२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खोप नपाउँदा नाराबाजी

सर्वसाधारणले दिनभर टन्टलापुर घाममा लाइन बसेर पनि लगाउन पाएनन् 
अगन्धर तिवारी

पर्वत — खोप लगाउन आउनू भन्ने सूचना पाएपछि कुश्मा–९ को सार्वजनिक माविका शिक्षक नरनाथ सापकोटा एकाबिहानै घरबाट निस्किए । जिल्ला स्वास्थ्य कार्यालयमा ९ बजे आइपुगेका सापकोटासहितका दर्जनबढी शिक्षक दिउँसो २ बजेसम्म लाइनमा बसे । 

खोप नपाउँदा नाराबाजी

पालो आउला भन्ने सोचेका उनीहरूलाई एक्कासि कुश्मा–५ र ६ वडाका व्यवसायी र शिक्षकबाहेकले खोप लगाउन नपाइने जानकारी भयो । करिब ५ घण्टा टन्टलापुर घाममा लाइन बसेका शिक्षक खोप लगाउन नपाउने खबरले निराश भए । निराशालाई आक्रोशमा परिणत गर्दै केहीबेर खोप केन्द्रमै नाराबाजी गरे । उनीहरूले खोप वितरणमा एकरूपता कायम गर, खोपमा घूसपैठ गर्न पाइँदैन, खोप वितरणमा विकेन्द्रीकरण गरलगायत नाराबाजी गरेका थिए । प्रहरीलाई समेत भीड नियन्त्रण गर्न केहीबेर हम्मेहम्मे पर्‍यो ।

कोरोनाविरुद्धको खोप वितरण तथा व्यवस्थापनको कमजोरीका कारण यति बेला जिल्लाभर समस्या सिर्जना भएको छ । अहिले वितरित खोप छुटपुट जेष्ठ नागरिक, स्वास्थ्यकर्मीका साथै ५५ वर्षमाथि उमेर समूहकालाई प्राथमिकता दिइएको छ । तर, सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मीबाटै सूचना सम्प्रेषणमा भएको कमजोरीका कारण सर्वसाधारणले सास्ती भोगेका छन् । सूचनामा ५५ वर्षमाथिको उमेर समूह, शिक्षक, विद्यालय कर्मचारी, व्यवसायी, चालक, सहचालक र वैदेशिक रोजगारीमा जाने नागरिकलाई खोप लगाउन आग्रह गरिएको छ । तर, कुन क्षेत्रका नागरिकले कुन मितिमा लगाउन आउने भनेर नखुलाउँदा भीडभाड बढ्ने, झैझगडा हुने र नाराबाजीसम्मको स्थिति सिर्जना भएको छ ।

‘हामीलाई यो दिनमा आउनू भनेको भए हुन्थ्यो,’ शिक्षक बद्री लामिछानेले भने, ‘कामै नभएजस्तो गरी बोलाएर घाममा सुकाउने काम भयो ।’ हल्लाखल्ला गर्न थालेपछि केहीबेर नाराबाजीमा संलग्न शिक्षकलाई खोप लगाएर पठाइयो । तर, खोप केन्द्रमा पुगेका अधिकांश सर्वसाधारण त्यत्तिकै फर्किए । ‘समूह तोकेर बोलाउनुपर्नेमा गम्भीर कमजोरी भएको छ,’ व्यवसायी ऋषिबहादुर थापाले भने, ‘एकैपटक बोलाएर भीडभाड बढाउने काम भयो । यसले कोरोना रोकिनुको सट्टा झन् बढाउँछ ।’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसमेत आफैं खोप केन्द्रमा केहीबेर बसेर चिनेजानेकालाई पालो नकुराई खोप लगाएको शिक्षकले गुनासो गरे ।

सरोकारवाला भने सूचनाअनुसार प्राथमिकतामा परेकालाई लगाइएको दाबी गर्छन् । जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रवीण भण्डारीले खोपको व्यवस्थापन कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाले गरेकाले यसबारे जनस्वास्थ्य कार्यालय जिम्मेवार हुनुपर्ने औचित्य नरहेको बताए । ‘यसको सबै जिम्मेवारी नगरको स्वास्थ्य शाखाको हो,’ उनले भने, ‘हामीले स्पेस दिएको मात्रै हो ।’

कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले नबोलाएका व्यक्तिहरूका कारण भीडभाड बढेको बताए । ‘आज (बिहीबार) कुश्मा ५ र ६ वडावासीलाई मात्रै लगाउने भनेको हो,’ उनले भने, ‘अरू वडावासीलाई बोलाएकै होइन । उनीहरू आएपछि भीडभाड भयो । व्यवस्थापनमा समस्या भयो ।’

प्रकाशित : श्रावण ८, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?