कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाढीले पाइप बगेपछि खानेपानी अभाव

कुश्मावासी आकाशे पानी पिउन बाध्य
अगन्धर तिवारी

पर्वत — गत साताको बाढीले मुख्य पाइप बगाएपछि सदरमुकाम कुश्मा नगरपालिकाको बजार क्षेत्रमा खानेपानी अवरुद्ध भएको छ । मोदी–२ देउपुरस्थित पातीखोलाबाट ल्याइएको पानीको पाइप कुश्मा–८ चुवा आसपासमा पहिरोले क्षतविक्षत बनाएको हो ।

बाढीले पाइप बगेपछि खानेपानी अभाव

एक सातादेखि बजार क्षेत्रमा पानीको अभाव भएपछि करिब २४ हजार उपभोक्ता आकाशे पानी पिउन बाध्य छन् । ‘धारामा पानी छैन,’ कुश्माका ऋषिबहादुर थापाले भने, ‘आकाशे पानी आउँदा बलेनीको पानीले घाँटी भिजाइएको छ । नआउँदा धेरै समस्या छ । पानी नै नभएपछि कस्तो भयो होला ?’ कुश्माकै रमेश पौडेलले झरीका कारण बाहिर निस्किन समस्या भएपछि खानेपानी लिन यताउता जान पनि नसकिएको बताए ।

गत बिहीबार र शुक्रबार पातीखोलास्थित मुहान तथा विभिन्न स्थानमा फुटेको पाइप मर्मत गरी पानी सञ्चालन गरेको केही दिनमै कुश्मा–८ चुवास्थित सुन्दरेखोलामा आएको बाढीले थुप्रै संरचना र पाइप बगाएको हो । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार झरी परिरहेको र बाढी आउने क्रम नरोकिँदा मर्मत गरेर पानी सञ्चालन गर्न समस्या छ । ‘हाम्रो सबै शक्ति पानी आपूर्तिमा जुटेको छ,’ उनले भने, ‘पानी पर्न छोडेर खोला नघटेसम्म काम गर्नै सकिएन । पाइप जडान गरी केही मर्मत गरेका संरचना फेरि बगाइदियो ।’ उनका अनुसार करिब ५५ मिटर जीआई पाइप बगेको छ । दुई पिलर र त्यसको संरक्षणका लागि लगाएका २५ वटा ग्याभिन जाली बाढीले बगाएको छ ।

मौसम सहज भए सबै मर्मत सकेर एक सातासम्म पानी पूर्णरूपमा सञ्चालन गर्न सकिने संस्थाका प्रबन्धक राजेन्द्र रोकाले बताए । ‘ठूलो क्षति सुन्दरेखोलामै भएको छ,’ रोकाले भने, ‘बाढी बढेको बढ्यै भएपछि मर्मत गर्न सकिएको छैन । वैकल्पिक स्रोतको उपयोग गरेर पानी पठाउन खोजेका छौं । त्यो पनि सबै सफल हुन सकेको छैन ।’ बजार क्षेत्रमा पानीको अभाव टार्न बर्खामा आउने मूल र कुश्मा–२ खुर्कोटस्थित क्यादीखोलाको पानी ल्याउन जुटिरहेको उनले बताए । संस्थाका अनुसार कुश्मा बजारमा खानेपानीको माग दैनिक १८ देखि २० लाख लिटर छ । प्रतिसेकेन्ड १७ लिटरका दरले दैनिक १४ लाख ६८ हजार ८ सय लिटर पानी आउन बन्द भएको हो ।

क्यादीखोलाबाट ल्याइएको पानीको मुहानमा बाढी र लेदो पसेको छ । त्यसबाहेक पाइपलाइनको ठाउँ–ठाउँमा क्षति पुगेकाले पानीको सहज आपूर्ति नभएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : असार २९, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?