लगातारको पहिरोले सास्ती- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगातारको पहिरोले सास्ती

अस्थिर धरातल, मर्स्याङ्दीको कटान, माथिल्लो क्षेत्रमा रोपाइँ गरिनुलगायत कारणले पहिरो खस्ने गरेको हो 
आश गुरुङ

लमजुङ — उत्तिसै उत्तिसको रूख भएकाले ठाउँको नाम उत्तिसघारी । त्यही उत्तिसघारीमा पहिरो चल्यो । तल मर्स्याङ्दी नदी बगेको छ । मर्स्याङ्दीमा मिसिने गरी खरखर बग्ने पहिरो भएकाले बेंसीसहर नगरपालिका–६ चनौटे नजिकैको पहिरोलाई खरखरे पहिरो भनिन्छ । पहिरो यतिबेला दिनदिनै बगेको छ ।

लमजुङको बेंसीसहर–चामे सडकअन्तर्गत उत्तीसघारी खरखरेमा सडक फराकिलो बनाइँदै। तस्बिर : कान्तिपुर

दिनदिनै लोडरले पन्छाइन्छ । यो हिमाली जिल्ला मनाङ र लमजुङको मर्स्याङ्दी गाउँपालिका जाने–आउने एक मात्र सडक हो । उक्त सडक बेंसीसहरदेखि ३ किलोमिटरको दूरीमा पर्छ ।

स्थानीय शंकर रिमालका अनुसार अहिले बाटो हिँडिसाध्यै छैन । ‘अहिलेसम्म मानवीय क्षति भएको छैन,’ उनले भने । बेंसीसहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलका अनुसार बाटो कहिले बन्द हुन्छ, थाहा हुँदैन । ‘बाटो खुला होला भनेर आयो, बन्द भइरहेको हुन्छ । फर्केर बगैंचाको झोलुंगे पुल हुँदै पारि तरेर बेलौती बिसौनाको झोलुंगे पुल तरेर चनौटे हुँदै आउजाउ गर्नुपरेको छ,’ उनले भने । बेंसीसहर–चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिका संयोजक एवं खुदी उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रकाश कतिलाका अनुसार अहिले खाद्यान्न आपूर्ति ठप्प छ । ‘बाटो खुलेपछि बेंसीसहरमा सामान लिन जान्छौं । आउँदा बन्द भइसकेको हुन्छ,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बेंसीसहर–चामे सडकको खुदी–बेंसीसहर खण्डमा खरखरे पहिरोले रुवाउने गरेको बताए । ‘काम परेर बेंसीसहर जाँदा र फर्किंदा खरखरेले रोक्छ,’ उनले भने । उनका अनुसार खरखरेको पहिरो रोक्ने दीर्घकालीन समाधानको प्रक्रिया अघि बढेको बताए । बेंसीसहर–६ का अध्यक्ष भोजबहादुर रिमालले पहिरोले माथिल्लो क्षेत्रका गाउँ नै जोखिममा परेको बताए । उनका अनुसार भिरालो जमिन, कमजोर धरातल, मर्स्याङ्दी नदीको कटान, पहिरोमा मूल फुट्नु, माथिल्लो क्षेत्रमा धान रोपाइँ गरिनु लगायत कारणले पहिरो खस्ने गरेको हो । पहिरो खसेपछि आउजाउ ठप्प हुँदा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा समस्यामा पर्ने गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले खरखरेमा झरेको पहिरो पन्छाउने काम दिनदिनै भइरहेको बताए । ‘पहिरो पन्छायो, पानी परेपछि फेरि पहिरो खस्छ । यसले समस्या भएको छ,’ उनले भने, ‘बर्खायाम जसोतसो चलाउनुपर्ला । हिउँदबाट समस्या समाधानको दीर्घकालीन कार्य सुरु हुन्छ ।’

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षदेखि खरखरेको पहिरोलाई हटाएर नयाँ बाटो बनाउने काम सुरु हुन्छ । अहिले पहिरो खस्ने समस्या भएकाले एउटा लोडर खरखरेकै लागि राखिएको उनले बताए । उनका अनुसार खरखरे क्षेत्रमा मात्रै १ सय ९० मिटर काम गर्नुपर्छ । बजेटबाट बाटोमाथिको माटो निकाल्ने, तौल घटाउने, माथिल्लो क्षेत्रमा किला ठोक्ने, पानीलाई मुनिबाट निकाल्नेलगायत नयाँ प्रविधिबाट काम गरी सडक निर्माण हुने उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि बेंसीसहर–खुदी कालोपत्रको काम पनि सुरु हुन्छ ।

