२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

धमाधम बन्द हुँदै आइसोलेसन

भानु नगरपालिकाको १७ बेड क्षमताको कोरोना अस्पताल पनि असार १ देखि बन्द
सम्झना रसाइली

तनहुँ — कोरोना संक्रमितको व्यवस्थापन तथा उपचार सहज बनाउन तयार पारिएका आइसोलेसन कक्ष खाली हुँदै गएका छन् । संक्रमितको स्वास्थ्यमा जटिल समस्या नदेखिनुका साथै अधिकांश होम आइसोलेसनमै बस्ने गरेकाले संस्थागत आइसोलेसन खाली भएका हुन् । 

धमाधम बन्द हुँदै आइसोलेसन

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै जनजीवन विस्तारै लयमा फर्कंदै छ । जोरबिजोर रूपमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका र अन्य पेसा व्यवसाय पनि समयावधि तोकेर खुला गरिएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै सर्वसाधारणको चहलपहल सहरबजार क्षेत्रमा बाक्लिँदै गएको छ । असार पहिलो साताबाट क्रमिक रूपमा निषेधाज्ञा खुकुलो गरिँदै लगेसँगै सर्वसाधारणको चहलपहल बढ्दा कोरोना संक्रमण पुनः फैलने हो कि भन्ने जोखिम बढेको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘नागरिकस्तरबाट भएको लापरबाहीका कारण जिल्लामा संक्रमितको संख्या दैनिक थपिँदै गएको छ । संक्रमितको संख्या बढे पनि लक्षण नदेखिएको भन्दै होम आइसोलेसनमै बस्दा स्थानीय तहद्वारा सञ्चालन गरिएको आइसोलेसन कक्ष पनि खाली हुन थालेका छन् ।’

भानु नगरपालिकाको १७ बेड क्षमताको आइसोलेसन खाली हुँदा असार १ बाट कोरोना अस्पताल बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनले भने, ‘लक्षण देखिएका संक्रमितलाई दमौली अस्पतालको कोभिड उपचार केन्द्र र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा पठाउने गरिएको छ, लक्षण नदेखिएका होम आइसोलेसनमै बस्ने गरेका कारण नगरपालिकाले पुनरडिही स्वास्थ्य चौकीमा तयार गरेको कोरोना अस्पताल बन्द गरिएको छ ।’

व्यास नगरपालिकाले पनि पुरानो कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको ५० बेड क्षमताको सामुदायिक आइसोलेसन कक्ष बन्द गरेको छ । उक्त आइसोलेसनमा ८५ संक्रमितले उपचार सेवा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, ‘संक्रमित आउन छाडेपछि असार १९ मा आइसोलेसन बन्द गरिएको हो । नगरपालिकाले एमबीबीएस चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहितको टोली खटाएको थियो ।’

जिल्लाका अन्य पालिकाका आइसोलेसन कक्ष तयारी अवस्थामा रहे पनि संक्रमित भने उपचाररत छैनन् । भिमाद, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी, देवघाट, घिरिङ र रिसिङ गाउँपालिकाका १ सय ८ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा रहे तापनि खाली रहेको सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुखले बताएका छन् । बन्दीपुर गाउँपालिकाको १५ बेड क्षमताको आइसोलेसन कक्षमा एक, दमौली अस्पतालको ३१ बेड क्षमताको कोरोना उपचार केन्द्रमा २३ र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको ३० बेड क्षमताको कोभिड अस्पतालमा ८ जना उपचाररत छन् । दमौली अस्पतालमा २० जना जनरल बेड र ३ जना आईसीयूमा उपचाररत रहेको मेसु सुनील पौड्यालले बताए ।

‘सामान्य लक्षण देखिएका संक्रमित घरमै बस्न खोज्छन्,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा अन्यमा संक्रमण हुने खतरा तथा संक्रमित नै गम्भीर स्थितिमा पुग्छन् । अन्तिम अवस्थामा अस्पताल आइपुग्दा स्थिति सम्हाल्न स्वास्थ्यकर्मीलाई कठिन हुने गरेको छ ।’ स्थानीयको लापरबाहीले दैनिकजसो संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । कार्यालय प्रमुख अधिकारीले भने, ‘निषेधाज्ञा केही खुकुलो गरिएको छ । मानिसहरू अनावश्यक रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई घरबाहिरा निस्किँदा संक्रमणको जोखिम बढेको छ ।’

जिल्लामा हालसम्म ९ हजार २ सय १३ जनाको एन्टिजेन र पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा ३ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हाल २८६ सक्रिय संक्रमित उपचारत छन् भने ९१ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ४, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?