कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘कहाँ छ हाम्रो सरकार ?’

‘घरबार डुबायो । हेलिकप्टर दिनदिनै घुम्छ । तर राहत मिल्दैन । सरकार त कता हो कता ?’
आश गुरुङ

लमजुङ — जेठ ३१ को रातिदेखिको भीषण वर्षापछि बाढीपहिरो मच्चिँदा मनाङको चामेका बासिन्दा सबै माडा (सरकारी कार्यालय क्षेत्र) स्थित कारागार भवनमा गए । बाढीपहिरोमा फसेकाको उद्धारका लागि आएको सेनाको हेलिकप्टर ‘फ्युल’ भर्न पोखरा जाँदा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र सांसद चिन्ताबहादुर घले पनि असार ३ गते चामे पुगे ।

‘कहाँ छ हाम्रो सरकार ?’

मुख्यमन्त्रीसहितका नेता आएपछि बाढीपहिरोपीडित झुम्मिए । तर राहत भने लगिएको थिएन ।

बाढीपहिरोले वितण्डा मच्चाएको महिना दिन पुग्दा पनि प्रदेश सरकारबाट पीडितका लागि राहत पुगेको छैन । पीडित अमरबहादुर गुरुङले सरकारको तर्फबाट राहत नपाएको गुनासो गरे । ‘नेताहरू आएका थिए । राहत केही ल्याएनन् । त्यसपछि त आउँदै आएनन्,’ उनले भने, ‘हाम्रो गाँसबास खोसिएको छ । यस्तो बेला सरकार आउनु पर्‍यो नि । खै कहाँ छ हाम्रो सरकार ?’

श्रीमती, २ छोरी र १ छोरासहित कारागार भवनमा बसेकामा त्यहाँ पनि खाली गर्नुपर्ने भएपछि बुधबारदेखि डेरा लिएर बसेको उनले बताए । ‘बिहीबार २० किलो चामल बाँडेको थियो । अब किनेर खानुपर्छ भनेको छ । काम छैन । पैसा पनि छैन । ऋणधन गरेर बनाएको घर पहिरोको डिलमै पुग्यो । साह्रै गाह्रो बनायो । कसलाई भन्न जाने ?’ गुरुङले दुखेसो गरे ।

पारि चामेकी मेलिना गुरुङको घर नै डुबाएपछि उनी अहिले नयाँबजारमा दिदीबहिनीकामा बस्न आएकी छन् । सुरुमा तलेखुस्थित आफन्तको घर गएकी उनी पछिल्लो समय गुम्बामा बस्दै आएकी थिइन् । ‘घरबार डुबायो । हेलिकप्टर दिनदिनै घुम्छ । तर राहत मिल्दैन,’ उनले भनिन्, ‘अलिअलि संस्थाले ल्याउँदा रहेछन् । सरकार त कता हो कता ?’

बाढीपहिरोपीडित अझै पनि घर फर्किन सकेका छैनन् । कोही वनजंगल, कोही टेन्टमै छन् । कोही आफन्तकामा र कोही भने डेरा लिएर बसेका छन् । मनाङको चामेमात्रै नभई तल्लो क्षेत्रको धारापानी र तालका बासिन्दा पनि अहिले राहतकै भरमा छन् । सरकारले भने राहत नपठाएको उनीहरूको गुनासो छ । नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले संघ सरकार र प्रदेश सरकारले कुनै पनि राहत नदिएको गुनासो गरे । ‘बरु हामीले बेंसीसहरबाट हेलिकप्टरमा ९ वटै वडामा खाद्यान्न पुर्‍यायौं । सधैं हेलिकप्टरबाट पुर्‍याएर साध्य भएन ।’ उनले भने ।

जिल्लाभर असारयता झन्डै पाँच सय जना विस्थापित भएका अनुमान छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सरकारका तर्फबाट प्रशासनले त्रिपाल, टेन्ट, औषधि दिएको बताए । पीडितलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको उनको भनाइ छ । उनका अनुसार मनाङको खाद्यान्नले १/२ महिना धान्छ । मजदुरलाई भने समस्या छ । ‘पछि राहत पनि नपाउने र किन्न पनि नपाउने समस्या हुन सक्छ । अहिले खाद्य संस्थानमा चामल वितरण गरिरहेका छौं,’ उनले भने । उनका अनुसार खाद्य संस्थानको चामेस्थित कार्यालयमा १ सय ५० क्विन्टल चामल छ । माथिल्लो मनाङको हुम्डेमा ८० क्विन्टल छ । सोना मनसुली १ किलोग्रामको १ सय रुपैयाँका दरले आवश्यकताअनुसार वितरण भइरहेको उनले बताए । ‘संकट हुन सक्छ भनेर विश्व खाद्य कार्यक्रमसँग २ सय २५ क्विन्टल मागेका छौं । खाद्य संस्थानसँग १ हजार क्विन्टल माग गरेका छौं । खाद्यान्न अभाव भए पनि संकटचाहिँ नहोला जस्तो लाग्छ,’ उने भने । उनका अनुसार बाढीपहिरोपछि मनाङमा १ सयभन्दा बढी पटक हेलिकप्टर आएका छन् । संघीय सरकार र प्रदेश सरकारले खाद्यान्न राहत हालसम्म नल्याएको भने उनले स्विकारे ।

मनाङका ४ वटै गाउँपालिका सडक सञ्जालबाट ‘ब्ल्याकआउट’ भएको छ । लमजुङबाट तल्लो क्षेत्रको नासों गाउँपालिका जाने अवस्था छैन । नासों गाउँपालिकाबाट चामे गाउँपालिका जाने सबै सडक र पुल बगाएको छ । चामेबाट माथिल्लो मनाङ जाने बेलिब्रिज मर्स्याङ्दीले डुबाएको छ । झोलुंगे पुल खतरामा परेको छ । चामेनजिकै कोतोबाट विकट नार्पाभूमि जाने पुल झुन्डिएको छ । ‘लमजुङबाट मनाङ आउने हवाईमार्गबाहेक कुनै उपाय छैन,’ प्रजिअ लामिछानेले भने ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?