कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हेलिकप्टरबाट खोप ढुवानी

गोरखा — जिल्लाको हिमाली भेगमा शनिबार हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ । सदरमुकामबाट दुई फ्लाइटमा ३ हजार डोज भेरोसिल खोप पुर्‍याइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार उत्तरी गोरखा पुग्दा खोप लिएर गएको भन्दै मुख्यमन्त्रीको सचिवालयले प्रचार गरेको थियो ।

हेलिकप्टरबाट खोप ढुवानी

खोप भने भोलिपल्ट मात्र पुगेको हो । सडक सञ्जालले नजोडिएको उत्तरी गोरखाको पैदल मार्ग पनि तीन सातादेखि अवरुद्ध हुँदा हवाई मार्गबाट खोप पुर्‍याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक ऋषि खत्रीले बताए । शुक्रबार खोप पुर्‍याउने तयारी गरिए पनि मौसम खराबीका कारण हेलिकप्टर उडान नहुँदा ढुवानी हुन सकेन ।

शनिबार सामागाउँ, गाप, चुम्लिङ र सिर्दिवास हेलिकप्टरबाट खोप झारेर नजिकको वडामा पुर्‍याउने स्वास्थ्य कार्यायको तयारी थियो । मौसम खराबीका कारण सामागाउँमा भने हेलिकप्टर जान नसकेको खत्रीले बताए । सामागाउँका लागि चाहिने खोप ल्होमा झारिएको छ । बिही र प्रोक गाउँका लागि भने गापमा खोप झारिएको उनले बताए । चेकम्पार र चुम्चेतका लागि चुम्लिङ, सिर्दिबासको फिलिममा खोप झारेर शनिबारबाटै खोप कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ‘जहाँजहाँ ड्रप हुन्छ त्यहाँ शनिबारबाट सुरु भयो, हेलीले झारेको खोप सम्बन्धित ठाउँमा पुगेपछि सुरु गर्दै जाने तयारीमा छौँ,’ उनले भने ।

तिब्बतसँग जोडिएको र हिमाली गाउँपालिका भएकाले सरकारीको नीतिअनुसार चुमनुब्रीमा १८ देखि ५४ वर्ष उमेर समूहका लागि कोरोनाविरुद्धको खोप दिन लागिएको उनले बताए । चुमनुब्री गाउँपालिकामा ३ हजार जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?