अमेरिका पठाउँछु भन्दै ठगी गर्ने ३ जना पक्राउ- गण्डकी - कान्तिपुर समाचार

अमेरिका पठाउँछु भन्दै ठगी गर्ने ३ जना पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ हरिहरपुरका २४ वर्षीय विकास भन्ने विनोद भुसाल, पोखरा–२ मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा–१२ रानीपौवाका ३० वर्षीया प्रकाश गुरुङ रहेका छन् ।

बिहीबार पुकार र प्रकाशलाई आफ्नै घरबाट पक्राउ गरिएको थियो भने भुसाललाई पोखरा–१८ भकुण्डेबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार पक्राउ परेका तीनै जनालाई शुक्रबार जिल्ला अदालत कास्कीमा ठगी मुद्दा दर्ता गरी दस दिनको म्याद थप गरिएको छ । ‘मुद्दा दर्ता गरेपछि यस विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अमेरिका पठाउने भन्दै दुई वर्षदेखि ठगी गर्ने उद्देश्यले काम गरेको खुल्न आएको छ । यसमा संलग्न अरुको पनि खोजी भइरहेको छ ।'

७४ लाख ९ हजार ५ सय रुपैयाँ पटकपटक गरी पुकार र प्रकाशको व्यक्तिगत खातामा विनोदले जम्मा गर्न लगाएको भन्ने जाहेरी परेको थियो । जाहेरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

सिकन्दरदेखि सर्वसाधारणसम्म मदिरामग्न

मान्छले मदिरा एक्लै पिएन । उसले यसमा सामाजिक आयाम थपिदियो । मातेको र तातेको सुरमा उसले व्यक्तिगत स्वार्थ बिर्सियो र पिउने कर्ममा सरिक समूहप्रति आफ्नो प्रेम अभिव्यक्त गर्‍यो । मान्छेले मदिरालाई सामूहिक संस्कृति बनायो किनभने सामाजिक सम्बन्ध निर्माणका जटिलतालाई हटाउन यसले ‘सोसल लुब्रिकेन्ट’ को काम गर्‍यो ।
विकास बस्नेत

डिस्क्लेमरइसापूर्व ३३० मा अलेक्जेन्डरले पर्सियाको अकामेनिद साम्राज्यमा चढाइ गरे । सम्राट् दारियस तृतीय भाग्न सफल भए । अकामेनिद साम्राज्यको वैभव राजधानी पर्सेपोलिस अलेक्जेन्डरको हात लाग्यो । साँझ विजय भोज चल्यो । मातेको सुरमा सम्राट्लाई राजधानीमा आगो लगाउने सनक चल्यो । सैनिक अधिकारीले रोक्न पनि खोजे । तर, बिहान उठ्दा वैभव भग्नावशेष भइसकेको थियो । बिहानको ‘ह्याङ्ओभर’ मा विश्वविजेता सम्राट् अलेक्जेन्डर पश्चात्तापमा छटपटाएका थिए । (द सुमेरियन्स, पाउल कोलिन्स) ।

इतिहासविद् थियोपोम्पसका अनुसार, अलेक्जेन्डरका पिता फिलिप द्वितीय ‘मातेको सुरमा दुस्साहसी कदम उठाउन सक्ने भयंकर पियक्कड’ थिए । उनका छोरा अलेक्जेन्डर उर्फ सिकन्दर महान्मा पनि पिताको यो गुण सर्लक्कै सर्‍यो । मदिराको लत आंशिक रूपमा आनुवंशिक पनि हुन्छ । भारतको पन्जाब क्षेत्रमा विजय गरेर बेबिलोन फर्केका सिकन्दर ३२ वर्षको बैंसालु उमेरमै बिते । उनको मृत्युको कारणबारे थुप्रै आकलन छन् । सोह्र पिन्ट विशुद्ध रक्सी एकै सासमा पिएपछि उनको मृत्यु भएको हो भन्ने एउटा अनुमान हो । तर, जे होस् मदिराको धङ्धङीमै विश्वविजेता बनेका सिकन्दरले त्यसैको ह्याङ्ओभरमा संसार त्यागे ।

कुलदेव, मूलदेव र मदिराका देव एकै रहेका विख्यात लडाकु जाति भाइकिङहरूको संस्कृतिमा मदिरा सर्वव्यापी थियो । तिनका लडाकु–नायक र राजा–रजौटा सोझै मदिराको असर वा यसैले निम्त्याएको अन्य कारणले सिद्धिए । राजा फ्योनियर महको रक्सीले भरिएको भाँडोमा डुबेर मरे । राजकुमार सेवेज र उनका वीर योद्धाहरूलाई मदिराको मातमा लोभ्याएर शत्रुले सखाप पारे । राजा आल्फ र इङ्भ दाजु–भाइ दरबारको मदिराहलमा मातको सुरमा काटमार गरेर सकिए । (ड्रिंक ः अ कल्चरल हिस्ट्री अफ अल्कोहल, इयान गेट्ले) ।

