बलात्कारको आरोपमा भारतीय युवा पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले भारतीय युवालाई पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाएर करणी गरेका भारतको बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला फतुछापर ब्रिति टोलको ७ नम्बर वडा स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजितकुमार शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । हमालका अनुसार शर्मालाई बिहीबार जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

अदालतले उनलाई १० दिनको म्याद थप गरेको छ । शर्माले जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाई उक्त भिडियो र फोटो ती बालिकाकै नामको नक्कली फेसबुक आईडी बनाई अश्लील फोटोसमेत राखिदिएको पीडितले प्रहरीमा बयान दिएकी छन् ।

यसैबीच लागूऔषधसहित कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगर–१० बुद्धचोकस्थित लागूऔषधको कारोबार भएको सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गापाका लेखबहादुर गुरुङ, स्याङ्जाको बिरुवा गापाका दिपेन्द्र विक र स्याङ्जाको पुतलीबजार नपाका सुजन गुरुङ रहेका छन् ।

तीनै जनालाई बुद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

प्रकाशित : असार १०, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?