कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अग्लो कलश बन्ने भएपछि गाउँमा चहलपहल

पञ्चकोट पर्यटन परिषद्ले आगामी २७ महिनाभित्र कलश तयार गर्ने
प्रकाश बराल

बागलुङ — ३५ वर्षअघि बसाइँ सरेर चितवनको गीतानगर गएका बागलुङ नगरपालिका–६ भान्साका विद्यापति शर्मा यतिबेला गाउँमा जग्गा किन्ने तयारीमा छन् । उनीजस्ता अन्य सहरबजार झरेकाहरू पनि यतिबेला गाउँ फर्कने तयारी गरेका छन । धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा संसारकै अग्लो कलस निर्माण थालिएपछि गाउँ छाडेकाहरू फर्किने तयारीमा रहेको वडाध्यक्ष खिमराज सापकोटाले बताए । ‘हरेक दिन जग्गा किनेर राख्न खोज्नेको सम्पर्कले फुर्सदै पाइँदैन’ उनले भने, ‘अब गाउँमै व्यवसाय चल्ने देखेर स्थानीय फर्किने तयारीमा छन् ।’

दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्य बन्ने भएपछि भान्सा र सिमगाउँका अधिकांश घरलाई रेस्टुरेन्ट बनाउने तयारी छ । प्रवासबाटै पञ्चकोट निर्माणमा १३ लाख रुपैयाँ सहयोग गरेका सूर्य सापकोटाले गरुणशिलानजिकै जग्गा किनेका छन् । ‘बजारमा व्यवसाय गर्नेहरू पनि घडेरी किन्न आइरहेका छन्,’ स्थानीय लक्ष्मी शर्माले भनिन्, ‘जग्गाको मूल्य पनि बढेको छ ।’

स्थानीय ५ वटा कोट मिलाएर पञ्चकोट नामकरण भएको हो । हाल मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो । यहाँदेखि माथिल्लो कारीकोट, त्यसमाथि माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । ५ वटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको हो । ‘पाँचवटै कोटको संयुक्त क्षेत्रलाई जुलोजिकल पार्क बनाउने योजना पनि छ,’ बागलुङ नगरप्रमुख जनकराज पौडेलले भने, ‘संघीय सरकारको साझेदारी कार्यक्रममार्फत बागलुङ नगरपालिकाले ५ करोड रुपैयाको कार्यक्रम पञ्चकोट आसपासमा सञ्चालन गरेको छ ।’ चालु वर्षभित्रै पहिलो तल्ला निर्माण सक्ने गरी काम भइरहेको छ ।

योजनाको काम सुरु भएपछि पर्यटनको सम्भावनाले गाउँमै बस्ने वातावरण बनाएको वडाअध्यक्ष सापकोटाले बताए । पञ्चकोटमा गण्डकी मन्दिर, गरुणशिला, हनुमानको मूर्ति, सभाहल, सिसमहल र आर्कषक संरचना बनिसकेका छन् । झन्डै २ अर्ब रुपैयाँ खर्च अनुमान गरिएको पञ्चकोटको बृहत् पूर्वाधार निर्माणमा पछिल्लो ५ वर्षदेखि महायज्ञ लगाएर स्थानीयले चढाएको दानमुठी र चन्दाबाट उठेको झन्डै ५० करोड रुपैयाँ खर्च भइसकेको पञ्चकोट व्यवस्थापन समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । यहाँ बन्ने कलश झन्डै १३ तलाको घर बराबरको हुने गरी डीपीआर बनाइसकिएको छ । बाहिरी स्वरूप कलशजस्तै भए पनि भित्री खण्डमा १६ वटा कोठा बन्नेछन् । ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुनेछन् ।

पञ्चकोट पर्यटन परिषद्ले आगामी २७ महिनाभित्र कलश तयार गर्ने र अन्य बाँकी संरचना पनि तयार पार्ने भन्दै काम थालेको छ । पञ्चकोट पुग्ने सडक निर्माणाधीन भएकाले सहज भएपछि पर्यटक अझै बढ्ने समितिका महासचिव रामजीप्रसाद शर्माले बताए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित सबै दलका शीर्ष नेता र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आएर २०७१ फागुनमा धार्मिक गन्तव्य बनाउन लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

यहाँ पुग्नका लागि बागलुङ नगरपालिकाको अगुवाइमा केवलकार बनाउने तयारीसमेत छ ।

प्रकाशित : असार १२, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?