कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मर्स्याङ्दी बाढीको वितण्डा : माथिल्लो मनाङ सडक सम्पर्कबाट विच्छेद

विद्युत्, टेलिफोन, इन्टरनेट नहुँदा पूरा जिल्ला नै ब्ल्याकआउटमा
आश गुरुङ

लमजुङ — जेठ ३१ रातिदेखि मर्स्याङ्दी नदीमा आएको भीषण बाढीले असार १ मा मनाङको सदरमुकाम चामेमा ५ घर डुबायो । सँगैको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि ५ घर बगायो ।

मर्स्याङ्दी बाढीको वितण्डा : माथिल्लो मनाङ सडक सम्पर्कबाट विच्छेद

मर्स्याङ्दी नदीमा निर्मित माथिल्लो मनाङ जाने एकमात्र बेलिब्रिजमा बाढीले ल्याएका ठूल्ठूला काठका थाम अड्किनुका साथै निरन्तरको बाढीले बेलिब्रिज पुरिदै गयो । बेलिब्रिज पुरिएपछि स्थानीय झोलुंगे पुलबाट आवतजावत गरिरहेका थिए । त्यसकै पनि जगमा क्षति पुगेपछि कोल्टिएको पुल भासिएको छ ।

बाढीले छेउछाउ कटान गरी चामेस्थित लोकप्रिय माविको भान्साघर, आवासगृह पनि बगाएको छ । चामे–५ का वडाध्यक्ष कैले गुरुङका अनुसार मर्स्याङ्दीको बाढीले बेलिब्रिज पुरेको छ । झोलुंगे पुल लठ्ठाले समातेर मात्रै राखेको छ । जग भासिएपछि हिँड्न मिलेको छैन । ‘बेलिब्रिजमुनिबाट बग्नुपर्ने बाढी थुनिएर पुलमाथिबाट बगेको छ । बाढीले चामेतर्फ पर्खाल भत्काउँदै विद्यालयको भवन बगाएको छ, झोलुंगे पुललाई जोखिममा पारेको छ,’ उनले भने ।

उनका अनुसार २/३ दिनयता फेरि बाढी बढेपछि झोलुंगे पुललाई थप जोखिममा पारेको छ । ‘अहिले आपत्कालीनबाहेक अरूलाई हिँड्न दिइएको छैन,’ वडाध्यक्ष गुरुङले भने । उनका अनुसार उक्त पुलले चामे गाउँपालिकाका ४ र ५ वडा जोड्छ । यो माथिल्लो मनाङ जाने एकमात्र सडक र गोरेटोको पुल हो । यही पुल हुँदै विश्व प्रख्यात चक्रीय अन्नपूर्ण पदमार्ग, विश्वकै उच्च स्थानमा रहेकोमध्ये एक तिलिचो ताल, अग्लो हिमाली भन्ज्याङ थोराङला हुँदै मुस्ताङ निस्कन्छ ।

चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दका अनुसार माथिल्लो मनाङको ‘लाइफलाइन’ को रूपमा रहेको बेलिब्रिजमा क्षति पुगेको छ । झोलुंगे पुल हिँड्नै नमिल्ने भएको छ । ‘हुन त बाढीपहिरोले मनाङ नै सडक सम्पर्क विच्छेद छ । विद्युत् छैन । विद्युत् नभएपछि टेलिफोन, इन्टरनेट पनि चलेको छैन’ उनले भने, ‘मनाङ नै ब्ल्याकआउट छ । जति कुरा गरे पनि पीडामात्रै छ ।’

नेपाल प्रहरीका डीएसपी सुवास खड्काका अनुसार निरन्तर वर्षाले पुलमा जोखिम बढ्दै गएको छ । ‘बेलिब्रिज त सबै डुबायो । झोलुंगे पुल पनि ढल्ने खतरा छ,’ उनले भने, ‘एउटा भएको एक्स्काभेटर पनि बाढीमा डुबेकाले काम गर्न सकिएको छैन ।’ बेलिब्रिजमुनिबाट पानी निकासा गर्न सकिए जोखिम कम हुने उनले बताए । एक्स्काभेटर निकाल्न काठमाडौंबाट हेलिकप्टरमा प्राविधिक आए पनि नसकेको उनले बताए ।

सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार जोखिमकै समयमा सशस्त्र प्रहरीले सबै बल र विवेक प्रयोग गरेर पुल जोगाउने प्रयास गरेको हो । तर, निरन्तरको वर्षाले सफल हुन सकेन । ‘बेलिब्रिजकै बीचमा गएर ठूलाठूला काठका थाम हटायौं । बाढीले छेउमा बालुवा थुपारेपछि बनेको तालले बेलिब्रिजमै पानी थुनियो । बाढीले धार परिवर्तन गरी झन् क्षति बढायो’ उनले भने । उनका अनुसार सबै कुराको असहजताले समस्या बनाएको छ । ‘ग्यास छैन । खाद्यान्न छैन । न बिजुली, न टेलिफोन । साह्रै पीडामा छौं । तैपनि आफ्नो कर्तव्य निभाइराखेका छौं’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार पानी परिरहेकाले बाढीको सतह बढिरहेको छ । उनका अनुसार बेलिब्रिज बाधजस्तो भएर बसेको छ । क्षति भएको झोलुंगे पुलबाटै जोखिम मोलेर जिल्लावासी वारपार गर्न बाध्य छन् । ‘सामान बोकेर हिँड्न बन्द गरेका छौं । नआई नहुनेलाई प्रहरी राखेर एक्लाएक्लै वारपार गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

बेलिब्रिजबाट पानी बगाउने प्रयास गरिए पनि सफल हुन नसकेको उनले बताए । ‘भ्राताङको स्याउबारीबाट माननीय (पोल्देन छोपाङ गुरुङ) को डोजर ल्याउने भनेका छौं । तर, भ्राताङ भीरमै गाह्रो भयो । यहाँको एक्स्काभेटर डुब्यो । अन्यत्र केही ल्याउने ठाउँ छैन,’ उनले भने । उनका अनुसार अहिले लमजुङबाट मनाङ सीमा म्यार्दीभीरसम्म सडक खुलेको छ । बीचबीचमा पहिरो जाने क्रम चलिरहेको छ । ‘सडक खुलाउने विषयमा गृह मन्त्रालयलाई सेना खटाउने वा डुम्रे–बेंसीसहर–चामे सडक योजनालाई फास्ट ट्र्याकमार्फत काम गर्न दिने सम्बन्धमा स्वीकृत प्रदान गर्न भनी पत्राचार गरेका छौं,’ प्रजिअ लामिछानेले भने, ‘नत्र यहाँ वर्ष दिनसम्म सडक बन्दैन ।’

प्रकाशित : श्रावण १, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?