनि ५०–१०० जना दर्शन गर्न आउँथे,’ बाबाले भने, ‘अहिले म एक्लै छु । रातदिन एक्लै बस्दा अत्यास लागेको छ ।’

पहिलो सोमबार कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अलपेश्वर गुफामा समेत भक्तजनको उपस्थिति रहेन । विगत वर्षमा दिनभरजसो चहलपहल हुने गुफामा यसपालि नित्य पूजा मात्रै भएको स्थानीय एकनारायण अधिकारीले बताए । सोमबार मोदीवेणीधाममा समेत सर्वसाधारणको उपस्थिति नगन्य देखिएको स्थानीय हरिदास बैरागीले जानकारी दिए । त्यस्तै, फलेबास–३ को शिव मन्दिरमा समेत सर्वसाधारणको उपस्थिति नदेखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भागीरथ सुवेदीले बताए ।

स्थानीय प्रशासनले पनि धार्मिक क्षेत्रमा नित्य पूजाआजा मात्र गर्न आदेश जारी गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्

पूर्ण खोप जिल्ला घोषणामा ढिलाइ

हालसम्म पर्साका १४ मध्ये ६ स्थानीय तहमा मात्रै पूर्ण खोप सुनिश्चित, स्थानीय तहको बेवास्ता र राजनीतिक दलको प्रतिबद्धताको अभाव मुख्य कारण
शंकर आचार्य

पर्सा — सरोकारवाला निकायको निष्क्रियताले पर्सालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न ढिलाइ भएको छ । लामो गृहकार्यपछि वीरगन्ज महानगरपालिका भने असार ३१ गतेमा पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको थियो ।

प्रतिकात्मक तस्बिर : सीजीटीएन

पर्साका १४ स्थानीय तहमध्ये हालसम्म आधा दर्जन तहमा यस्तो घोषणा भएको छ । जसमा वीरगन्ज महानगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, जिराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका र छिपहरमाई गाउँपालिका छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नवलकिशोर साहले स्थानीय तहको बेवास्ता र राजनीतिक दलको प्रतिबद्धताको अभावले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणामा ढिलाइ भइरहेको बताए । ‘यो स्वास्थ्य कार्यालयको मात्र जिम्मेवारी र कर्तव्य होइन,’ उनले भने, ‘मुलुकका कर्णधार बालबालिकाहरूको स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएकाले यो अभियान सम्पूर्ण सरोकारवालाको साझा अभियान बन्नुपर्छ ।’

उनका अनुसार बहुदरमाई नगरपालिका, जगरनाथपुर गाउँपालिका, पोखरिया नगरपालिका र विन्दवासिनी नगरपालिकामा पूर्ण खोप अभियान सम्पन्न भइसकेको र औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गर्न मात्र बाँकी रहेको छ । यसबाहेक कालिकामाई र पटेर्वा सुगौली गाउँपालिकामा १/१ र धोबिनी गाउँपालिकामा ३ वटा वडा पूर्ण खोप सुनिश्चित घोषणा हुन बाँकी छ । पकाहामैनपुर गाउँपालिकाको भने एउटा पनि वडा पूर्ण खोप सुनिश्चित हुन सकेको छैन ।

पर्सामा २०७३ वैशाखबाट यो अभियान थालिएको थियो । लक्ष्यअनुसार सन् २०१७ भित्रै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरी सक्नुपर्थ्यो । तर उक्त अवधिमा हुन नसकेपछि पटक–पटक म्याद थप्दै आइएको छ । पछिल्ला २ वर्षयता भने कोरोना महामारीलगायत कारण देखाएर ढिलाइ गरिँदै आइएको छ । ‘यसअघि २०७७ असार अन्त्यसम्म जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरी सक्ने हाम्रो लक्ष्य थियो,’ स्वास्थ्य कार्यालय प्रमुख साहले भने, ‘तर निरन्तर २ वर्ष कोरोना महामारीको कारण खोप अभियान नै प्रभावित भयो ।’ पकाहामैनपुर गाउँपालिकामा सुस्त गतिमा काम भइरहेकोमा चिन्ता लागेको उनले बताए । ‘त्यहाँ स्वास्थ्यकर्मी नै कार्यकारी अधिकृत पनि छन् । उनले समेत काम गर्न सकेनन्,’ उनले भने, ‘अब गाउँपालिका प्रमुखसँग समन्वय गरी द्रुत गतिमा काम गराउने प्रयासमा छु ।’

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न जिल्लाका २३ महिनामुनिका २८ हजार ३ सय १२ बालबालिकालाई सबै प्रकारका खोप लगाइसकेको हुनुपर्छ । तीमध्ये १ वर्षमुनिका १३ हजार ४ सय ८० बालबालिकालाई दादुराको दोस्रो खोप लगाइसकेको हुनुपर्छ । १५ महिनादेखि २३ महिना उमेर समूहका सबै बालबालिकाले एउटा पनि खोप नछुटाई लगाएको अवस्थामा पालिका वा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।

२३ महिनामुनिका बालबालिकाले बीसीजी १ मात्रा, डीपीटी/एचईपीबीएचआईबीको ३ मात्रा, ओपीभीको ३ मात्रा, पीसीभीको ३ मात्रा, दादुराको २ मात्रा, जेईको १ मात्रा खोप लिएको हुनुपर्छ । यीमध्ये एउटा पनि बालबालिका कुनै एक खोपबाट वञ्चित हुनु हुँदैन ।

नेपाल हाल पोलियोमुक्त राष्ट्र घोषणा भइसकेको छ । पछिल्लो पटक सन् २०१० मा रौतहटमा पोलियो रोगी भेटिएका थिए । विश्वमै पाकिस्तान र अफगानिस्तानबाहेक सबै मुलुक पोलियोमुक्त राष्ट्र घोषणा भइसकेका छन् ।

प्रकाशित : श्रावण ९, २०७८ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×