मदिरा उत्पादन गरी पाखुरी खियाएर उब्जाएको दुर्लभ अन्न–विनाशको कुरै छाडौं, प्राचीन सुमेरमा उत्पादित अन्नको आधा भाग बियर बनाएर सकिन्थ्यो । इन्का साम्राज्यमा मकै उत्पादनको ठूलो हिस्सा चिचा नामको मद बनाउन प्रयोग हुन्थ्यो । अमेरिकामा स्याउ भित्र्याएका जोनी एप्पलसिडलाई फलाहारीले भन्दा मदिराबाजले ज्यादा सम्झिन्छन् । अमेरिकीहरूको ब्रेकफास्ट–प्लेट पोषिलो र रसिलो स्याउको चानाले भन्दा ज्यादा त्यसलाई कुहाएर बनाइएको एप्पल साइडरको ग्लासले भरियो । यी भए इतिहासका केही दृष्टान्त ।

मदिरा खासमा एक विषाक्त पेय हो । यसले मस्तिष्कको ठूलो हिस्सालाई अपहरण गरेर विवकेशून्य बनाइदिन्छ । मानव शरीरका लागि मदिरा यति घातक छ कि यसलाई पचाउन वा प्रशोधन गर्न जटिल शारीरिक संरचना र प्रक्रियाको विकास भएको छ । बेलायतको चर्चित जर्नल ‘लान्सेन्ट’ को सन् २०१८ को एक अध्ययनअनुसार, १५ देखि ४९ वर्ष उमेर समूहका १० प्रतिशत मानिसको मृत्युमा मदिराको प्रत्यक्ष हात छ । यो वर्तमान स्थिति हो ।

मदिरापानका कारण चुकाउनुपर्ने व्यक्तिगत–सामाजिक मूल्यको फेहरिस्तले मात्रै यो आलेख भरिन सक्छ । यहाँसम्म लेखिएका शब्द स्पष्टीकरण हुन्— यो आलेख कुनै पनि हालतमा मदिरापानमाथिको वकालत होइन भन्नका खातिर ।

एक विरोधाभास

यति धेरै क्षतिका बाबजुद पनि मान्छे राजीखुसी आफ्नो मस्तिष्कलाई विषाक्त बनाउन चाहन्छ । मदिरा वा अन्य नशालु पदार्थको अधिक उत्पादन र उपभोग मान्छेको सामाजिक जीवनको मियो बनेको छ । सभ्यताको आरम्भदेखि नै मान्छेको ऊर्जा, समय र स्रोतको महत्त्वपूर्ण हिस्सा मात्ने तरिकाको खोजी र प्रयोगमा खर्च भएको छ । यतिसम्म कि, खेतीपाती नै नगर्ने फिरन्ते समुदायले चरम अनिकालमा समेत कसैगरी रक्सीको जोहो गरेका छन् । जहाँ जे भेटिन्छ, त्यसैको सदुपयोग गर्दै मात्ने तरिकाको खोजीमा मान्छेले देखाएको सृजनशीलता अचम्मको छ । औपनिवेशिक शासनअघि मेक्सिकोका फिरन्ते समुदायका मानिस मदिराको जोहो गर्नकै लागि भयानक अप्ठेरा जंगलहरूको यात्रा तय गरेर ठीक समयमा क्याक्टी फल टिप्न पुग्थे । मध्यएसियाका फिरन्तेहरू चिनी वा स्टार्चयुक्त अन्नपात/फलफूलको अभावमा घोडीको दूध प्रयोग गर्थे । अल्कोहल उत्पादन नै नगर्ने समुदायले पनि नशामा लठ्ठिन कावा, सुर्ती, गाँजा वा अफिमजस्ता वैकल्पिक स्रोतमा भर परेका प्रशस्त उदाहरण छन् । वैदिक आर्यहरूको सोमरस इफेद्रा (नेपालमा समेत पाइने सोमलता) नामको लहरे बिरुवाबाट बन्थ्यो (रुट्स अफ हिन्दुइज्म, अस्को पर्पोला) ।

केही दक्षिण अमेरिकी संस्कृतिहरूमा विषालु भ्यागुतासम्म चाट्ने प्रचलन अझै छ । विभिन्न संस्कृतिहरूमा मदिराको केन्द्रीय भूमिका र प्रचुरतालाई हेर्ने हो भने यो विरोधाभास झन् टड्कारो हुन्छ ।

बियर बिफोर ब्रेड

करिब १० हजार वर्षअघि इजिप्ट र सिरियादेखि, इराक र इरानसम्म फैलिएको खुर्पेचन्द्र आकारको मलिलो क्षेत्रमा मानिसले स्वादिलो, पोषिलो र उत्पादन गर्न सजिलो वनस्पति छानेर खेतीपाती सुरु गर्‍यो । त्यसपछि चीनको येल्लो–याङ्जे नदी किनारमा धान, कोदो, गहुँ र दक्षिण अमेरिकामा मकैको खेती आरम्भ भयो । अन्नपात उपलब्ध भएपछि मानिसले यसैबाट आफूले चाहेको बखत र मात्रामा मदिरा उत्पादन–सेवन गर्न थालेको हुन सक्ने एउटा मत छ । (लिक्विड ब्रेड, हेलेन म्याकबेथ) ।

