२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गाउँपालिका कार्यालय नै विस्थापित

आश गुरुङ

लमजुङ — मनाङको नासों गाउँपालिका केन्द्र धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेंसीसहरमा अस्थायी कार्यालय राखिने भएको छ । जेठ ३१ गते रातिदेखिको भीषण वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि सोमबार गाउँपालिका कार्यपालिका बैठकले बेंसीसहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका कार्यालय नै विस्थापित

बाढीले चामे जाने बाटोसमेत बगाएको र विद्युत् नभएको अवस्थामा बेंसीसहरबाट कामकाज हुने गरी निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कारोबार गर्ने बैंक बेंसीसहरमा रहेकाले पनि यहाँ आपत्कालीन कार्यालय सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।

वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभर कार्यालय सञ्चालन गर्ने कुनै ठाउँ छैन । त्यसपछिका तल्लो क्षेत्रको मर्स्याङ्दी आसपासका लमजुङसमेत जोखिममा छ । ‘आर्थिक वर्ष अन्तिममा आयो । योजनाको भुक्तानी गर्नुपर्नेछ । राहतको व्यवस्थापन सहजीकरण गर्नुपर्ने हुन्छ । त्यसैले कार्यापालिका बैठकले बेंसीसहरमा

आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको बुझिन आएको छ,’ उनले भने ।

राहत वितरण गर्न पुगेका हेलिकप्टरसँग आग्रह गरेर गाउँपालिका कर्मचारी मंगलबार बेंसीसहर आएका छन् । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र लेखा प्रमुख चित्रबहादुर पौडेलले बेंसीसहरबाट कामकाज गर्नेछन् । नासोंबाट कुनै पनि आर्थिक कारोबार हुँदैन । ‘बेंसीसहरमा तत्काल कोठा खोज्यौं । कार्यालय खोज्नै बाँकी छ,’ उनले भने ।

धारापानीमा सडक र घर बगाएपछि प्रहरी अहिले स्थानीय स्कुलमा गएर बसेका छन् । मानिस सबै ओडार गाउँमा विस्थापित भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले धारापानीमा अब मानिसको बसोबास गाह्रो रहेको बताए । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले नासों गाउँपालिकाको आपत्कालीन कार्यालयका लागि सकेसम्म सरकारी कोठा खोज्ने प्रयास भइरहेको बताए ।

धारापानीमा रहेका गाउँपालिका कार्यालयसहित सँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी, पर्यटकीय होटलसहित स्थानीयका १० घर मर्स्याङ्दीले बगाएको थियो । गाउँपालिकाको योजना अनुगमन, भुक्तानी, नयाँ योजना छनोटलगायत महत्त्वपूर्ण काम गर्दै गरेको कम्प्युटरसहितका सबै कागजपत्र मर्स्याङ्दीले लगेको थियो । प्रमुख प्रशासकीय अधिकृत रेग्मीसहित १५ जना कर्मचारीले ढुंगाको पहरोमुनि रात बिताएका थिए । गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीच नै सम्पर्क नै विच्छेद भएको थियो ।

‘कार्यालमा भएका सबै सामान बाढीले लग्यो । हामीमात्रै बाँच्यौं,’ प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने, ‘बाढी आए पनि कार्यालय नै बगाउने गरी आउँछ भन्ने अड्कल कसैले गरेको थिएन । धन्न बाँचियो ।’ बाढीले बाटो, पुल सबै बगाएको छ । मान्छे हिँड्नेसमेत बाटो छैन । ‘अब ठूलो संकट आउन सक्ने स्थिति छ । किनकि नागरिक थुनिएका छन्,’ उनले भने, ‘विस्थापित भएको ठाउँमा खाद्यान्न पुगेको छ । गाउँमा पानी न खाद्यान्नको स्थिति छ ।’

कार्यपालिकाको बैठकले प्रत्येक वडालाई १५ बोरा चामल र २ बोरा नुनको व्यवस्था गरेको छ । पूर्ण रूपमा विस्थापितलाई अलग्गै एक बोरा चामल र भाँडा दिइएको छ । रेग्मीले उक्त राहत न्यून भएको बताए । ‘बेंसीसहरबाट यातायात खुल्ने अवस्था तत्काल देखिँदैन । सबै वडामा खाद्यान्न उत्पादन हुँदैन,’ उनले भने, ‘स्वास्थ्यको समस्या आउन सक्छ । राज्यले तत्काल सम्बोधन नगरे स्वास्थ्य र भोकमरीको अवस्था भयावह हुन सक्ने स्थिति छ ।’

प्रकाशित : असार ११, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?