३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुरिँदै गंगापूर्ण हिमताल

समयमै चासो नदेखाए केही वर्षभित्रै ताल मैदान हुने जोखिममा 
आश गुरुङ

लमजुङ — मानवबस्ती नजिकै भएकाले पर्यटकहरू मनाङको गंगापूर्ण हिमताल सयर गर्न रुचाउँछन् । तर पछिल्लो समय बाढीपहिरोका कारण गंगापूर्ण हिमताल जोखिममा परेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । हिमपहिरो र पछिल्लोपटक आएको बाढीपहिरोले ताल पुरिँदै आएको छ । 

पुरिँदै गंगापूर्ण हिमताल

असार पहिलो साता हिमाली क्षेत्रमा ठूलो पानी पर्‍यो । ‘कहिल्यै पानी नपर्ने हिमालमा यस पटक ठूलो पानी परेपछि हिउँ पगालेर बाढी बनायो । पहिरो चलायो । लेदोले गंगापूर्ण ताल पुरिएको छ,’ उनले भने । ताल मनाङकै सान र मुटु भएकाले नै पर्यटक यो ताल नघुमी नफर्कने उनले बताए । तर, जलवायु परिवर्तन र बर्सेनि बढ्दो वर्षाका कारण तालमा बालुवा, हिलोमाटोले पुरिँदै गएको छ । केही साताअघिको वर्षाले तालको अधिकांश भाग पुरिएको उनले बताए ।

‘अब पनि यो तालको संरक्षणमा चासो देखाइएन भने केही वर्षमा मैदानमा परिवर्तन हुनेछ,’ उनले भने, ‘ताल जोगाउन स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायतलाई भने पनि पहल भएन ।’

मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने गंगापूर्ण हिमताल [२१ वर्षअघिको अवस्था] । तस्बिर सौजन्य : विनोद गुरुङ

वडाध्यक्ष सोनाम गुरुङका अनुसार ताल साँघुरिएको छ । ‘यस पटकको बाढीपहिरोले ताललाई बित्यासै पार्‍यो । हिमालबाट ढुंगामाटो सबै ल्यायो । बीचसम्म आएको छ,’ उनले भने । ताल जोगाउन छलफल गर्ने, पर्खाल लगाएको भए पनि जोगाउन नसकेको उनले बताए । हिमपहिरो र यस पटकको बाढीपहिरोले ताल जोखिममा पारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार तालको आधा भाग पुरिइसकेको छ । ‘अहिले त तालजस्तो पनि देखिँदैन,’ उनले भने, ‘यसको संरक्षणका लागि ठूलै बजेट आवश्यक पर्छ ।’

मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने गंगापूर्ण हिमताल । तस्बिर सौजन्य : विनोद गुरुङ

गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तालको संरक्षणका लागि केन्द्रीय सरकारले साढे ४ करोड बजेट विनियोजन गरेको छ । टेन्डर प्रक्रियामा गइसकेको छ । यसबाट हिमालबाट झर्ने बाढीलाई थिग्य्राउन कुनामा चेकड्याम बनाउने, माटो फालेर ताललाई फराकिलो बनाउने, ड्याम बनाउने, वृक्षरोपण गर्नेलगायत योजना छ ।

मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने गंगापूर्ण हिमताल । तस्बिर सौजन्य : विनोद गुरुङ

यसअघि गाउँपालिकाबाट विनियोजित १० लाख रुपैयाँ र पर्यटन बोर्डबाट प्राप्त १० लाख रुपैयाँ साथै स्थानीयको श्रमदानबाट संरक्षणका लागि करिब १ सय मिटर पर्खाल लगाएको उनले बताए । समुद्री सतहबाट ३ हजार ५ सय ४० मिटर उचाइमा रहेको गंगापूर्ण मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्छ ।

प्रकाशित : श्रावण ७, २०७८ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?