हिउँदमा बन्छन्, बर्खामा भत्कन्छन्

बाढीपहिरोका कारण गाउँ जाने सडक बन्द
आश गुरुङ

लमजुङ — हरेक स्थानीय तहले बर्सेनि सडक पूर्वाधारमा अधिकांश बजेट विनियोजन गर्छन् । केन्द्र सरकार र प्रदेश सरकारले पनि सडकलाई नै महत्त्व दिएका हुन्छन् । तर सडकको दिगोपनलाई ध्यान नदिँदा हिउँदमा बनाएको र मर्मत गरेको सडक बर्खायाममा हिलाम्य हुने, भत्किने र पहिरो जाने गरेको छ । यसले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

हिउँदमा बन्छन्, बर्खामा भत्कन्छन्

दूधपोखरी गाउँपालिका–२ बिचौरका अनिल दवाडीले बेंसीसहरबाट गाउँपालिका कार्यालय गौंडा हुँदै ठूलो काभ्रेसम्म जसोतसो सवारी सञ्चालन भइरहेको बताए । त्यसपछिका फुलिङगिरी, भुम्लीचोक, बिचौर हुँदै दूधपोखरी गाउँसम्मको सडक बन्द छ । तल्लो बाटो राइनास नगरपालिका हुँदै आउजाउ गर्ने सडक बाढीपहिरोका कारण बन्द भएको छ ।

दोर्दी–८ टापगाउँकी सरस्वती गुरुङले गाउँबाट बेंसीसहर आउनेजाने सडक बन्द भएको बताइन् । ‘गाउँमुनि, हिलेबजार क्षेत्र र चिती क्षेत्रमा बाटो बन्द छ । पहिरो गएको छ । बाटो बगाएको छ । हिलोले गाडी हिँड्नै सक्दैन,’ उनले भनिन् ।क्व्होलासोंथर–३ घलेगाउँका गंगाबहादुर घलेले घलेगाउँमुनि काँडेल्हुँबाट सवारीसाधन चढ्न नसकेको बताए । ‘अहिले घलेगाउँ, घनपोखरा र भुजुङसम्म गाडी चलेको छैन । बनाइरहेको ठाउँमा हिलोले गाडी गुड्दैन । अन्य ठाउँमा पनि त्यस्तै छ,’ उनले भने । उनका अनुसार घलेगाउँदेखि घनपोखरा हुँदै भुजुङ जाने बाटोमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ ।

क्व्होलासोंथर–५ सिङ्दीका अध्यक्ष गीतबहादुर गुरुङले गाउँसभामा भाग लिन आउँदा पनि एकतर्फी ६/७ घण्टा हिँडेर आउनुपरेको बताए । उनका अनुसार कुम्लुङबेंसी, भोंजे, साल्मे भएर मिदिमखोला हुँदै गाउँपालिका केन्द्र मालिङ जाने सडक बिग्रिएको छ । पोखरा जाने सडक पनि बिग्रिएको छ ।

ट्राफिक प्रहरी प्रमुख सई महेन्द्र रानाभाटका अनुसार बेंसीसहरदेखि गाउँसम्म पुग्ने सडक पनि बीचबाट गाउँगाउँ जाने बाटो बिग्रिएको छ । केही दिनदेखिको वर्षा र बाढीपहिरोले बाटो बिगारेको उनले बताए । मर्स्याङ्दी गाउँपालिका जाने सडकको ठाउँठाउँमा पहिरो छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग हुँदै मध्यनेपाल जाने बाटो पनि बन्द छ । हिउँदमा सामान्य मर्मत गरेर सञ्चालन हुने सडक अहिले बन्द छ । लाखौं रुपैयाँ खर्च गरेर चालु आर्थिक वर्षमै मर्मत गरेका कतिपय सडकसमेत बाढीपहिरोले बगाइदिएको छ । पहिरो, बाढीले बगाएकाले ग्रामीण भेगका अधिकांश सडकमा अहिले सवारी सञ्चालन हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार जिल्ला सदरमुकामदेखि स्थानीय तह जोड्ने सडक जसोतसो चलिरहेको छ । बर्खायाममा ‘डिस्टर्ब’ हुने गरेको छ । ‘राष्ट्रिय राजमार्गसमेत बन्द हुने गरेको छ भने बर्खायाममा सदरमुकामदेखि स्थानीय तह जोड्ने बाटो पनि यसबाट अछुतो रहन सक्दैन,’ उनले भने, ‘सदरमुकामदेखि स्थानीय तह तथा स्थानीय तहदेखि गाउँगाउँमा जोडिएका सडक भने बाढीपहिरोका कारण एकदमै डिस्टर्ब छ ।’ सडक निर्माण गर्दा नाली नबनाइएका कारण बर्खायाममा बग्ने गरेको उनले बताए । ‘बहुवर्षीय योजनाका सडकको आईईई, डीपीआर गर्दा ध्यान दिएकाले साह्रै समस्या हुँदैन । नियन्त्रण गर्नलाई पनि कार्यक्रम हुन्छ,’ उनले भने ।

प्रकाशित : असार २८, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?