१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अब पर्वतमै स्नातकोत्तर पढाइ

अगन्धर तिवारी

पर्वत — पहिलो पटक अब जिल्लाभित्रै स्नातकोत्तर तहको शिक्षा अध्यापन हुने भएको छ । सदरमुकामस्थित गुप्तेश्वर क्याम्पसमा व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ सुरु हुन लागेको हो । 

अब पर्वतमै स्नातकोत्तर पढाइ

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को असार २८ को बैठकले देशभरका २३ क्याम्पसलाई कक्षा सञ्चालनको अनुमति दिएको हो । त्रिविले शैक्षिक वर्ष २०७८/७९ देखि एमबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएकाले साउन १० गतेभित्र त्रिविको डिन कार्यालयमा २ लाख ५० हजार रुपैयाँ सम्बन्धन शुल्क बुझाउन भनेको छ ।

स्नातकोत्तर कक्षा सञ्चालन हुने खबरसँगै विद्यार्थी उत्साहित छन् । ‘हाम्रो अबको पढाइ कता हुने भन्ने चिन्ता थियो,’ स्नातक सकेर बसेकी उमा सिलवालले भनिन्, ‘अब जिल्लामै पढ्न पाइने भयो । खुसी लागेको छ ।’ व्यवस्थापन संकायमा स्नातक गरेर बसेका करिब डेढ सय जना विद्यार्थी उत्साहित भएको उनले बताइन् । क्याम्पस स्थापनाको ३० वर्षपछि स्नातकोत्तरको कक्षा सञ्चालन हुने भएपछि उत्साहित भएको पहिलो ब्याचका विद्यार्थी गोविन्द पहाडीले सामाजिक सञ्जालमा लेखेका छन् । कुस्माकै अर्जुन पौडेलले आफूले अध्ययन गरेको क्याम्पसमा स्नातकोत्तर पढाइ हुने कुराले एकदमै खुसी भएको उल्लेख गरेका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्त कर्माचार्यका अनुसार सेमेस्टर प्रणालीमा सञ्चालन हुने कक्षा सन्ध्याकालीन समयमा चलाउने तयारी गरिएको छ । पहिलो वर्ष कम्तीमा ८० विद्यार्थी भर्ना हुन आउने अनुमान गरिएको कर्माचार्यले जनाए । क्याम्पस प्रमुख सुभाष पन्तले लामो समयदेखिको पहल सार्थक भएको बताए । उनले भने, ‘हामीले मानविकी र शिक्षाशास्त्रमा पनि माग गरेका छौं । विस्तारै होला ।’

पूर्वाधार र जनशक्तिलगायत संरचना बनाएपछि त्रिविको अध्ययन टोलीले गरेको स्थलगत अध्ययनका आधारमा सम्बन्धन पाएको उनले बताए ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?