तर, केही समाजशास्त्रीहरू भने मदिरा कृषि क्रान्तिको सहउत्पादन नभएर कृषि क्रान्तिको आरम्भ गर्ने उत्प्रेरणा थियो भन्ने प्रमाण अगाडि सार्छन् । फ्रान्समा फेला परेको करिब २५ हजार वर्ष पुरानो महिला आकृतिले (सायद आदि माता/फर्टिलिटी गड्डेस) जनावरको सिङबाट बनेको भाँडो आफ्नो मुखतर्फ सोझ्याएको देखिन्छ । उनी केही पिउँदै छिन् । विश्लेषकहरू त्यो पेय पानी मात्रै थियो भन्ने पत्याउन तयार छैनन् (अ सर्ट हिस्ट्री अफ ड्रंकेननेस, मार्क फरसिथ) । पूर्वी टर्कीमा प्राप्त १२ हजार वर्ष पुराना पुरातात्त्विक सामग्रीमा मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा र सामूहिक भोजभतेरका प्रमाण फेला परेका छन् । संसारभरबाट प्राप्त सबैभन्दा प्राचीन पुरातात्त्विक अवशेषमा बियर वा वाइन बनाउन प्रयोग हुने सरसामानको विस्तृत प्रमाण भेटिनु संयोग मात्रै नहुन सक्छ ।

उता सुमेरियन मिथकले त सभ्यताको आरम्भलाई नै मदिरा सेवनसँग जोडेको छ । सबैभन्दा प्राचीन साहित्यिक ग्रन्थ ‘एपिक अफ गिल्गामेस’ काव्यको कथाअनुसार, एन्किदु ‘जंगल बुक’ को मोगलीझैं जंगली जनावरहरूसँग बस्छ । उसलाई देवी इनानाले मान्छे बनाउने प्रयास गर्छिन् । एन्किदुले आफूलाई दिइएको सात जग मदिरा एकै सासमा पिउँछ र इनानासँग सहवास गर्छ । ऊ जंगल त फर्किन्छ, तर मान्छे बनिसकेको उसलाई जनावरले साथमा राख्दैनन् । मिथको सार यही हो– मदिराले मान्छे बनाउँछ, मदिराले सभ्य बनाउँछ ।

टर्कीको गोबेकेली टेपे भनिने पुरातात्त्विक संरचना सम्भवतः सबैभन्दा पुरानो मन्दिरको भग्नावशेष हो । अंग्रेजी अक्षर ‘टी’ आकारमा ढुङ्गा ताछेर बनाइएको पिल्लरहरूको गोलाकार संरचना ११ हजार ६ सय वर्ष पुरानो हो । १६ टनसम्मका ढुङ्गा ताछेर प्रयोग गरिएको यो संरचना निर्माणमा थुप्रै समूहको योगदान हुनुपर्छ । कृषि क्रान्ति पछिको स्थिर जीवनशैलीले धर्मको जन्म दिएको हो भन्ने मान्यतालाई यसले गलत साबित गर्छ । उक्त संरचनाभित्र करिब ४० ग्यालोन तरल अट्ने ढुङ्गाकै टब छ । तिनमा अक्सालेट नामको रसायनको अंश पाइएको छ । जौ र पानीको मिश्रणबाट यो निर्माण हुन्छ । जब जौ र पानी मिसाइन्छ, बियर स्वतः निर्माण हुन्छ । त्यसैले एक भरपर्दो अनुमान हो– करिब ११ हजार वर्षपहिले यस स्थानमा विभिन्न फिरन्ते समूहहरू सामूहिक धार्मिक अनुष्ठानमा भेला भएर मदिरापान र नाचगान गर्थे । (नेसनल जियोग्राफिक, मार्च २०१५) ।

१४ हजार ४ सय वर्ष पुरानो रोटी र बियर बनाइने स्थल जोर्डनको उत्तरपूर्वी भेगमा हालै भेटिएको छ । यो मिति कृषि क्रान्तिभन्दा चार हजार वर्ष पुरानो हो । फिरन्ते समुदायहरू सायद धार्मिक अनुष्ठानमा हुने सामुदायिक भोजभतेरलाई उल्लासमय बनाउन मदिराको प्रयोग गर्थे । संसारकै सबैभन्दा पुरानो रेसिपीको प्रमाण नै बियर निर्माणको छ, रोटीको होइन । हाल मदिरा उत्पादनमा फर्मेन्टेसनका लागि प्रयोग गरिने ढुसी (यिस्ट) का केही प्रजाति १२ हजार वर्षपहिलेदेखि मानिसले पालेर राखेको हो ।

उता दक्षिण अमेरिकामा ९ हजार वर्षअघि टियोसिन्टे भनिने जंगली वनस्पतिबाट मकैको खेती सुरु भएको हो । तर, टियोसिन्टेबाट खाद्यान्नभन्दा उत्कृष्ट मदिरा बन्छ । एघार हजार वर्षअघिदेखि नै यसबाट बनेको मदिरा मध्य र दक्षिण अमेरिकी आदिवासीहरूको प्रिय पेय र धार्मिक कर्मकाण्डको अभिन्न अंग भएको प्रमाण छ । हाल उक्त क्षेत्रमा मकैबाट बन्ने चिचा मदिराको पूर्वज नै यही हो । अस्ट्रेलियाका केही आदिवासीले पिटुरी नामको वनस्पतिबाट बन्ने नशालु पेयको आपूर्ति सहज बनाउन मात्रै धेरैपछि यसको व्यवस्थित खेतीपाती गरेका हुन् ।

