प्रभावकारी बन्दै संकट व्यवस्थापन केन्द्र- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रभावकारी बन्दै संकट व्यवस्थापन केन्द्र

निषेधाज्ञाका कारण धेरैमा मानसिक तनाव
सम्झना रसाइली

तनहुँ — एक किशोरीलाई उपचारका लागि असार १४ मा दमौली अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रमा ल्याइयो । १८ वर्षकी उनी श्रीमान्‌बाट पीडित भई आत्महत्या गर्ने अवस्थामा पुगेपछि प्रहरीले उद्धार गरी केन्द्रमा ल्याएको थियो ।

मानसिक तनावबाट गुज्रिएकी उनी आत्महत्यासम्म गर्ने अवस्थामा पुगेकी केन्द्रकी फोकल पर्सन हममाया पुनले बताइन् । ‘विवाहको २ वर्षपछि श्रीमान्को माया, हेरचाह नपाएका कारण तनावमा रहिछन्,’ पुनले भनिन्, ‘पीडा सुनिदिने कोही नभएपछि डिप्रेसनमा गई आत्महत्या गर्ने स्थितिमा पुगेकी रहिछन् ।’

यसैगरी, असार ६ मा ५ वर्षीया बालिकालाई उनकै १५ वर्षीय धर्मदाइले यौनजन्य दुर्व्यवहार गरेपछि पीडितलाई प्रहरीले केन्द्रमा पठायो । गत वर्षको असार २० सम्म प्रहरीमार्फत ४५, आफैं ५, आफन्तबाट २९, संघसंस्थाबाट ३ गरी ८२ जनाले केन्द्रबाट सेवा लिएका छन् । जसमा ७२ महिला र १० पुरुष छन् । उनीहरूमा २१ जना १४ वर्षसम्मका, १३ जना १५–१८ वर्षका, ४२ जना १९–४९ वर्षका, १ जना ५०–६० वर्षका र ५ जना ६० वर्षमाथि उमेर समूहका रहेको केन्द्रले जनाएको छ ।

‘१४ वर्ष मुनि र १९ देखि ४९ वर्ष उमेर समूहका बढि उपचार तथा परामर्शका लागि आएको देखिन्छ,’ उनले भनिन्, ‘कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मानिस आफ्नो दैनिक क्रियाकलापबाट अलग भई घरमै बस्नुपरेका कारण धेरैमा मानसिक तनाव उत्पन्न भएको देखिन्छ । कतिपय घरमै बस्दा हिंसाजन्य क्रियाकलापबाट पीडित बनेको पाइएको छ ।’

हिंसापीडित महिला, पुरुष तथा बालबालिकालाई उपलब्ध गराएको निःशुल्क मनोसामाजिक परामर्श तथा उपचार सेवा प्रभावकारी रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुनिल पौड्यालले बताए । उनले भने, ‘सेवाग्राहीलाई उनीहरूको अवस्था हेरेर एक हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म यातायात खर्च पनि व्यवस्थापन गराउने गरेका छौं ।’

केन्द्रले आर्थिक वर्ष २०७७/७८ मा ८८ हजार रुपैयाँ सेवाग्राहीलाई उपचार खर्च उपलब्ध गराएको थियो । केन्द्रबाट आर्थिक वर्ष २०७५/७६ मा ७१, २०७६/७७ मा ४९ जनाले सेवा लिएका थिए । ‘प्रत्येक वर्ष हिंसामा पर्नेको संख्या बढेको देखिन्छ’, पुनले भनिन्, ‘समाजमा यस्ता हिंसा पहिलेदेखि नै रहेको र पछिल्लो समय उपचार हुन्छ भन्ने सचेतना फैलिन थालेपछि पीडित स्वयं उपचारको दायरामा आउनुहुन्छ ।’

प्रकाशित : श्रावण ३, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

उपेक्षामा चुँदीरम्घा, हुनै छाडे साहित्यिक गतिविधि

२०८ औं भानुजयन्ती
सम्झना रसाइली

तनहुँ — अध्यात्म–रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण एवं नेपाली भाषाको भाषिक एकीकरण गरेका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा उपेक्षामा परेको छ । अन्यत्र भानुभक्तको योगदानको चर्चा गर्दै साहित्यिक गतिविधि भइरहँदा यहाँ भने स्मरण पनि हुन छाडेको छ ।

