सडकले बर्सेनि सास्ती- गण्डकी - कान्तिपुर समाचार

सडकले बर्सेनि सास्ती

हरिराम उप्रेती

गोरखा — लाप्राकबाट ३ घण्टाको पैदल यात्रापछि बारपाक पुगेर जिप चढी शिरबहादुर गुरुङ सदरमुकाम झरे । एक दिन खर्चेर गोरखा बजार आइपुगेका गुरुङलाई लाप्राक फर्कन अझै सास्ती छ । बारपाक सडक खण्डअन्तर्गत बालुवामा पक्की पुलसँगैको पहुँचमार्ग दरौंदीको भेलले भत्काएपछि आउजाउ सकस बनेको हो । 

बाह्रकिलो–बारपाक सडक खण्डअन्तर्गत चोरकाटेखण्ड । फाइल तस्बिर : कान्तिपुर

बारपाक–लाप्राक सडक पनि दुई सातायता अवरुद्ध छ । लाप्राकमा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन भने बिरामी र विभिन्न कामले सदरमुकाम झरेकाहरू पनि समस्यामा परेका छन् । बारपाक सडक भएर लाप्राक र गुम्दाका स्थानीय आउजाउ गर्दै आएका थिए । बालुवा बजारसम्म पुगेका स्थानीय पैदल पुलबाट पारि तरेपछि बल्ल जिप चढेर यात्रा गर्छन् ।

‘जिप पाउने/नपाउने पनि ठेगान हुँदैन,’ उनले भने, ‘गाडी नपाए पैदल नै उकालो हिँडेर लाप्राक पुग्नुपर्छ, राङरुङबाटै हिँड्नुपरे लाप्राक पुग्न ६ घण्टा लाग्छ ।’ पुल र सडकसँग फलेक बिछ्याएर स्थानीयले जोखिमका साथ मोटरसाइकल तार्ने गरेका छन् । वर्षात्ले बारपाक–लाप्राक सडक खण्डमा असार १७ पछि सवारी सञ्चालन हुन सकेको छैन । ‘हिउँदमा बनाउँछन्, बर्खामा बगाउँछ,’ गुरुङले भने, ‘यसपटक मात्र होइन, बर्सेनि यस्तै समस्या हो ।’

बारपाक सडक खण्डअन्तर्गत अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका जोड्ने दरौंदी नदीमाथिको पक्की पुल गत सोमबार पुनः भत्किएको छ । शुक्रबारबाट भेलले भत्काएको पुलसँगैको सडक मर्मतको काम सुरु भएको छ । असार दोस्रो साता पनि पुलसँगै भत्काए पनि सामान्य मर्मतपछि सवारी सञ्चालन हुँदै आएको थियो ।

बारपाक–लाप्राक सडक खण्डअन्तर्गत ठाउँ–ठाउँको पहिरो र कटानले अवरुद्ध बनेको धार्चे गाउँपालिका–४ लाप्राकका वडाध्यक्ष राज गुरुङले बताए । उक्त सडक खण्डअन्तर्गत वर्षात्ले प्यारीखर्क क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । ‘बारपाकबाट ट्र्याक्टर, मोटरसाइकल पनि चलेको छैन,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन, भएको पनि सकिँदै छ । बाटोले समस्या पारेको छ ।’ गाउँमा कोही बिरामी परे पिठ्यूँमा बोकेर बारपाकसम्म ल्याउनुपर्ने बाध्यता थपिएको उनले बताए ।

बाह्रकिलो–बारपाकसम्म पनि बर्खाका बेला सवारी आउजाउमा समस्या रहेको स्थानीय बताउँछन् । बारपाकसम्मको ४६ किमिमध्ये ३३ किलोमिटर कालोपत्रका लागि ठेक्का आह्वान गरेर ११ किलो छेवेटार भालुस्वाँरा सडक कार्यालयले काम गरिरहेको छ । सडक कालोपत्रका लागि २०७१ बाट चार खण्डमा ठेक्का लागेको थियो । सम्झौताअनुसार बारपाकसम्मको सडक २०७५ असारसम्म कालोपत्र सकिनुपर्थ्यो । तर अझै १२ किलोमिटर सडक कालोपत्र बाँकी छ ।

बाँकी १२ किलोमिटर सडक चालु आर्थिक वर्ष कालोपत्र सक्ने लक्ष्य रहेको ११ किलो छेवेटार भालुस्वाँरा सडक कार्यालयका इन्जिनियर राजेश यादवले बताए । राङरुङदेखि मान्द्रेसम्मको सडकमा पहिरोले समस्या पारेको उनले बताए । ‘राङरुङ–मान्द्रे सडक खण्डमा दुई किलोमिटर ढलान पनि भएको छ, त्यही खण्डमा पहिरो धेरै छन् क्लियर गर्नुपर्नेछ,’ उनले भने ।