यसैले हुन सक्छ, मान्छेको मात्ने चाहना वा मस्तिष्कको ‘अल्टर्ड स्टेट’ मा पुग्ने रुचिले कृषिलाई जन्म दियो । कृषिले स्थिर जीवनशैली र बचत पुँजी/अन्नपात दियो । यसले श्रमलाई विशिष्टीकृत बनायो र सभ्यताका अवयवहरूलाई जन्मायो ।

मिडासलाई जे छोए पनि सुनमा परिवर्तन गर्न सक्ने बरदान दिने ग्रीसेली डाइनोसस थिए । एक हातमा मदिरा र अर्कोमा बाजा लिएर दुनियाँलाई लठ्याउँदै हिँड्ने ग्रीसेली डाइनोसस रूपान्तरणका प्रतीक हुन् । अर्थात् डाइनोसस मदिराका पर्याय हुन्, मदिरा रूपान्तरणको कारण हो । (एन्सियन्ट ब्रुज, प्याट्रिक ई म्याकगभर्न) ।

ब्रेड एन्ड बियर

मदिराले मानिसलाई कृषितर्फ डोर्‍यायो वा कृषिले मदिरातर्फ, यो विवाद निरूपण बिस्तारै होला । तर, कृषि क्रान्तिपछि मदिराको उत्पादन, आपूर्ति र उपभोगले अद्वितीय फड्को मार्‍यो । त्यसयताका पुरातात्त्विक–ऐतिहासिक प्रमाणहरूमा मानिसको मदिराप्रेम पुष्टि गर्ने ठेली छन् । इसापूर्व ७ हजार वर्षअघि चीनको येल्लो रिभर उपत्यकामा जंगली अंगुर, चामल र महबाट मदिरा बनाइएको प्रमाण हालसम्म प्राप्त सबैभन्दा पहिलो निर्विवाद प्रमाण हो । यता युरोपको जर्जियामा यही कालमा पहिलो पटक अंगुरको खेती थालिएको हो । त्यहाँ भेटिएका भाँडाकुँडाहरूको टुक्रामा फेला परेका आकृतिमा मानिसहरूको समूह हात फैलाएर उल्लाससाथ नाचेका चित्रण गरिएको छ । त्यो अंगुर मदिरा बनाएर कपमा ‘सर्भ’ गरिनका लागि थियो भन्ने प्रमाण हो यो । इसापूर्व ५ हजार वर्ष पुराना इरानी सेरामिक्सहरूमा अंगुरबाट बनाइएको वाइनको रासायनिक प्रमाण भेटिएका छन् । इसापूर्व ४ हजार वर्षयता आएर त्यसको विकास, विस्तार र प्रभावले अर्को उचाइ लियो ।

उता उत्तरी बेलायतमा ओट, जौ र अन्य अन्न तथा मादकता थप्ने रसायन र स्वादमा समेत विविधता दिन थालियो । सुमेरियाको प्रमुख र आफ्नो समयको सबैभन्दा ठूलो सहर उरुकमा ५ हजार वर्षअघि आइपुग्दा जौबाट आठ, गहुँबाट आठ र मिश्रित अन्नबाट अन्य तीन प्रकारका बियर बन्न थालिसकेका थिए । निनकासी नामकी देवीलाई मदिरा बनाउने कलाको आराध्यदेवी बनाएर यो संस्कृतिले मदिरा उत्पादन र वितरणको सामाजिक जिम्मा महिलालाई सुम्पेको थियो । ऋग्वेदको एक मण्डल पूरै वैदिक आर्यको पेय सोमरसबारे छ । यो इन्द्रको प्रिय पेय हो भने जौबाट बनेको सुरा बरुणदेवको पेय हो ।

यही कालमा इजिप्टको प्राचीन सहर हेराक्लियोपोलिसको भग्नावशेषमा भेटिएको मदिराभट्टीको पुरातात्त्विक प्रमाण छ । उक्त भट्टीमा सुमेरियन शैलीको बियर दैनिक ३ सय ग्यालोन उत्पादन हुन्थ्यो । त्यस सहरमा मदिरापानका लागि कलात्मक भाँडाकुँडा बनाउने उद्यमसमेत उचाइमा थियो । भग्नावशेषमा प्राप्त त्यस्ता भाँडाकुँडा र बियर उत्पादनको पुरातात्त्विक प्रमाण हेर्दा बियर त्यहाँका बासिन्दाको प्रमुख पेय बनिसकेको थियो भन्ने पुष्टि हुन्छ ।

इसापूर्व ५१ सयमा आरम्भ भएको शाहीकालमा पुग्दा बियर कामदारको र वाइन सम्भ्रान्तको पेयको रूपमा स्थापित भइसकेको थियो । त्यसबेलाको बहीखाताअनुसार, गिजा पठारको पिरामिड बनाउने मजदुरलाई दैनिक लगभग चार लिटर बियर दिइन्थ्यो । त्यसमा सम्भावित अल्कोहल मात्राको आकलन गर्दै विज्ञहरू भन्छन्– गिजाको पिरामिड बियरले मातेका मिश्रका मजदुरले नशाको धङधङीमा बनाएका हुन् ।