बेंसीसहरबाट मनाङसम्म सडक पुर्‍याउने भनी सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेंसीसहरबाट सडक निर्माण सुरु गरेको थियो । सडक निर्माण गरेकै वर्षदेखिको यो समस्या अहिलेसम्म पनि छ । पहिरोले माथिल्लो गाउँका २० घर बढी जोखिममा रहेको वडाध्यक्ष रिमालले बताए ।

प्रकाशित : श्रावण ६, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

जमघट र मेलापातले संक्रमण बढ्यो

सेवाग्राहीको चाप बढ्दा सरकारी कर्मचारी र बैंकरमा समेत संक्रमण
हरिराम उप्रेती

गोरखा — गत शनिबार सहिद लखन गाउँपालिका–८ छापथोक हटिया गाउँका १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजिटिभ आयो । असार ३१ मा पनि उक्त गाउँका २५ जनाको एन्टिजेन परीक्षणमा २३ को रिपोर्ट पोजिटिभ आएको थियो ।

शनिबार ५५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । छापथोकमा ४० जनाभन्दा बढीमा रुघाखोकीजस्ता लक्षण देखिएको गाउँ स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए । ‘केही दिनअघि २–४ जनालाई रुघाखोकी देखिएको रहेछ, परीक्षण भएको थिएन,’ उनले भने, ‘असार १५ यता गाउँमा मेलापातको चाप छ । समूहमा काम गर्दा एकबाट अर्कोमा सर्दै गयो । फेरि चाडपर्व सुरु भयो, जमघट र पाहुना लाग्ने क्रमसँगै जोखिम बढेको हो ।’

कोरोना संक्रमणको दर घटेको भन्दै जिल्लाभर निषेधाज्ञा खुकुलो बनाइएको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि खुलेका छन् । भीडभाड हुने ठाउँमा मास्कको प्रयोग भए पनि भौतिक दूरीलगायत अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन । आर्थिक वर्षको अन्त्य भएकाले भीडभाड बढ्दा मध्यअसारयता सरकारी तथा बैंकका कर्मचारीसमेत संक्रमित बनेका छन् । पछिल्लो पटक धार्चे गाउँपालिकाका ७ कर्मचारीमा संक्रमण पाइएको छ । अजिरकोटको भच्चेकमा ८ जना बैंकर पनि संक्रमित भएका छन् । ‘अन्तिम भुक्तानी लिने बेला बैंक बन्द गरौं भन्न पनि मिलेन,’ अजिरकोटका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले भने, ‘त्यो बेला चाप बैंकमा भइदियो, फेरि निषेधाज्ञा खुकुलो भएपछि गाडी चल्न थाले, आवतजावत बढेपछि जोखिम त्यसै बढ्यो ।’

स्वास्थ्य कार्यालयका अनुसार केही दिनयता परीक्षण गरिएकामध्ये झन्डै २८ प्रतिशतमा संक्रमण पाइएको छ । जिल्लामा हाल सक्रिय संक्रमित ३ सय ४५ छन् । आरुघाट–६ कल्लेरीको एउटै गाउँका २९ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले कोरोना फैलावटका लागि मेलापात पनि सहायक कारण बनेको बताए । ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएकाहरूलाई मेलापात नजान आग्रह गरिए पनि रोपाइँको सिजन भएकाले सम्भव नदेखिएको उनको भनाइ छ ।

दुई सातायता गोरखामा निषेधाज्ञा खुकुलो बनाइए पनि दैनिक संक्रमितको सख्या भने पहिले जस्तै रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । ‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ छैन, रोपाइँमा दूरी कायम हुने कुरै भएन,’ उनले भने, ‘गाउँशहर गर्ने क्रम पनि बढेको छ । यसरी जति मुभमेन्ट भयो त्यति जोखिम रहन्छ ।’

प्रकाशित : श्रावण ६, २०७८ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×