कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जसलाई छानाकै चिन्ता छ

‘एउटा घर मात्र भए आरामले सास फेर्न पाइन्थ्यो’
हरिराम उप्रेती

गोरखा — बर्खे झरी मझेरीमा चुहिएपछि चार दिनअघि मात्र जस्ताको छाना त्रिपालले ढाकिएको छ । गोरखा नगरपालिका–१० छेवेटारकी ७० वर्षीया वृद्धा डिलमाया दाहाल कुमाल यही त्रिपालले ढाकेको छानामुनि अशक्त छोरी, ९ र ११ वर्षका नातिनी च्यापेर रात कटाउँछिन् ।

जसलाई छानाकै चिन्ता छ

डिलमायालाई बर्खे झरिसँगै कोभिड त्रासका बीच बिहान बेलुकीको छाक टार्ने पिरलो छ । घरको दयनीय अवस्थाले उनी बेलाबेलामा भक्कानिन्छिन् । ‘पकाउने खाने एकै ठाउँमा हो,’ उनले भनिन्, ‘निमेक गरेर गुजारा चलेको छ ।’ मेलापातको अलावा सामाजिक सुरक्षा भत्ताबाट आएको पैसाले चार जनाको जीवन धानिएको उनले बताइन् । उनकी एक्ली छोरी ४० वर्षीया रेखा कुमाल राम्रोसँग हिँडडुल गर्न सक्दिनन् ।

आर्थिक अभावले अस्पताल पुग्न नसक्दा छोरीका हात र खुट्टामा देखिएको समस्यासमेत पहिचान हुन सकेको छैन । मेलापात गरेर चार जना परिवारको छाक टार्ने जिम्मा उनै ७० वर्षीया डिलमायाको काँधमा छ । भन्छिन्, ‘छोरी हिँड्न सक्ने, काम गर्न सक्ने भए त हाइसन्चो हुन्थ्यो ।’ बर्खाको बेला मेलापात पुग्दा पनि डिलमायालाई घरकै यादले सताउँछ । ‘पानी पर्‍यो कि, पानी चुहियो कि, के खाए, मन ध्यान सबै घरमा हुन्छ,’ उनले भनिन् ।

डिलमायाका चार परिवार गोरखा नगरपालिका–१० को टोल विकास संस्थाको भवनमा बस्छन् । आफ्नो घर नहुँदा बसाइ कष्टकर बनेको उनले गुनासो पोखिन् । ‘एउटा घर मात्र भए आरामले सास फेर्न पाइन्थ्यो, बस्ने छाना बलियो भए आनन्द हुँदो रहेछ,’ उनले भनिन्, ‘अहिले त शौचालय पनि छिमेकीको घरमा जानुपरेको छ ।’ अहिले बस्दै आएको ठाउँमा सकस रहेको उनले बताइन् ।

मेलापात र सामाजिक सुरक्षा भक्ताको पैसाले खान लाउनै नपुग्ने उनको दुखेसो छ । ‘दुई नातिनीलाई स्कुल हालेको छ, भत्ता र मेलापातको पैसाले खान र कापी किताब किन्न बल्लतल्ल पुगेको छ, नातिनीलाई पनि आँखा देखाइदिन पाए भविष्य राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘मेलापात जाँदा कसैले पैसा, धान हुनेले धान दिन्छन् ।’ उनको दयनीय अवस्था देखेका छेवेटारका मनीष पन्त र विजय श्रेष्ठको अगुवाइमा ‘डिलमाया दाहाल कुमालको घर बनाऔं अभियान’ सुरु भएको छ ।

अभियानअन्तर्गत हालसम्म ४० हजार रुपैयाँ सहयोग संकलन भएको पन्तले बताए । ‘यो निषेधाज्ञाका बेला उहाँहरूलाई खानकै समस्या देख्यौं, फेरि बसेको ठाउँमा पानी चुहिने दयनीय अवस्था देखेपछि अभियान नै सञ्चालन गरेका हौं,’ उनले भने । अभियानअन्तर्गत डिलमायाको घर बनाउने र छोरी रेखाको नागरिकता बनाइदिने योजना रहेको पन्तले सुनाए ।

डिलमायाका परिवार तीन वर्षअघि भारतबाट थातथलो खोज्दै छेवेटार आइपुगेका हुन् । ४२ वर्षपछि थातथलो फर्किएका डिलमायाका श्रीमान् वीरबहादुरको तीन वर्षअघि नै मृत्यु भइसकेको छ ।

प्रकाशित : असार ११, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?