उता मध्यअमेरिकाको मायासभ्यता इसापूर्व एक हजार वर्षअघि उचाइमा पुग्यो । कला र संस्कृतिको वैभवले भरिपूर्ण सहरहरूमा महबाट निर्मित मदिरा प्रचलनमा थियो । जंगलबाट भीरमाहुरीको महको जुगाड गर्नेदेखि आवास छेउछाउमा माहुरी पालेर उनीहरू महको व्यवस्था गर्थे । मदिरा उनीहरूका लागि आत्मालोकसँग संवाद गर्ने माध्यम थियो । थुप्रै पितृ कर्म र धार्मिक अनुष्ठानमा यो अनिवार्य थियो । (एन्सियन्ट वाइन, प्याट्रिक ई म्याकगभर्न) ।

इसापूर्व १ हजार वर्षअघि आइपुग्दा भने अपवादबाहेक मदिरा वा वैकल्पिक स्रोतको उपभोगमार्फत नमात्ने मानवबस्ती नै थिएन । इजिप्टदेखि भारतसम्मका एकदमै पृथक् भूगोलमा उपलब्ध स्रोत प्रयोग गरेर स्वतन्त्र रूपमा मान्छेले मात्ने तरिकाको जोहो गर्नु कम रोचक विषय होइन ।

मानव सभ्यता लिखित इतिहासको युगमा प्रवेश गरिन्जेलमा मदिरा मान्छेको संस्कृति, धार्मिक अनुष्ठान र कर्मकाण्डको अभिन्न अंग बन्यो । मिश्रका प्राचीन बासिन्दा भगवती हाथोरको दर्शन पाउन पिउँथे, नवपाषाण युगका समनहरू मृत पुर्खासँग संवाद गर्न पिउँथे, इथियोपियाका सुरीहरू काम आरम्भ गर्दा पिउँथे, बेलायतीहरू काम सकेर पिउँथे । मात्नुको अर्थ र सन्दर्भ भेग र समयपिच्छे फरक फरक थियो । कसैका लागि यो उत्सव थियो, कसैका लागि कर्मकाण्डको अभिन्न पाटो थियो । कसैका लागि सन्धि सम्झौता गर्ने माध्यम थियो भने कसैका लागि निर्णय लिने माध्यम । प्राचीन पर्सियामा कुनै महत्त्वपूर्ण राजनीतिक विषयमा निर्णय लिनुपरे दुई पटक छलफल गरिन्थ्यो । एक पटक मदिराले मातेर, दोस्रो पटक पूर्ण होसहवासमा । दुवै पटक एउटै निर्णयमा पुगे मात्रै त्यो सदर हुन्थ्यो ।

कृषि क्रान्तिपछि मात्रै मानव सभ्यता र संस्कृतिमा मदिराको प्रचुर प्रयोगको प्रमाणलाई मान्ने हो भने हो भने मदिरा वा अन्य ‘साइकोएक्टिभ’ पदार्थको सेवन गरेर मानिस ‘मात्न’ थालेको १० हजार वर्ष पुग्न लाग्यो । आरम्भमा चर्चा गरिएजस्तो व्यक्तिगत र सामाजिक मूल्य चुकाएर पनि मान्छे किन मात्न चाहन्छ ? औषधि विज्ञान, समाजशास्त्र, मानवशास्त्रजस्ता धेरै क्षेत्रले मान्छेको मदिरामोहको कारण खोजेको छ । यहाँ भने उद्विकासको सैद्धान्तिक फ्रेमवर्कभित्र राखेर मानिसको मदिरामोहको जैविक आधारको व्याख्या गर्ने एक हाइपोथेसिसको सानो चर्चा गरिनेछ । अमेरिकी फिजियोलोजिस्ट रबर्ट ड्युडलेको यो ‘ड्रंकेन मंकी हाइपोथेसिस’ ले मानव मदिरामोहलाई करोडौं वर्षपहिले यस धरतीमा अल्कोहल अणु निर्माणको पर्यावरणीय पृष्ठभूमिमा जोडेर हेर्छ ।

आदिम अणु

पृथ्वीबाट २६ हजार प्रकाशवर्ष टाढा, हाम्रो आकाशगंगा तारापुञ्जको ‘साजिटेरियस बीटुएन’ क्षेत्र इथानोल, मिथानोल र भिनाएलजस्ता साधारण अल्कोहल अणुहरूको तुँवालोले ढाकेको छ । नयाँ तारा निर्माणको क्रममा रहेका अन्तरिक्षका सबै क्षेत्रमा यस्तै रासायनिक अणुहरूको तुँवालोको प्रचुरता छ (अ नेचुरल हिस्ट्री अफ वाइन, इयान टाटरसल) । खगोल भौतिकशास्त्री निल डिग्रास टाइसन ठट्यौले पारामा यसलाई ‘मिल्की वे बार’ अर्थात् आकाशगंगा भट्टी भन्छन् । कुनै दिन मान्छे त्यहाँ पनि पुगेछ भने सायद त्यसको उत्प्रेरणा पनि मदिरा प्रेम नै हुन सक्ला ।

