भ्रष्टाचार आरोपमा ४ जनाविरुद्ध मुद्दा

गोरखा — सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

भ्रष्टाचार आरोपमा ४ जनाविरुद्ध मुद्दा

बारपाक सुलिकोटको झाँक्रीचोक–धारापानी–देउराली–बाहकोट सडक निर्माणका क्रममा इस्टिमेटअनुसार काम नगरी इन्जिनियर र ठेकेदारको मिलेमतोमा रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ । अख्तियारले गुरुङसहित लेखापाल गंगाबहादुर घले, इन्जिनियर सुजन अम्गाईं र सोम एन्ड अमर कन्स्ट्रक्सन प्रालिका अमरबहादुर गुरुङविरुद्ध आइतबार आरोपपत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा रकम विनियोजन भएको उक्त सडकमा वास्तविक कार्यभन्दा बढी ३ लाख ६८ हजार ४ सय २० रुपैयाँ १७ पैसा (भ्याटसहित) रुपैयाँ बढाई अपचलन गरेको उनीहरूमाथि आरोप छ । निर्माण व्यवसायीसँगको मिलेमतोमा बढी रकम भुक्तानी गरी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको आरोपपत्रमा छ ।

निजहरूलाई बिगो ३ लाख ६८ हजार ४ सय २० रुपैयाँ १७ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय र दफा १७ बमोजिम बिगो असुलको मागदाबी गरिएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?