कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लमजुङमा बाढीपहिरोले १३२ केभीको टावरमा क्षति

आश गुरुङ

लमजुङ — बाढीपहिरोले १३२ केभीको टावर बगाउँदा १३५ मेगावाट बढी विद्युत राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद भएको छ ।

लमजुङमा बाढीपहिरोले १३२ केभीको टावरमा क्षति

लमजुङबाट उत्पादित विद्युतभार बोकेको प्रसारण लाइन राइनास नगरपालिका–८, पाखेटार (फूलबारी र पाउँदीपारी) टावर मर्स्याङ्दीमा खस्दा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् विच्छेद हुन पुगेको हो । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना साथै ५ वटा साना जलविद्युत् आयोजनाको उत्पादन बन्द छ ।

मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र प्रमुख शिवकुमार साहका अनुसार मध्यमर्स्याङ्दीबाट विद्युत् भार बोकेर राष्ट्रिय प्रसारण लाइनको ९ नं. को टावर पहिरोले मर्स्याङ्दीमा खसाउँदा राष्ट्रिय प्रसारण राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् विच्छेद छ । उनका अनुसार टावर ढलेर विद्युत् प्रसारण हुन नसक्दा ‘ट्रिपिङ’ भएपछि विद्युत् उत्पादन हुन सकेको छैन ।

उनका अनुसार विद्युत् ‘ट्रिपिङ’ को समस्या भएपछि एउटा टर्बाइन शुक्रबार राति साढे १ बजे र अर्को टर्बाइन २ बजे बन्द गरिएको हो । उनका अनुसार शनिबार बिहानमात्रै प्रसारण लाइनको टावर मर्स्याङ्दीमा बगेको सूचना आएको बताए । ‘पहिरोले ढालेको टावर अहिले क्षतिविक्षत रुपमा बाढीमा छ । यसलाई बाढीबाट झिक्न मुस्किल छ,’ उनले भने ।

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको मर्मतका लागि प्राविधिक टोली खटाएको छ । क्षतिग्रस्त टावरको पुनर्निर्माण गरी प्रसारण लाइन सुरु गर्न प्राधिकरणको पोखरा ग्रिड शाखा र केन्द्रीय कार्यालयका प्राविधिक इन्जिनियर खटिएको उनले बताए ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना बाढीपहिरोका कारण यसअघिदेखि बन्द छ । चिनियाँ लगानीमा निर्मित ५० मेगावाटको उक्त आयोजना बाढीपहिरोका कारण असार १ गतेदेखि नै बन्द छ । मर्स्याङ्दीमा आएको बाढीले ३० वटा पोल ढलेपछि आयोजनाको उत्पादन बन्द भएको आयोजनाले जनाएको छ ।

मध्यमर्स्याङ्दीको स्वीचयार्डमार्फत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको ५ मेगावाटको सिउरी साना जलविद्युत् आयोजना, ४ दशमलक ४ मेगावाटको राँधी साना जलविद्युत् आयोजना, ४ मेगावाटको खुदी जलविद्युत् आयोजना, २ मेगावाटको छन्दीखोला जलविद्युत् आयोजना र १ सय ८३ किलोवाटको स्याँगे लघु जलविद्युत् आयोजनाको उत्पादन बन्द छ ।

लमजुङ र तनहुँका ३१ हजार घरमा अन्धकार

लगातारको वर्षा र यसपछिको बाढीपहिरोले विद्युतीय पोल बगाउँदा जिल्ला विद्युत् आपूर्ति बन्द भएको छ ।

विद्युतीय संरचनामा क्षति पुग्दा लमजुङको साविक ३४ गाविस र लमजुङसँग सीमा जोडिएको तनहुँको साविक ३ गाविसमा विद्युत् सेवा अवरुद्ध भएको हो । शुक्रबार साँझदेखिको निरन्तर वर्षा र त्यसपछिको बाढीपहिरोले लमजुङ र तनहुँका गरी ३१ हजार घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।

वर्षासँगै आएको बाढीपहिरोले विद्युतको पोल बगाउनुका साथै प्रसारण लाइनसमेत छिनाएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले बताइन् । उनका अनुसार डुम्रेबाट गोरखा हुँदै लमजुङ ल्याइएको ३३ केभी लाइनको ४ वटा पोल ढल्दा शुक्रबार रातिदेखि विद्युत् आपूर्ति बन्द छ ।

प्रकाशित : असार १९, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?