१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

लगातारको पहिरोले सास्ती

अस्थिर धरातल, मर्स्याङ्दीको कटान, माथिल्लो क्षेत्रमा रोपाइँ गरिनुलगायत कारणले पहिरो खस्ने गरेको हो 
आश गुरुङ

लमजुङ — उत्तिसै उत्तिसको रूख भएकाले ठाउँको नाम उत्तिसघारी । त्यही उत्तिसघारीमा पहिरो चल्यो । तल मर्स्याङ्दी नदी बगेको छ । मर्स्याङ्दीमा मिसिने गरी खरखर बग्ने पहिरो भएकाले बेंसीसहर नगरपालिका–६ चनौटे नजिकैको पहिरोलाई खरखरे पहिरो भनिन्छ । पहिरो यतिबेला दिनदिनै बगेको छ ।

लगातारको पहिरोले सास्ती

दिनदिनै लोडरले पन्छाइन्छ । यो हिमाली जिल्ला मनाङ र लमजुङको मर्स्याङ्दी गाउँपालिका जाने–आउने एक मात्र सडक हो । उक्त सडक बेंसीसहरदेखि ३ किलोमिटरको दूरीमा पर्छ ।

स्थानीय शंकर रिमालका अनुसार अहिले बाटो हिँडिसाध्यै छैन । ‘अहिलेसम्म मानवीय क्षति भएको छैन,’ उनले भने । बेंसीसहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलका अनुसार बाटो कहिले बन्द हुन्छ, थाहा हुँदैन । ‘बाटो खुला होला भनेर आयो, बन्द भइरहेको हुन्छ । फर्केर बगैंचाको झोलुंगे पुल हुँदै पारि तरेर बेलौती बिसौनाको झोलुंगे पुल तरेर चनौटे हुँदै आउजाउ गर्नुपरेको छ,’ उनले भने । बेंसीसहर–चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिका संयोजक एवं खुदी उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रकाश कतिलाका अनुसार अहिले खाद्यान्न आपूर्ति ठप्प छ । ‘बाटो खुलेपछि बेंसीसहरमा सामान लिन जान्छौं । आउँदा बन्द भइसकेको हुन्छ,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बेंसीसहर–चामे सडकको खुदी–बेंसीसहर खण्डमा खरखरे पहिरोले रुवाउने गरेको बताए । ‘काम परेर बेंसीसहर जाँदा र फर्किंदा खरखरेले रोक्छ,’ उनले भने । उनका अनुसार खरखरेको पहिरो रोक्ने दीर्घकालीन समाधानको प्रक्रिया अघि बढेको बताए । बेंसीसहर–६ का अध्यक्ष भोजबहादुर रिमालले पहिरोले माथिल्लो क्षेत्रका गाउँ नै जोखिममा परेको बताए । उनका अनुसार भिरालो जमिन, कमजोर धरातल, मर्स्याङ्दी नदीको कटान, पहिरोमा मूल फुट्नु, माथिल्लो क्षेत्रमा धान रोपाइँ गरिनु लगायत कारणले पहिरो खस्ने गरेको हो । पहिरो खसेपछि आउजाउ ठप्प हुँदा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा समस्यामा पर्ने गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले खरखरेमा झरेको पहिरो पन्छाउने काम दिनदिनै भइरहेको बताए । ‘पहिरो पन्छायो, पानी परेपछि फेरि पहिरो खस्छ । यसले समस्या भएको छ,’ उनले भने, ‘बर्खायाम जसोतसो चलाउनुपर्ला । हिउँदबाट समस्या समाधानको दीर्घकालीन कार्य सुरु हुन्छ ।’

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षदेखि खरखरेको पहिरोलाई हटाएर नयाँ बाटो बनाउने काम सुरु हुन्छ । अहिले पहिरो खस्ने समस्या भएकाले एउटा लोडर खरखरेकै लागि राखिएको उनले बताए । उनका अनुसार खरखरे क्षेत्रमा मात्रै १ सय ९० मिटर काम गर्नुपर्छ । बजेटबाट बाटोमाथिको माटो निकाल्ने, तौल घटाउने, माथिल्लो क्षेत्रमा किला ठोक्ने, पानीलाई मुनिबाट निकाल्नेलगायत नयाँ प्रविधिबाट काम गरी सडक निर्माण हुने उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि बेंसीसहर–खुदी कालोपत्रको काम पनि सुरु हुन्छ ।

बेंसीसहरबाट मनाङसम्म सडक पुर्‍याउने भनी सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेंसीसहरबाट सडक निर्माण सुरु गरेको थियो । सडक निर्माण गरेकै वर्षदेखिको यो समस्या अहिलेसम्म पनि छ । पहिरोले माथिल्लो गाउँका २० घर बढी जोखिममा रहेको वडाध्यक्ष रिमालले बताए ।

प्रकाशित : श्रावण ६, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?