गण्डकीमा २२ प्रतिशत रोपाइँ

प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा धान रोपिँदैन, जेठमै मनसुन सक्रिय हुँदा रोपाइँ छिटो
प्रदेश ब्युरो

पोखरा — गण्डकी प्रदेशमा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ग्रीष्म न्यौपानेले धान रोपाइँ बल्ल सुरु भएको बताए ।

गण्डकीमा २२ प्रतिशत रोपाइँ

‘वर्षे धान जेठबाटै रोपिन्छ,’ उनले भने, ‘किसानलाई हिउँदे धान र मकै थन्काएपछि वर्षे धान रोप्ने बेला बल्ल भएको हो ।’ उनले गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा रोपाइँ नहुने बताए ।

कृषि मन्त्रालयका बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले असार २५ पछि अधिकाशं स्थानमा धान रोपाइँ सम्पन्न हुने बताए । ‘चैते धान काटिए पनि अधिकांश ठाउँमा मकै छन्,’ उनले भने, ‘अहिले नै धेरै रोप्ने समय भएको छैन ।’ उनले साउनको १५ सम्म धान रोपाइँ गरिने बताए । उनले म्याग्दीमा ५७ प्रतिशत सबैभन्दा बढी धान रोपाइँ भएको बताए । तनहुँमा २८, लमजुङमा १०, नवलपुरमा ७, स्याङ्जामा ८, बागलुङमा १० र कास्कीमा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरि १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपिन्छ । त्यसमध्ये १७ हजार ७ सय ९८ मा मात्र रोपाइँ भएको छ ।

गोरखामा २५ प्रतिशत

जिल्लामा २५ प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन छिटो सुरु हुँदा रोपाइँ पनि चाँडो भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए । असार सुरुदेखि नै किसान रोपाइँमा व्यस्त छन् ।

गोरखाको झन्डै १२ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुँदै आएको छ । धान खेतीको पकेट क्षेत्र मानिने दरौंदी, भुसुन्डे, जरेवर, चेपेफाँटका किसान बीउ काढ्न, रोप्न र जुडी (चैते) धान काट्न व्यस्त छन् । ‘मकै र जुडी धान नलगाएको क्षेत्रमा अहिले रोपाइँ भइरहेको छ,’ अधिकारीले भने, ‘अब मकै र जुडी भित्र्याएपछि अन्य असार २० पछि ती खेतमा रोपाइँ हुन्छन् ।’ चैते धान काट्ने र खेतमा लगाएको मकै थन्काउन किसानलाइ चटारो परेको हो । यहाँको सात सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ ।

असार १५ को धान दिवसको कार्यक्रम आरुघाट गाउँपालिकामा मनाएको अधिकारीले बताए । आरुघाट १० र ५ नम्बर वडाको सय हेक्टर क्षेक्रफल समेटेर धान ब्लकको कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए । किसान बर्खे धानकोरूपमा सावित्री, मकवानपुर १, रामधान, हर्विनाथ १, सुख्खा ३, नेपाली हाइब्रिट जातका धान लगाउने गर्छन् ।

पर्वतमा ११ प्रतिशत

जेठमै मनसुन सक्रिय भएका कारण पर्वतमा यो वर्ष धान रोपाइँ छिट्टै सुरु भयो । त्यसको प्रभावकै कारण अघिल्ला वर्षहरूमा धान दिवस (असार १५) सम्म १० प्रतिशत खेतमा समेत रोपाइँ नहुने गरेकोमा यो वर्ष मंगलबारसम्म ११ प्रतिशत खेतमा धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साढे ८ हजार हेक्टरमा धान रोपाइँ हुन्छ । मंगलबारसम्म करिब एक हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कार्यालयका बागवानी विकास अधिकृत विश्वास काफ्लेले बताए । ‘धान रोपाइँको अहिलेसम्मको अवस्था हेर्दा सन्तोषजनक छ,’ उनले भने, ‘कोभिडको प्रभावले गर्दा धान खेत बिस्तार भएको पनि छ ।’ कोभिडका कारण गरिएको लकडाउनले गाउँ फर्किएकाहरूले बाँझिएको खेतबारीमा खेती

लगाउन सुरु गरेपछि जिल्लाभर करिब एक हजार हेक्टर क्षेत्रफल धानखेत बढेको अनुमान प्राविधिकको छ । ‘रोपाइँको साताअघिदेखि हलगोरु र हलीबाउसेको चिन्ता हुन्थ्यो,’ फलेबास–४ का शालिग्राम लामिछानेले भने, ‘अहिले आलीकान्ला मिलाएपछि सानो ट्याक्टरले चार हलको मेलो एकैदिनमा तयार हुन्छ । धेरै सहज छ ।’

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार साढे ८ हजार हेक्टरमा लगाइएको धानखेतबाट अन्दाजी ३० हजार टन धान उत्पादन हुन्छ । यो पर्वतको जनसंख्याले वर्षभरिमा खपत गर्ने खाद्यान्नको करिब ४० प्रतिशत हिस्सा हो ।

प्रकाशित : असार १६, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?