हेलिकप्टरबाट चामल ढुवानी

दुई दिन लगाएर सात फ्लाइटमा चामल ढुवानी
हरिराम उप्रेती

गोरखा — मनास्लु पदमार्ग अवरुद्धले दैनिक उपभोग्य सामग्री ढुवानी हुन नसकेको उत्तरी गोरखामा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको छ । सम्भावित खाद्य संकट जोखिमको ख्याल गर्दै डेढ सय क्विन्टल खाद्यान्न ढुवानी गरिएको हो । पदमार्ग अवरुद्धले ३ सातायता उत्तरी गोरखामा स्थलमार्गबाट उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन ।

हेलिकप्टरबाट चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सदरमुकामस्थित गोदाममा रहेको ५ सय बोरा चामल सिर्दिबासको फिलिम पुर्‍याइएको छ । चामल चुमनुब्री गाउँपालिका–३ फिलिमस्थित खाद्यको गोदाममा भण्डारण गरेर राखिने कम्पनीका सूचना अधिकारी शिव सुनारले बताए ।

‘दुई दिन लगाएर सात फ्लाइटमा चामल ढुवानी गर्‍यौं,’ उनले भने, ‘बाटोका कारण स्थलमार्गबाट चामल ढुवानी हुन नसकेपछि हेलिकप्टरबाट गरेका हौं ।’ स्थलमार्गबाट खाद्यान्न लैजान सम्भव नदेखिएपछि जिल्ला प्रशासन र चुमनुब्री गाउँपालिकाको पहलमा बुधबार र शनिबार गरी हेलिकप्टरबाट चामल लगिएको हो ।

वर्षायाम सुरु हुनुअघि उत्तरी गोरखाका व्यापारीले खच्चडमार्फत चामल ढुवानी गर्थे । तर यो वर्ष असार लाग्नासाथै मनसुन सुरु भएर बाटोसमेत बिग्रिएकाले ढुवानी हुन सकेको थिएन । अहिले ढुवानी गरिएको चामल आपत्कालीन अवस्थामा गाउँपालिकासँग समन्वय गरेर बिक्री गर्ने सुनारले बताए । सिर्दिबासस्थित डिपोमा यसअघि नै एक सय ३२ क्विन्टल चामल मौज्दात छ ।

खाद्यले चालु वर्ष ३५ सय क्विन्टल चामल सिर्दिबास डिपोका लागि ढुवानी गर्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा सिर्दिबासमा २७ सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी भएको २७ सयमध्ये पाँच सय क्विन्टल चामल बाटो अवरुद्ध भएपछि तातोपानी र माछाखोलामा रोकिएको छ । बाटो अवरुद्ध हुँदा करिब आठ सय क्विन्टल चामल ढुवानी हुन नसकेको हो । खाद्यको सदरमुकामस्थित गोदामको चामल माछाखोलासम्म सवारी र माछाखोलाबाट सिर्दिबाससम्म खच्चडमार्फत ढुवानी हुँदै आएको थियो ।

यस वर्ष असार पहिलो साताको वर्षात्ले मनास्लु पदमार्गअन्तर्गत जगत र यारुबगरमा पदमार्ग कटान भएपछि चामल ढुवानी हुन नसकेको हो । सिर्दिबास डिपोबाट सिर्दिबाससहित ल्हो, विही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरको चामल बिक्री हुँदै आएको छ ।

चामल खरिदका लागि अन्य वडाबाट सिर्दिबासस्थित फिलिमको डिपोमा पुग्न पनि बाटोका कारण समस्या परेको स्थानीय बताउँछन् ।

प्रकाशित : असार २९, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?