जीवनलाई साझा पुर्खाको सन्तति मान्ने हो भनेचाहिँ हामी सायद मान्छे बन्नुपहिले नै मदिराबाज भयौं । करिब चार अर्ब वर्षपहिले धरतीमा जीवनको आरम्भको एक मात्र र विशिष्ट घटना भयो । आदिम धरतीको ‘प्राइमोर्डियल ब्रुथ’ मा पौडिएर जीविकोपार्जन गर्ने एककोषीय जीवले साधारण सुगर मोलिक्युलबाट ऊर्जादोहन गरेर फालेको ‘गार्बेज’ इथानोल र कार्बनडाइअक्साइड नै थियो । इथानोल मदिराकै अर्को रासायनिक नाम हो ।

बिस्तारै जीवनको विस्तार र विविधीकरण हुन थाल्यो । जमिनमा वनस्पतिको उद्विकास भयो । करिब १४ करोड वर्षअघि मात्रै पृथ्वी रंगीन भयो । बोटबिरुवामा फूल फुल्न थाले । बिस्तारै फल लाग्यो । केही वनस्पतिहरूले आफ्नो वंश विस्तारका लागि बियाँभित्र राखेको आनुवंशिक सामग्रीलाई मीठो पोषणले ढाकेर स्वाद, रङ र सुगन्धले विज्ञापन गर्न थाले । बिस्तारै फैलँदै गएको स्तनधारी र चराचुरुङ्गी समूहका लागि त्यो पोषणसहितको फलले आकर्षित गर्‍यो । यसरी फलाहार गर्नेले फलभित्रको बियाँ अन्यत्र कतै लगेर छरिदिएर उक्त फल दिने वनस्पतिलाई गतिशील बनायो । सट्टामा फलाहारीलाई गज्जब स्वादिलो पोषण प्राप्त भयो । उद्विकासको भाषामा फल फल्ने वनस्पति र फलाहार गर्ने प्राणीको यो दोहोरो अन्तरर्क्रियालाई ‘म्युचलिज्म’ भनिन्छ । यस्तोमा दुवै पक्षले परस्पर आपसी सम्बन्धबाट फाइदा लिन्छ । कालान्तरमा यो सम्बन्धको स्वरूप अझ विशिष्ट र फराकिलो बन्न पुग्यो ।

पाकेको फलभित्रको पोषणका लागि फलाहारी प्राणी र पन्छीहरूको मात्रै होइन, सूक्ष्म जीवाणुहरूको प्रतिस्पर्धा चल्यो । यसमा एककोषीय जीव यिस्ट (ढुसी) हावी भयो, जसले अन्य ब्याक्टेरियाहरूलाई हराउन फलभित्रको चिनीलाई इथानोलमा परिणत गरिदियो । त्यस समययता पाकेको फलमा निर्भर थुप्रै जीव/प्राणी प्राकृतिक रूपमै निर्मित इथानोल (अल्कोहल) को सम्पर्क र सेवनमा तानिए । फलाहार गर्ने हाम्रा ‘प्राइमेट’ पुर्खा पनि यसमा अपवाद थिएनन् । अर्थात् ड्युडले–हाइपोथेसिसलाई मान्ने हो भने हाम्रा पुर्खा करिब एक करोड वर्षअघि रूखबाट मदिरा सेवन गर्न धरतीमा ओर्लिएका हुन् ।

ड्रंकेन मंकी हाइपोथेसिस

ड्युडलेका अनुसार, वनस्पतिमा फल लाग्न थालेयता फलाहार गर्ने सबैजसो प्राणीहरूले प्राकृतिक रूपमै निर्मित अल्कोहलको सेवन गरिरहेका छन् । अहिले पनि फलाहार गर्ने प्राणीहरू पर्याप्त छन् । पनामामा बाँदरको एक प्रजाति, मलेसियाको जंगलमा पाइने छुचुन्द्रोको प्रजाति नियमित रूपमा पाकेको फलमार्फत सर्वाधिक मदिरापान गर्ने प्राणीहरू हुन् ।

इथानोलले मस्तिष्कमा उत्सर्जन गर्ने इन्ड्रोफिन, सेरोटोनिन र डोपामाइन रसायनले मस्तिष्कलाई प्रभावित पारेर मानिसलाई दिने आनन्द र चैनको झल्को दिन्छ । यो यसको असाधारण गुण हो । मदिराप्रति मानिसको आधुनिक आकर्षण यही हो ।

तर, फलाहार गर्ने हाम्रा ‘प्राइमेट’ पुर्खाहरूलाई लोभ्याउनका लागि अधिक पाकेको फलभित्र रहेको इथानोलमा अन्य तीन गुण थिए । पहिलो, सदावहार जंगलमा छरिएर रहने फलको बोट पहिल्याउन सहयोग गर्ने अल्कोहलको सुगन्ध । दोस्रो, फलमा रहेको इथानोल र सुगरले दिने दुर्लभ तथा पर्याप्त क्यालोरी । तेस्रो, ब्याक्टेरियालगायत हानिकारक सूक्ष्म जीवाणुलाई तह लगाउने इथानोलको एन्टिसेप्टिक गुण ।

