१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मर्मत सकेको एक सातामै भत्कियो बारपाक जोड्ने पक्की पुल

हरिराम उप्रेती

गोरखा — मर्मत सकेको एक सातामै बारपाक जोड्ने पक्की पुल भत्किएको छ । बाह्रकिलो–बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुलसँग जोडिएको सडक दरौदीको भेलले भत्काएको हो ।

मर्मत सकेको एक सातामै भत्कियो बारपाक जोड्ने पक्की पुल

पुल भत्किएपछि सोमबारबाट आवातजावत ठप्प बनेको छ । उक्त सडक भएर बारपाक, लाप्राक, गुम्दाका स्थानीय आउजाउ गर्दै आएका छन् । सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सदरमुकामसम्म पुग्न स्थानीयलाई सास्ती भएको छ ।

आइतबार रातिको भेलले अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका जोड्ने बालुवास्थित पक्की पुलको एकापटिको भाग कटान गरेको स्थानीय प्रदीप घलेले बताए । ‘गाडी आउन जान मिल्दैन, मान्छे भने हिँड्न मिलेको छ,’ उनले भने । पुलको बालुवातर्फको ‘एप्रोच’ सडक कटान भएको हो । डेढ साताअघिको दरौदीको भेलले पुलसँग जोडिएको सडक बगाएपछि मर्मत गरेर सवारी सुचारु भएको थियो ।

पुलसँगै जोडिएको सडक भाँसिएको र मर्मतको तयारी भइरहेको ११ किलो छेवेटार भालुस्वाँरा सडकका इन्जिनियर राजेश यादवले बताए । ‘मर्मत सकेको हप्तादस दिन भएको थियो, ग्राभेल राखेर एप्रोच सडक बनाएका थियौं,’ उनले भने,‘फेरि गए रातिको भेलले काटिदिएछ, आजैबाट मर्मत थाल्छौं ।’ नदी डाइभर्ट नहुँदा खोला कर्नरतिर (बालुवातर्फ) बगेको उनले बताए ।

प्रकाशित : श्रावण ४, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?