तनहुँको भानु–४ चुँदीरम्घामा आदिकवि भानुभक्तको सालिक । तस्बिर : कान्तिपुर

केही वर्षदेखि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले जन्मस्थलमा असार २९ गते अर्थात् भानुजयन्तीलाई कर्मकाण्डी रूपमा भए पनि मनाउने गरे पनि अन्य निकायले भने कुनै चासो दिएको देखिँदैन । वर्षभरि उजाड अवस्थामा रहने भानु र उनको जन्मस्थल भानुजयन्तीका दिन मात्र स्मरण गरेको जस्तो देखिने स्थानीय बिकाराम सुनारले बताए । उनले भने, ‘पहिला पहिला हप्ता×–दस दिनअगाडिदेखि रामायणका श्लोक वाचन गरी जन्मोत्सव मनाउँदा चुँदीरम्घाको चमक छुट्टै हुन्थ्यो । तर, अहिले न त कुनै साहित्यिक कार्यक्रम हुन्छन् न भानुभक्तले नेपाली भाषा र साहित्य फाँटमा पुर्‍याएको योग्दानको चर्चा नै हुन्छ ।’ भारत, म्यान्मारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि जन्मस्थल चुँदीरम्घा भने उपेक्षामा परेको र संघ, प्रदेश तथा स्थानीय सरकारले भानुभक्तको योगदानको कदर गर्न नसकेको र सन्ततिले पनि भुल्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । भानुभक्त १८७१ असार २९ मा जन्मिएका थिए ।

पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुन: जन्म गराउन सफल भानुभक्तको जन्मस्थल ओझेलमा पर्नु दु:खद रहेको स्थानीय उदयनाथ आचार्य बताउँछन् । ‘पहिला पहिला भानुजयन्तीका अवसरमा साता दिन अघिदेखि नै विभिन्न कार्यक्रम हुन्थे, चहलपहल बेग्लै हुन्थ्यो,’ उनले भने, ‘अहिले कुनै पनि साहित्यिक कार्यक्रम हुँदैनन् । समिति पनि नेतृत्वविहीन छ । सरकारले एक मिटर रोड पिच गर्न र कुवा निर्माणमा बजेट दिन्छ तर साहित्यिक तीर्थस्थलको संरक्षण, प्रवद्र्धन तथा साहित्यिक कार्यक्रम गर्नका लागि कुनै बजेट दिदैन ।’ नेपाल र नेपालीलाई चिनाउन भानुले जुन योग्दान दिए त्यो योग्दानको कदर गर्न सरकार तथा सरोकारवाला निकायले आवश्यक चासो नदेखाउँदा अलपत्र बन्न पुगेको स्थानीय रामकुमार श्रेष्ठले बताए । डढेलोमा परेको भानुको जन्मघर पनि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । अलिअलि बनेका भौतिक पूर्वाधार पनि संरक्षण हुन नसक्दा नासिन थालेका उनको भनाइ छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समिति संघ सरकार मातहत रहेकाले राजनीति भन्दा अलग्गै विकास समिति बनाउन सकिए यो ठाउँको विकास हुन्थ्यो की भन्ने आफुहरूलाई लागेको श्रेष्ठले बताए ।

सरकारले २०५२ मा गठनआदेशमार्फत समिति स्थापना गरेकोमा अहिले नेतृत्वबिहिन छ । भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चिनाउन, अन्य संरचनालाई निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लक्ष्यसाथ गठित समितिले लक्ष्य काम गर्न नसकेको समितिका पूर्वकार्यकारी निर्देशक शंकर रानाभाटले बताए । समितिमा अहिले एक खरिदार र दुई कार्यालय सहयोगी मात्र छन । स्थानीय सरकारले पनि जन्मस्थल विकासका लागि कुनै चासो नदेखाएको उनले बताए । ‘भानु नगरपालिकाले अहिलेसम्म कुनैपनि साहित्यिक कार्यक्रम आयोजना गर्न नसकेको र संरक्षणका लागि बजेट विनियोजन गर्न सकेको छैन’, खरिदार शिवभक्त रानाभाटले भने ।

बनमा लागेको डढेलोले २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेल निर्देशित ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माणका क्रममा बनाइएको घर २०६१ जेठमा जलेर अहिले खण्डहर बनेको छ । अन्य संरचना पनि वेवारिसेजस्तै बनेका छन । २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको थियो । यसवर्ष भने समिति, नगरपालिका तथा अन्य कुनै पनि निकायले व्यवस्थित रुपमा कार्यक्रमको तयारी गरेका छैनन् ।

प्रकाशित : असार २९, २०७८ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×