पाकेको फलफूलमा भएको अल्कोहलको यी फाइदाहरूले हाम्रा पुर्खामध्ये कुनै एक वा उसको समूहलाई आकर्षित गर्‍यो । रूखबाट ओर्लेर नयाँ क्षेत्र अन्वेषण गर्ने ‘प्राइमेट’ समूहले आहारा र पोषणको नयाँ भूगोल पत्ता लगायो । फलमा रहेको इथानोलको सुगन्धले लोभ्याएर त्यसको पछि लाग्नेले अरूभन्दा ज्यादा ऊर्जा प्राप्त गर्‍यो । इथानोलको ‘साइकोएक्टिभ’ गुणले अतिरिक्त भोक जगाउँछ । सीमित फलफूल उपभोगका लागि सघन प्रतिस्पर्धा रहने त्यो समयमा पाकेको फलभित्रको अल्कोहलले अधिकतम फलफूल उपभोग गर्न थप सहयोग गर्‍यो । यी फाइदाले गर्दा पाकेको फल सेवन गर्ने हाम्रा प्राइमेट्स पुर्खाहरूको जीवनकाल र प्रजननको औसत दर बढी भयो । कालान्तरमा फलमा रहेको इथानोल पहिल्याउने, उपभोग गर्ने र त्यसलाई पचाउने आनुवंशिक गुणलाई प्राकृतिक छनोटले ‘फेवर’ गर्‍यो ।

तर, इथानोलले मातेको ‘बाँदर’ प्राकृतिक छनोटको कडा जाँचमा कसरी पास हुन सक्छ ? ऊ त अन्य जनावरको सिकार हुनुपर्ने हो, लडेर मर्नुपर्ने हो । ड्युडले भन्छन्, ‘एकाध घटनामा बाहेक प्राकृतिक रूपमा निर्मित अल्कोहलको सम्पर्क र सेवन गर्ने कुनै पनि जनावरले मातेको व्यवहार देखाएको उदाहरण छैन ।’ उनका अनुसार, अधिक पाकेको फलमा पाइने इथानोलको मात्रा निकै थोरै हुन्छ । पाकेको (बयलिएको) फलफूलमा अल्कोहलको मात्रा ०.५ देखि ३ प्रतिशत मात्रै हुन्छ । त्यसैले यसको सेवन गर्ने प्राणी मात्दैनन् । फ्रुट फ्लाई, मलेसियन छुचुन्द्राहरूमा त झन् अल्कोहल पचाउन सक्ने एन्जायम पर्याप्त हुन्छ । त्यस्तै निश्चित मात्रामा इथानोल पचाउन/प्रशोधन गर्न सक्ने क्षमता अपुच्छ बाँदर र मानव पुर्खाको लाइनमा आनुवंशिक रूपमै छनोट भएर आएको हो । मदिराप्रेम करिब एक करोड वर्षअगाडि नै हाम्रा पुर्खाहरूको जिनमा लेखिएको नियति हो । हामी त्यसको विरासत मात्रै धान्दै छौं ।

नभन्दै, विज्ञहरूले आधुनिक मानव र अफ्रिकन अपुच्छ बाँदरको साझा पुर्खा समूहमा करिब १ करोड वर्षअगाडि एडीएचफोर जिनमा उत्परिवर्तन आएको पत्ता लगाएका छन् । यो उत्परिवर्तनले इथानोलबाट ऊर्जा दोहन गर्ने एन्जायमको क्षमतामा ४० गुणाले अभिवृद्धि भएको पुष्टि भएको छ । यसले हाम्रा पुर्खालाई जंगलको सतहमा झरेको फलबाट कुनै प्रतिकूल प्रभावबिना सहज र पोषिलो ऊर्जा उपभोग गर्न ठूलो सहयोग गर्‍यो । यो आनुवंशिक क्षमता प्राकृतिक रूपमा उपलब्ध न्यून मात्राको अल्कोहल पचाउने मात्रै हो । खान्कीमा थोरै मदिराको फाइदाबारे त पछिल्ला शोधले पनि पुष्टि गरेका छन् । हाम्रा पुर्खा रूखबाट मदिरापान गर्न मात्र ओर्लेका थिए, मातेर चुर हुन भने होइन । (द ड्रंकन मंकी, रबर्ट ड्युडले) ।

इभोलुसनरी ह्याङ्ओभर

क्रम विकासको कुनै कालखण्डमा प्राणीको दीर्घजीवन र वंश विस्तार गर्न उपयोगी सिद्ध भएका शारीरिक/व्यावहारिक गुणहरूको उपादेयता सकिएपछि पनि ती गुणहरू कायम रहनुलाई अध्येताहरू इभोलुसनरी ‘ह्याङ्ओभर’ भन्छन् । मानिसको मदिराप्रेम पनि त्यही ह्याङ्ओभर हो । ड्युडलेको तर्कअनुसार, अल्कोहलको सुगन्धमा लोभिएर अधिक पाकेको फलछेउ पुगेका हाम्रा प्राइमेट पुर्खाहरूले बदलामा उच्चकोटीको पोषण ‘पुरस्कार’ पाएका थिए । मदिराको उपादेयता भन्नु त्यससँग जोडिएर आउने पोषण थियो ।