बालुवास्थित पक्की पुलसँगैको सडक शुक्रबारबाट मर्मत सुरु भएको उनले बताए । ‘स्थानीयले खोला डाइभर्ट गर्न दिएनन्, बालुवातर्फ नदीको बहाव सोझिएकाले जाली राख्न पनि समस्या भइरहेको छ,’ उनले भने, ‘पुल जोगाएर गाडी हिँड्न मिल्ने बनाउन काम सुरु गरेका छौं ।’ राङरुङ–मान्द्रे सडकमा साना सवारी सञ्चालन भएको उनले बताए । मान्द्रेमा भत्किएको ५० मिटर सडक बर्खापछि मर्मत गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित : श्रावण ९, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

सुनसान शक्तिपीठ

यातायात ठप्प, रोपाइँ चटारो र कोरोना संक्रमणको जोखिमले आएनन् भक्तजन
अगन्धर तिवारी

पर्वत — अघिल्ला वर्षमा साउने सोमबार कुश्माको गुप्तेश्वर गुफामा श्रद्धालुको ठेलमठेल हुन्थ्यो । कुश्माकै मोदीवेणी र कटुवाचौपारीको अलपेश्वर गुफामा पनि उस्तै हुन्थ्यो तर यसपालि भने त्यस्तो देखिएन । रोपाइँको चटारो, यातायात सेवा ठप्प, कोरोना संक्रमणको जोखिम तथा स्थानीय प्रशासनको निषेधाज्ञा कायमै रहेकोले भक्तजनको उपस्थिति नदेखिएको हो ।

कुश्मा आसपास र जिल्लाका कुनै पनि शिव मन्दिर तथा शक्तिपीठमा भक्तजन देखिएनन् । दिनभरजसो भक्तजनको भीडभाड हुने शक्तिपीठमा त्यहाँका व्यवस्थापन समिति र पुजारीले नियमित पूजाआजामै चित्त बुझाए । सोमबारकै दिन पूजाआजाका लागि ग्रामीण क्षेत्रबाट बस चढेर आउने सर्वसाधारणका कारण कुश्मा र आसपासका पर्यटकीय क्षेत्र, अग्ला पुल भरिभराउ हुन्थे । बजारको व्यवसाय चलायमान हुन्थ्यो । रोपाइँको चटारो सकेर फुर्सदिला बनेका महिला साउने सोमबार हातभरि हरिया र पहेंला चुरा तथा उही रङका पहिरनमा बजारभरि डुल्थे । हरियो र पहेंला वस्तुका व्यापारले व्यवसायीमा समेत उत्साह छाउँथ्यो । तर अघिल्लो र यो वर्षको साउनको पहिलो सोमबार ठीक विपरीत रह्यो ।

कोरोना महामारीले आर्थिक, सामाजिक, विकासलगायत सबैतिर नराम्ररी गाँजेका बेला धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर परेको देखियो । ‘यसले हाम्रा धार्मिक आस्थाका धरोहरमा पनि नकारात्मक प्रभाव पार्छ,’ गुप्तेश्वर धार्मिक विकास संस्थाका अध्यक्ष गणेश भण्डारीले भने, ‘शक्तिपीठको गरिमा प्रचारले मात्रै होइन, भक्तजनको भीडले बढाउने हो । आज यति मान्छेले दर्शन गरे भनेपछि त्यसको प्रभावले भोलि नयाँ मान्छे आउँछ । त्यसको प्रभावले धार्मिक क्षेत्रको महत्त्व बढ्ने हो ।’

विगतमा साउनको पहिलो र अन्तिम सोमबार हजार बढी सर्वसाधारणको भीड लाग्ने गुप्तेश्वरमा यो सोमबार कुश्माकै केही व्यक्तिहरूले मात्रै फाट्टफुट्ट दर्शन गरेर फर्किएको उनले बताए । गुप्तेश्वरमा दशकअघिदेखि नियमित बस्दै आएका बोलबम बाबाका अनुसार अहिलेजस्तो सुनसान भएकै थिएन । ‘अरू दिनहरूमा पनि ५०–१०० जना दर्शन गर्न आउँथे,’ बाबाले भने, ‘अहिले म एक्लै छु । रातदिन एक्लै बस्दा अत्यास लागेको छ ।’

पहिलो सोमबार कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अलपेश्वर गुफामा समेत भक्तजनको उपस्थिति रहेन । विगत वर्षमा दिनभरजसो चहलपहल हुने गुफामा यसपालि नित्य पूजा मात्रै भएको स्थानीय एकनारायण अधिकारीले बताए । सोमबार मोदीवेणीधाममा समेत सर्वसाधारणको उपस्थिति नगन्य देखिएको स्थानीय हरिदास बैरागीले जानकारी दिए । त्यस्तै, फलेबास–३ को शिव मन्दिरमा समेत सर्वसाधारणको उपस्थिति नदेखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भागीरथ सुवेदीले बताए ।

स्थानीय प्रशासनले पनि धार्मिक क्षेत्रमा नित्य पूजाआजा मात्र गर्न आदेश जारी गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×