प्रहरी जवान सम्पर्कविहीन

गोरखा — सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३१ वर्षीय मोहनसिंह कुँवर २३ दिनदेखि सम्पर्कविहीन भएका छन् । घर बिदाबाट फर्किएका कुँवर असार १ गते खोर्लाबेंसीबाट कार्यक्षेत्र सामागाउँतर्फ लागेदेखि नै सम्पर्कविहीन छन् ।

घर बिदाबाट कार्यक्षेत्र फर्केका प्रहरी जवान २३ दिनदेखि सम्पर्कविहीन बनेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘गोरखा बजारबाट साथीहरूसँग लिफ्ट मागेर जेठ ३१ गते खोर्लाबेंसीसम्म गएको जानकारी पायौं,’ उनले भने, ‘त्यो बेला त्यो एरियामा मोबाइल नेटवर्क पनि थिएन, फोन पनि अफ छ ।’

उनका अनुसार असार १ गते खोर्लाबेंसीबाट सामागाउँतर्फ गएको जानकारी पाए पनि हालसम्म सम्पर्क भएको छैन । कञ्चनपुर वेदकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर गत चैतबाट सामागाउँ प्रहरी चौकीमा कार्यरत थिए ।

सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी खोजी भइरहेको खनालले बताए । जगत, सिर्दिवास र सामागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले पनि कुँवरको खोजी गरिरहेको छ । खोर्लाबेंसीबाट सामागाउँ कम्तीमा तीन दिनको पैदल यात्रापछि पुगिन्छ ।

‘खोर्लाबेंसी–सामागाउँबीचको क्षेत्रमा कतै बास बसेका छन् कि भनेर पनि बुझ्यौं, प्रहरी स्थानीयवासी कसैको सम्पर्कमा रहेको देखेनौं,’ एसपी खनालले भने ।

प्रकाशित : असार २४, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?