अब त्यो परिस्थिति बदलियो । अल्कोहलको सुगन्ध र स्वादमा ‘लोभिने’ गुणको उपादेयता सकियो । ड्युडलेका अनुसार, अब यो केवल ह्याङ्ओभर मात्रै हो । अल्कोहल सेवनलाई क्यालोरी प्राप्तिसँग जोड्ने मस्तिष्कको त्यही आदिम ‘रिवार्ड पाथवे’ अहिले पनि सक्रिय हुनु मानिसको अधिक मदिरासेवनको कारण हो ।

कुनै बेला जीवनपयोगी रहेको गुणको आनुवंशिक आधारलाई प्राकृतिक छनोटले हज्जारौं पुस्तासम्म पनि कायम राख्छ । मानिसको मदिरामोह पनि यस्तै हो । तर, कृषि क्रान्तियता मान्छेले मदिरा आफूले चाहेको बखत र परिमाणमा उत्पादन गर्न थाल्यो र गडबडी सुरु भयो । ड्युडले भन्छन्, ‘आदिम जंगलमा अल्कोहलको सुगन्ध पहिल्याउँदै जाँदा पोषणको जुन फाइदा प्राप्त हुन्थ्यो, अहिले सुपरमार्केटमा सजिएका बियर, वाइन, स्पिरिट आदिमा चहार्दा घातक हुन्छ ।’ अल्कोहलको सुगन्ध, स्वाद र त्यसले पार्ने मानसिक प्रभावको लोभमा पोषिलो फल पहिल्याउने/सेवन गर्ने त्यो आदिम गुण वर्तमान युगमा उपादेयता सकिएको ‘ह्याङ्ओभर’ मात्रै हो । मान्छेको सामाजिक र सांस्कृतिक विकासको रफ्तार नै यस्तो तीव्र भइदियो कि, मदिराको सानो मात्रामा लोभिएको मान्छेले यस्तो तीव्र रफ्तारमा आफ्नो आवश्यकताअनुरूप त्यसको उत्पादन/उपभोग गर्ला भनेर उद्विकासको सुस्त गतिले अनुमान गर्न सकेन । एकाएक आफैंले सृजना गरेको परिवेशसँग मानिसको जैविक क्षमताले सन्तुलन मिलाउन सकेन वा सन्तुलित हुन पर्याप्त समय पाएकै छैन ।

एक सामाजिक पियक्कड

मान्छले मदिरा एक्लै पिएन । उसले यसमा सामाजिक आयाम थपिदियो । उसले समूहमा बसेर पियो । सामाजिक अन्तरघुलनका लागि मदिराले व्यक्तिको हिचकिचाहट हटाइदियो । मातेको र तातेको सुरमा उसले व्यक्तिगत स्वार्थ बिर्सियो र पिउनेकर्ममा सरिक समूहप्रति आफ्नो प्रेम अभिव्यक्त गर्‍यो । ड्युडले हाइपोथेसिसको राम्रो पक्ष के भने यसले मदिरा पारखलाई उद्विकासको सैद्धान्तिक प्रारूपभित्र राखेर हेर्छ । मदिरासेवनको जोखिमलाई व्यक्तिगत वा समूहले प्राप्त गर्न सक्ने प्रतिफलसँग तौलेर हेर्छ । व्यक्तिगत तहमा मान्छेले मदिराको मजा लियो, किनभने यसले पोषण प्राप्तिलाई सघायो । उसले यसलाई सामूहिक संस्कृति बनायो किनभने सामाजिक सम्बन्ध निर्माणका जटिलतालाई हटाउन यसले ‘सोसल लुब्रिकेन्ट’ को काम गर्‍यो । मातेको एक्लो मान्छे अफ्रिकाको जंगलमा बाघसँग डरायो होला, तर मातेका ५० मान्छेको अगाडि बाघ कुलेलम ठोक्यो होला । रबर्ट ड्युडलेको यो हाइपोथेसिस मानिसको मदिरामोहको व्याख्या गर्ने अन्य थुप्रै सैद्धान्तिक व्याख्यामध्ये पछिल्लो समय चर्चामा आएको हो । यस्ता सैद्धान्तिक फ्रेमवर्कहरू केही एकआपसका परिपूरक छन् भने केही विरोधाभासपूर्ण । नहोस् पनि कसरी मानिसको मदिरा व्यवहार आफैंमा यस्तै विरोधाभासले जेलिएको गाँठो हो ।

मदिरा कतै हिंसाको बीउ हो भने कतै मेलमिलापको पहिलो खुड्किलो । यसले मान्छेलाई नचाउँछ, यसैले मान्छेलाई बेहोस बनाउँछ । ग्रीसेलीहरूका लागि मदिरा आत्मनियन्त्रण जाँच गर्ने कसी थियो, नर्वेलीहरूका लागि कविताको स्रोत थियो । चिनियाँ सम्राट्हरूको उत्थानको कारण यही थियो, पतनको कारण पनि यही भयो । राज्यका लागि मदिरा आम्दानीको स्रोत हो । र, अराजकता अनि रोगी राज्यको कारण पनि यही हो । कतै यो ऊर्जाको स्रोत हो, कतै यो शारीरिक र मानसिक शिथिलताको कारक हो ।

मदिरा कतै सभ्यता आरम्भको ऊर्जा हो, कतै सभ्यता विनाशको आगो !

प्रकाशित : श्रावण ९, २०७८ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×